+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले पुँजीगत खर्च गर्नै सकेन

सरकारले पुँजीगत खर्च गर्नै सकेन
त्रिशूली प्रवाह
११ महिना अगाडी

विकासका पूर्वाधार निर्माणमा उच्च प्राथमिकता दिएको बताउने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली नेतृत्वको सरकारले पुँजीगत खर्च लक्ष्यअनुसार गर्नै सकेन । संसद्को ठुलो दल नेपाली काङ्ग्रेसको समर्थनमा झन्डै दुई तिहाइको सरकारले गरेको पुँजीगत खर्च चालू आवको आठ महिनामा निराशाजनक छ ।

चालू आवको दुईतिहाइ समय सकिए पनि सरकारले पुँजीगत बजेट खर्च एकतिहाइ पनि गर्न सकेको छैन । गत हप्ता सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार फागुनसम्ममा पुँजीगत बजेट खर्च २३.४३ प्रतिशत मात्र छ । सरकारले लक्ष्य पूरा गर्ने हो भने चालू आवका बाँकी चार महिना ७७ प्रतिशत बजेट खर्च गर्नुपर्छ, जुन असम्भव छ । चालू आवको बजेटमा पुँजीगत शीर्षकमा रु. तीन खर्ब ५२ अर्ब विनियोजन गरिएको थियो । फागुनसम्ममा यसको खर्च रु. ८२ अर्ब ५६ करोड पुगेको छ । बजेटमा राखिएको सबै खर्च गर्ने हो भने चार महिनामा रु. दुई खर्ब ६९ अर्ब गर्नुपर्छ, जुन सम्भव देखिँदैन । पुँजीगत बजेट खर्चमा सङ्घीय सरकार मात्र होइन, सात प्रदेश र पालिकाको अवस्था पनि उस्तै छ । महानगर, उपमहानगर र नगरपालिकाले खर्चको ग्राफ बढाउन सकेका छैनन् । यस्तै, अधिकांश गाउँपालिकामा पनि पूर्वाधारका काम धेरै हुन सकेको छैन । समग्रमा चालू आवमा तीनै तहका सरकार पुँजीगत खर्चमा असफल बनेका छन् । वार्षिक लक्ष्यअनुसार खर्च गर्ने एकाध पालिका नभएका होइनन् । तर, समग्रतामा अवस्था फेरिएको छैन । सरकारले पुँजीगत खर्च गर्न नसकेको चालू आवमा मात्र भने होइन । विगतका धेरै वर्षको अवस्था यस्तै थियो । पछिल्लो चार वर्षको सरकारी खर्चलाई हेर्दा लक्ष्यको ६५ प्रतिशत कहिल्यै पुगेको देखिँदैन । विगतका वर्षमा खर्च न्यूनतम ५७.२३ प्रतिशतदेखि अधिकतम ६४.६९ प्रतिशतसम्म मात्र पुगेको देखिन्छ ।

पुँजीगत बजेट मात्र होइन, सरकारले राजस्व असुली पनि लक्ष्यअनुसार गर्न सकेको छैन । यस वर्ष रु. १४ खर्ब १९ अर्ब राजस्व असुली गर्ने लक्ष्य राखिएको थियो । फागुनसम्ममा लक्ष्यको रु. सात खर्ब २० अर्ब सङ्कलन भएको छ । यो लक्ष्यको ५०.७९ प्रतिशत मात्र हो । चालू आवका बाँकी चार महिनामा सरकारले रु. ६ खर्ब ९९ अर्ब राजस्व उठाउन सके मात्र लक्ष्य फेला पार्नेछ । अहिलेसम्म प्रतिमहिना औसतमा रु. ९० अर्ब राजस्व उठिरहेको छ । वार्षिक लक्ष्य पूरा गर्न बाँकी दिनमा औसतमा रु. एक खर्ब ७४ अर्बका दरले असुली हुनुपर्छ, जुन सम्भव देखिँदैन । प्रत्येक वर्ष बजेट सार्वजनिक गर्दा लक्ष्य धेरै राख्ने, तर काम गर्न नसक्ने सरकारको पुरानै प्रवृत्ति हो । यस्तो प्रवृत्ति यस वर्ष पनि दोहोरिने अवस्था छ । प्रत्येक वर्षका लक्ष्य फेला पार्न नसके पनि सरकारी अधिकारी भने असफलतालाई स्वीकार गर्दैनन्, बरु प्रत्येक वर्ष बहाना बनाउँछन् । बजेटमा राखिएका लक्ष्य प्राप्तिमा समस्या आए त्यसको समाधान गर्ने जिम्मेवारी पनि सरकारी अधिकारीकै हो । तर, कर्मचारी आफैँले काम नगर्ने, त्यसको दोष भने पद्धतिलाई दिने गर्दै आएका छन् । यस वर्ष पनि बजेटको वार्षिक लक्ष्यअनुसार काम हुन नसकेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्धवार्षिक समीक्षामार्फत यसको आकार करिब १० प्रतिशतले घटाएका छन् । स्रोत र विनियोजन दुवैको आकार घटाइएको छ । तर, अहिलेसम्मको सरकारको उपलब्धि हेर्दा घटाएर राखिएका लक्ष्य पनि फेला पर्ने देखिँदैन ।

मुलुकका दुई प्रमुख दल मिलेर सरकार बनेपछि यसले केही गर्छ भन्ने आशा सबैमा जागृत भएको थियो । संसद्को सबैभन्दा ठुलो दल काङ्ग्रेस र दोस्रो ठुलो एमालेसहित अन्य केही दल मिलेर सरकार बनाएपछि आर्थिक विकासले गति लिने अपेक्षा सबैमा थियो । सरकार गठन गर्ने सहमति हुँदा दलबिच संविधान संशोधन, सुशासन र आर्थिक विकास मुख्य उद्देश्य हो भनिएको थियो । तर, भनिएअनुसार काम नभएपछि छोटो समयमा नै सरकार असफल भएको छ । आमनागरिकमा अहिले निराशा मात्र छाएको छ । अहिलेको वातावरणलाई सकारात्मक बनाउने हो भने सरकारले पूर्वाधार विकासमा केही गरेको देखाउन सक्नुपर्छ । यसले लक्ष्य गरिएको सबै पुँजीगत बजेट खर्च गर्न सक्नुपर्छ । सरकारी सबै संयन्त्र साँच्चिकै लाग्ने हो भने चार महिनामा रु. दुई खर्ब ६९ अर्ब खर्च गर्न नसकिने पक्कै होइन ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह