Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अल्ट्रा रेसका विजेता होमलाल र सुनसरी

त्रिशूली अल्ट्रा रेसका विजेता होमलाल र सुनसरी
त्रिशूली प्रवाह
१ साल अगाडी

देविघाट । नेपाल एडभेन्चर रनिङ महासंघद्वारा आयोजित त्रिशूली अल्ट्रा रेस च्याम्पियन नेपाली सेनाका धावक होमलाल श्रेष्ठ र सुनसरी रोकायाले सफलता पाइन् । शनिबार बेलकोटगढी-१० बेलकोटस्थित निरञ्जना भगवती मन्दिरबाट सुरू भएको दौड नुवाकोट र रसुवाका विभिन्न स्थान हुँदै विदुर-५ देवीघाटस्थित जालपादेवी मन्दिरमा पुगेर सम्पन्न भएको थियो ।

महिला र पुरूष दुवै विधामा भएको दौड प्रतियोगिता नुवाकोटका पुरानो सिढीँ बाटो, मालाकोट, सेरा, मुरलीटार, नुवाकोट दरबार, द्धारेगौडा, फलाटे, डाडाँगाउँ, गेर्खु, शान्ति कल्याण स्कुल चापटार, केराघारी, बेत्रावती, सोलेपुल, तुप्चे, त्रिशूली अस्पताल, पञ्चकन्या मन्दिर, चारघरे, रणभुमेश्वरी स्कुल, देविघाट पूल हुँदै देविघाट मन्दिरसम्म रहेको थियो । अन्तिम सात किलोमिटरमा गति सुधार गर्दै विभागीय टोली नेपाली सेनाका धावक होमलाल श्रेष्ठ त्रिशूली अल्ट्रा रेस च्याम्पियन भएका हुन् । नेपाल एडभेन्चरद्वारा आयोजित ५५ किलोमिटर अल्ट्रा रेसमा पुरूषतर्फ होमलाल च्याम्पियन भएका हुन् । महिलातर्फ सुनसरी रोकायाले सफलता पाइन्। ४८ किलोमिटरसम्म आर्मीका गोपाल तामाङ र अर्जुन कुलुङ राई अगाडि थिए । तर, अन्तिम सात किलोमिटरमा भने होमलालले आफ्नो गतिमा सुधार गरे । ‘रूटमा केही समय अलमलमा पर्दा पछि परेँ । त्यतिबेला उहाँहरू (गोपाल र अर्जुन) धेरै अगाडि हुनुहुन्थ्यों । तर, रूटको केही भाग रोड पनि परेका थिए । म्याराथनमा मेरो अनुभव भएकाले रोड आएपछि मैले त्यसको फाइदा लिएँ । यहाँबाट नै अग्रता लिएको हुँ,’ जितपछि होमलालले भनेका थिए । अन्ततः होमलाल निर्धारित दूरी चार घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गर्न सफल रहे ।

आर्मीकै गोपाल तामाङ चार घण्टा ३५ मिनेट ५७ सेकेन्ड समयमा दोस्रो भए । उपाधि दाबेदारका रूपमा हेरिएका सोलुखुम्बुका अर्जुन तेस्रो स्थानमा रहे । उनले चार घण्टा ४१ मिनेट ४० सेकेन्ड समयमा उक्त यात्रा पूरा गरे । शीर्ष तीन स्थानका होमलाल, गोपाल र अर्जुनले क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगद पुरस्कारसँगै ट्रफी पाए । आर्मीका तिलकबहादुर सुनुवार चौथाें, रूकुमका शक्तिराम रोक्का पाँचौं, त्रिशूलीका राजेश उपरकोटी छैटौं, एपिएफका राजेन्द्र तामाङ सातौं, आर्मीका जुनेश खड्का आठौं, नबिल बैंकका शेर थारू नवौं र रूकुमका दुर्गाराज बुढा दशौं भए । यो अल्ट्रा रेस प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा भएको हो । यसै रेसको महिलामा सुनसरीले निर्धारित दूरी गर्न पाँच घण्टा ५१ मिनेट समय खर्चिन् । खोटाङकी निर्मला राई र प्रहरीकी लाक्पानिमा शेर्पा क्रमशः दोस्रो र तेस्रो भए । निर्मलाले छ घण्टा १३ मिनेट २४ सेकेन्ड समय लगाइन् । नेपाल प्रहरीकी लाक्पानिमा शेर्पाले सात घण्टा १४ मिनेट २० सेकेन्डमा दौड सकाइन् । महिलामा पनि शीर्ष तीन स्थानका यी खेलाडीले क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगद पुरस्कारसँगै ट्रफी पाए । पुरूष र महिला दुवैमा चौथोंले २० हजार, पाँचौंले १० हजार र छैटौंदेखि दसौं स्थानमा आउनेले जनही तीन हजार रूपैयाँ प्राप्त गरे ।

विजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वकार्यकारी समितिका सदस्य एवं आयोजक नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर, राखेपका सदस्य जनकसिंह धामीलगायतले पुरस्कृत गरे । यसअघि प्रतियोगिताको मुख्यमन्त्री लामाले नै उद्घाटन गरेका थिए । सो अवसरमा मुख्यमन्त्री लामाले अल्ट्रा रेसले कुनै पनि क्षेत्रको पर्यटकीय स्थलको प्रर्वद्धन र पहिँचान गर्न मद्दत पुग्ने धारणा व्यक्त गर्दै आगामी दिनमा पनि यस किसिमका प्रतियोगितालाई बागमती प्रदेश सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए । अध्यक्ष कुँवरले अल्ट्रा रेस आयोजनामा प्रत्यक्ष/अप्रत्यक्षरूपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै महासंघले खप्तडमा बृहत् अल्ट्रा रेस आयोजनाका लागि तयारी अगाडि बढाइरहेको बताए । उनले त्रिशूली अल्ट्रा रेसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै अझ बृहत् स्वरूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त रेस नुवाकोटको नौ कोटमध्ये एउटा क्षेत्र बेलकोटगढीबाट सुरू भएको थियो । त्यहाँबाट मलाकोट, शेराकोट, नुवाकोट दरबार, सूर्यगढी, बेत्रावती हुँदै नुवाकोटकै देवीघाट मन्दिरमा आएर टुङ्गिएको थियो । दौडमा तीन विदेशी खेलाडीसहित एक सय २५ धावकले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह