विदुर । नयाँ वर्षको आगमनसँगै नुवाकोटवासी सिन्दुरे जात्राको तयारीमा छन् । सूर्यमती र त्रिशूलीको सङ्गमस्थल जाल्पादेवीस्थान, देवीघाटमा लाग्ने वैशाखपूर्णिमाको मेलापछि सिन्दुरे जात्राको रौनक सुरु हुन्छ ।
प्रत्येक वर्ष वैशाखकृष्ण प्रतिपदाका दिन धरमपानीबाट निकालिएको रथारोहण गराई दरबारपरिसरको तलेजु (तुलजा भवानी) मन्दिरसम्म सिन्दुरे यात्रा धुमधामसाथ मनाइन्छ । नुवाकोटका धामी, द्वारे तथा बुढापाकाका अनुसार यो जात्रा राजा शिवसिद्धिका पालादेखि चल्दै आएको हो । वंशावलीमा भने यी राजाको नामको कुनै अभिलेख भेटिएको छैन भन्ने पनि छ । जात्रामा तान्त्रिकको प्रभाव लिच्छविकाल या मध्यकालअघिदेखि नै चलेको भन्ने अनुमान पनि गरिन्छ । नुवाकोट साततले दरबारपरिसरको नारायणस्थानस्थित पानसमा नेपाल संवत् ५६१ को अभिलेखअनुसार यो जात्रा निकै अघिदेखि चल्दै आएको स्वतसिद्ध छ ।
जीवित देवताको आकर्षण
देवीजात्रा हरेक वर्ष चैत्रशुक्ल अष्टमीदेखि सुरु हुन्छ । पहिले परम्परागत रूपमा धामी (भैरवी मन्दिरका पुजारी)ले डमरू बजाएर घरघरमा अक्षता उठाउने कार्य गरी जात्रा आरम्भ गरिए पनि अहिले प्रचलनमा नरहेको द्वारे महेन्द्रकुमार शाही बताउँछन् । पहिले स्थानीयवासीबाट उठाइएको अक्षताबाट जाँड बनाएर जात्रामा उपयोग गरिन्थ्यो । सिन्दुरे जात्राको मुख्य आकर्षण भैरव र अष्टमातृकाका मूर्ति सजाइएको रथयात्रा, जीवित भगवान्का रूपमा पुजिने धामी–धमिनी र लिङ्गो गाड्ने व्यवस्था नै हो । हेर्दा सामान्य काठको लिङ्गो देखिए पनि यसलाई देवत्वकरण गर्न विधिवत् पूजा अर्थात् प्राणप्रतिष्ठा गर्ने विधि अपनाइन्छ ।
महिना दिनको जात्रा
देवी भैरवीको सिन्दुरे जात्रा नुवाकोटवासीको ठुलो पर्व हो । देवीजात्रालाई प्रत्येक वर्ष परम्परागत रूपमा सञ्चालन गर्नका लागि धामी–धमिनीका साथै द्वारे (सरकारका प्रतिनिधि), कुमार, गणेश तथा गुठियारको व्यवस्था हुँदै आएको छ । देवीजात्रा कहिलेदेखि चल्दै आएको हो भन्ने यकिन गर्न सकिएको छैन । यो जात्रा फागुपूर्णिमादेखि सुरु भएर महिना दिनसम्म चलिरहन्छ । फागुपूर्णिमाका दिनदेखि जात्राको तयारी गरिन्छ र सो दिनदेखि पुजारीले जहाँ पायो त्यहाँ खाँदैनन् । यो जात्रा चलिरहँदा नारायण जात्रा (यस वर्ष चैत १६ गते) पनि धुमधामका साथ मनाइयो । यो जात्रा घोडेजात्राको दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन चल्छ । यसलाई मिनी सिन्दुरे जात्रा पनि भनिन्छ । अघिल्लो दिन नारायण देवता बेँसी गई भोलिपल्ट फर्कन्छन् ।
चैत्रशुक्ल चतुर्दशी (यस वर्ष चैत २९ गते) का दिन बेलुका कुमारीका हातबाट तीनपटक चाँदीको करुवाबाट धामीको स्नानसँगै जात्राको मुख्य विधि सुरु हुन्छ । यो स्नान विधि रोचक देखिन्छ । सगुन लिएर बन्दुक पड्केको विशेष साइतमा धामी आफ्नो निवासअगाडि मण्डपमा उभिन्छन् । घरको ढोकामा चिराग बालिएको हुन्छ भने दुई निशान पनि ठड्याइएको हुन्छ । बज्राचार्यको निर्देशअनुसार धामीले स्नान गरेपछि नाउका परिवारले धामीलाई पूजा गर्ने चलन रहिआएको छ । सो विधिपश्चात् उनलाई पोसाक पहिराइन्छ । सुनौला मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरू पात्र, भोटो, जामा आदि वेशभूषामा धामी निकै भव्य र आकर्षक देखिन्छन् । त्यसपछि उनी आफ्नो निवासमा सगुन लिएर बाहिर निस्की दौडेर सहरटोलस्थित द्वारेका घरमा पुग्छन् । धामी दौडेको दृश्य रमाइलो र केही डरलाग्दो देखिन्छ । तान्त्रिक विधिद्वारा बज्राचार्यले क्षेत्रपाल (द्वारपाल) मा मन्त्रोचारण गर्ने र तदनुसार गुठियारद्वारा धामीलाई पूजा गर्ने गरिन्छ, अनि बज्राचार्यद्वारा धामी–धमिनीमा भैरव–भैरवी चढाउने विधि गरिन्छ । यसप्रकार धामी–धमिनी देवीको रूप धारण भइसकेपछि काँप्न थाल्छन् । भैरवलाई चढाइएको महाबलिको जाँड पिउन धामी निकै डरलाग्दोसँग झम्टन्छन् । यसपछि मन्त्रोच्चारणका साथ बज्राचार्यले धामीलाई अजः (गाजल) लगाइदिन्छन् । प्रसादस्वरूप भक्तजनलाई पनि लगाउने गरिन्छ । गाजल ग्रहण गर्दा भूतप्रेतको डर नहुने विश्वास गरिन्छ ।
महाबलि सम्पन्न भइसकेपछि बाजागाजाका साथमा यात्रा बुढीदेवतास्थान (भैरवीको माइती)तिर पुगी लिङ्गो उठाउने कार्य प्रारम्भ हुन्छ । सो जात्राका लागि सालिन्दा एक नयाँ रुख काट्ने चलन छ । लिङ्गो ४२ हातको हुनुपर्छ । बुढीभैरवी (भैरवीकी आमा) र भैरवी मन्दिरको पछाडि एक–एक लिङ्गो गाड्ने गरिन्छ । लिङ्गो गाड्ने ठाउँ स्थायी छ, जुन यसको लम्बाइअनुसार त्यति गहिरो छैन । पहिले लिङ्गो गाड्ने काम स्थानीय व्यक्तिबाट हुन्थ्यो । स्थानीयवासी सक्रिय नभएपछि केही वर्षदेखि नेपाली सेनाद्वारा लिङ्गो गाड्ने गरिएको छ । सामान्य बुद्घि लगाएर लिङ्गो गाड्न नसकिने स्थानीयवासी रामराजा श्रेष्ठले बताए । लिङ्गो गाड्ने वेलामा धामी खाल्डासँगै भैरवीको रूप धारण गरी आसन जमाएर बसिरहनुपर्छ । यो अवधि धामीका लागि कठिन र कष्टकर हुन्छ । यो विधि पूरा नहुन्जेल जस्तोसुकै दैवीप्रकोप आइपरे पनि धामीले आफ्नो आसन छाड्न नहुने धार्मिक मान्यता छ । भैरवीको शक्तिका कारण उनलाई केही नहुने विश्वास गरिन्छ । लिङ्गो उभ्याइएपछि आलम झुन्ड्याइन्छ । त्यसपछि धामीले बाजागाजाका साथमा देशवन्दना यात्रा गर्दै मैदानटोल, नयाँबजार, इन्द्रचोक, सहरटोल हुँदै देवीस्थानटोल, भैरवी मन्दिरको पूर्वपट्टि अर्को लिङ्गो उठाउने विधि सम्पन्न गरेर उत्सव सकिन्छ । यो लिङ्गो वैशाखकृष्ण नवमी (२०८२ वैशाख २०) र दशमी (२०८२ वैशाख २१) का दिन क्रमशः ढालिन्छ । लिङ्गो गाड्ने कार्य सम्पन्नपश्चात् भैरवी माईको मुकुटसहित अष्टमातृकाका मूर्तिहरू रथमा विराजमान गराइन्छ ।
भैरवी दिदी भेट्न देवीघाटतर्फ
चैत्रशुक्ल पूर्णिमा (यस वर्ष चैत ३० गते) का दिन बिहान धामीलाई गणेशका घरमा भोज खुवाइन्छ । त्यसपछि द्वारेद्वारा धमिनीलाई साततले दरबारको बैठककक्षमा वस्त्र प्रदान गरिन्छ । हाल नुवाकोट दरबार भूकम्पले क्षति पुगेर टेकाका भरमा अड्याएर राखिएकाले दरबारबाहिर प्रदान गरिन्छ । धामी, कुमार, गणेश र अन्य खलकीलाई पगरी दिइन्छ । जात्रा सकिएपछि गणेशलाई प्रदान गरिएको फेटा फिर्ता लिइन्छ । धमिनीको कपालमा सिन्दूर राखिन्छ । सरकारका तर्फबाट धामी–धमिनीलाई सगुन प्रदान गरिन्छ । सो विधिपश्चात् धामी–धमिनी आफ्नो निवासतर्फ लाग्छन् । केही बेरपछि विशेष बाजागाजाका साथ धामी–धमिनी र गणलाई तलेजु मन्दिरतर्फ लगिन्छ । तलेजु भवानी मन्दिर गोरखा भूकम्पले तहसनहस बनाएपछि बर्खाको पानीले ढलेको छ । यसले गर्दा बाहिर छहारी बनाएर राखिएको छ । त्यहाँ बज्राचार्यद्वारा आवश्यक पूजाआजा सकिएपछि जात्रा भैरवी मन्दिरदेखि दक्षिण–पश्चिमपट्टि भैरवीकी दिदी जाल्पादेवी रहेको देवीघाटतर्फ प्रस्थान गर्छन् । खटमा भैरव–भैरवी र अष्टमातृकाका मूर्ति राखिएको हुन्छ । त्यस खटलाई नुवाकोट, लच्याङका तामाङहरू (३६ नले) ले बोक्छन् । यो यात्रा धरमपानी, बाराही, बट्टार, माझीटार र ठुलो बगैँचा हुँदै देवीघाटमा पु¥याइन्छ । भैरवीको बिर्तामा बसेका कुमालहरूले बाराही मन्दिरदेखि चिउरीको बोटसम्म बास लाय् (वस्त्र बिछ्याएर) धामी–धमिनी, गणेश र कुमारको भव्य पूजाआजा तथा रथ बोक्ने कार्य गर्छन् । देवीघाटमा बज्राचार्यद्वारा विशेष अनुष्ठान गरी राति धामीलाई राँगा, बोकाको भोग दिइन्छ । अन्त्यमा मत्स्य भोग दिइन्छ । माछा भोग गराउन केही समयअघि जाल थाप्ने गरिन्छ ।
राष्ट्रको भविष्यवाणी
उक्त विधि सकिएपछि देवता चढेका धामीबाट आउँदो सालको राष्ट्रको भविष्यवाणी हुन्छ । सो भविष्यवाणी सुन्ने अवसर गुभाजु, द्वारे, बाह्रभाइ खलक आदिलाई मात्र प्राप्त हुन्छ । धामीका वाणीलाई पहिले राजदरबारमा द्वारे (महेन्द्रकुमार शाही) मार्फत पु¥याइन्थ्यो भने हाल राष्ट्रप्रमुख राष्ट्रपतिसमक्ष पुयाउने गरिन्छ । बुढापाकाका भनाइअनुसार श्री ५ राजेन्द्रविक्रम शाह आफैँले देवीघाट पुगेर धामीले गरेको भविष्यवाणी सुनेका थिए ।
वैशाखपूर्णिमा मेलाका अवसरमा देवीघाटमा साना बालिकाको इही (बेलविवाह) गर्ने प्रचलन रहेकामा हाल हराउँदै गएको पाइन्छ । सोका लागि कुनै साइत जुराउनु नपर्ने जनविश्वास छ । देवीघाटको मेला सकिएपछि भोलिपल्ट बिहानै झिसमिसेमा धामी–धमिनीलगायत अन्य गण बाजागाजाका साथ रमाइलो यात्रा गर्दै नुवाकोट डाँडातर्फ लाग्छन् । माझीटार, बट्टार हँुदै नुवाकोटको धरमपानीमा पुगेपछि धामी–धमिनीको सरकारी पूजा गरिन्छ र भोज खुवाइन्छ ।
धमिनीलाई सिन्दूरपछि जात्रा
भोलिपल्ट (अर्काे वर्ष वैशाख १ गते) धरमपानीमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरूका उपस्थितिमा सम्मानार्थ नेपाली सेनाबाट दुई सलामी (निशान झन्डा र भैरवी सलामी) बढाइँ दिइन्छ । त्यस्तै ‘दुर्गरत्न’ साततले दरबारअगाडि र तलेजु भवानीमा पनि सलामी बढाइँ गरिन्छ । जात्रा अवधिभर नेपाल प्रहरीको पनि विशेष सहयोग रहने विदुर–२ का वडाध्यक्ष दीपक कायस्थले बताए । बढाइँ सकिएपछि रथ उठाएर धामी–धमिनीको यात्रा सैनिकको संलग्नतामा बन्दुकका आवाजमा बाजागाजासहित धुमधामसँग धरमपानीबाट तलेजु भवानीको मन्दिरतर्फ लाग्छ । देवी भैरवी मन्दिरको दक्षिणतर्फ रहेको महिषासुर (दुर्गा) मन्दिरको अगाडि बज्राचार्यले विशेष पूजाआजा गरेपछि विजय उत्सवका रूपमा धमिनीलाई सिन्दूर हालिन्छ । यसले नै सिन्दूरे जात्राको रूप लिन्छ । किंवदन्तीअनुसार जालपा देवी आएका अवसरमा सिन्दुरे जात्रा गरी हर्षबढाइँ गरिएको हो । विशेष बाजामा नाच्दै रमाउँदै चिराग लिएर नाइके तथा कटुवालको अनुमतिमा रथ उचालेपछि यात्रा तुलजा भवानीतर्फ लम्कन्छ । तलेजुकोे कार्यक्रम सकिएपछि त्यो समूह पुनः भैरवी स्थानतर्फ फर्कन्छ । रथलाई भैरवी मन्दिरको पछाडि डबलीमा राखेपछि धामी–धमिनी आफ्नो निवासमा भित्रिन्छन् ।
भोलिपल्ट (अर्काे वर्ष वैशाख २ गते) बिहान झिसमिसे हुँदा भैरवी मन्दिरको पछाडि राखिएको अष्टमातृकाको खटअगाडि डबलीमा धामीलाई सरकारी वकिलका तर्फबाट दुई राँगाको विशेष भोग ख्वाइने गरिन्छ । यस अवसरमा बढाइँ गरिन्छ । देवताको रूप धारण गरेका धामीले राँगाबोकाको रगत पिउँछन् । रगत पिउन धामी डरलाग्दो गरी झम्टन्छन् । वैशाख कृष्णाष्टमीका दिन बाहिर खटमा रहेका देवीदेवताका मूर्तिलाई मन्दिरमा पुनस्र्थापना गरिन्छ । बाह्रभाइ खलकद्वारा मन्दिरमा क्षमापूजा समापन भएपछि देवीजात्रा समाप्त हुन्छ ।
यसपछि पनि ससाना जात्रा भइरहन्छन् । देवीजात्रा तान्त्रिक विधिद्वारा मनुष्यमा दैवीशक्ति धारण गर्ने काम सफल भएको खुसियालीमा उत्सवका रूपमा मनाइने परम्परा छ । यस पर्वबारे जानकारी गराउन भए पनि नगरपालिकाले सबै जनसमुदायलाई उपस्थित गराउनुपर्ने पत्रकार शम्भु दाहाल बताउँछन् ।
प्रतिक्रिया