विदुर । नुवाकोट ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिकस्थल हो । यहाँ शैव, वैष्णव, बौद्ध तथा अन्य धार्मिक सम्प्रदाय निकै फस्टाएका भेटिन्छन् । यस दृष्टिले अर्थात् नुवाकोटलाई दोस्रो काठमाडौँ भने पनि हुन्छ ।
काठमाडौँ उपत्यकालाई ‘पाशुपत क्षेत्र’ भनेझैँ नुवाकोट पनि शैव क्षेत्रका रूपमा रहेको स्थानीय बुढापाकाको भनाइ छ । सप्तगण्डकीमध्ये एक ‘त्रिशूली गण्डकी’ रहेकाले पनि यो क्षेत्र शैव सम्प्रदायको इलाका रहन गएको थियो । नुवाकोटमा शैव मात्र होइन, वैष्णव सम्प्रदायको उपस्थिति लिच्छविकालदेखि नै निरन्तर छ । यस क्षेत्रको मूल बस्तीमा प्रसिद्ध नारायण मन्दिर छ । नारायणका सम्मानमा यहाँ हरेक वर्ष जात्रा हुने गरेको छ । यी पर्व धार्मिक तथा सांस्कृतिक उत्सवका साथै सामूहिकताका दृष्टान्त पनि हुन् । यिनमा उत्साहप्रद सहभागिता हुन्छ । यी पर्व फरक–फरक जात, पन्थ र सम्प्रदायका मानिस एउटै उद्देश्यले जम्मा हुने र परम्परा जगेर्ना गर्न एकै स्थानमा जुट्ने अवसरसमेत हुन् । नववर्षको आवागमनसँगै नुवाकोटेले यस वर्ष जाल्पामाई देवीघाट मेला र भैरवी सिन्दुरे जात्रा धुमधामसँग मनाए । यी यस भेगमा बर्सेनि मनाइने पुराना जात्रामध्येका हुन् । सिन्दुरे जात्रालाई प्रत्येक वर्ष परम्परागत रूपमा सञ्चालन गर्नका लागि धामी (भैरवी मन्दिरका पुजारी) धमिनीका साथै द्वारे (सरकारी प्रतिनिधि), कुमार, गणेश तथा गुठियारको व्यवस्था हुँदै आएको छ । हालका धामी हरिमानसिं डङ्गोल बाह्रौँ पुस्ताका धामी हुन् ।
पूर्णिमाको दिन विशेष बाजागाजाका साथ धामीधमिनी र अन्य गणलाई तलेजु भवानी मन्दिरमा बज्राचार्य (गुभाजु)द्वारा आवश्यक पूजाआजा भइसकेपछि खटमा भैरवभैरवी र अष्टमातृकाका मूर्तिसहित भैरवी मन्दिरदेखि दक्षिण–पश्चिमपट्टि सूर्यमती र गण्डकीको सङ्गमस्थल देवीघाटतर्फ टोली प्रस्थान गर्छ । मध्यरात जाल्पामाईस्थान पुगेका धामीले करिब २४ घण्टाको बसाइमा गुभाजुको सहयोगमा विशेष अनुष्ठान गर्छन् । अनि राति जाल्पा मन्दिर परिसरमा विशेष तान्त्रिक विधिबाट चौपाया तथा माछाको भोग दिइन्छ । यसपछि देवता चढेका धामीबाट आउँदो सालको भविष्यवाणी सुनाइने उल्लेखनीय विधि गरिन्छ । यो सुन्ने मौका सम्बद्ध बज्राचार्य, द्वारे र बाह्रभाइ खलक आदिलाई मात्र प्राप्त हुन्छ । भविष्यवाणीमा सो वर्षको शुभाशुभ, अनिष्ट, मौसम, दैवीप्रकोप, व्यवस्था परिवर्तनजस्ता विषय हुन सक्छ । पृथ्वीनारायण शाहले लालमोहरमार्फत ‘पुण्र्याका रात्रिमा देवीघाटमा धामीले भलो मन्दो जो बोल्छ सो हाम्रा हजुरमा जाहेर गर्नू’ भनी निर्देशन दिएका थिए । यस वाणीलाई पहिले राजदरबारमा द्वारे (हाल महेन्द्रकुमार शाही)मार्फत पु¥याइन्थ्यो भने हाल राष्ट्रप्रमुखसमक्ष जाने गरिएको छ । यो नेपालकै अद्वितीय र ऐतिहासिक सांस्कृतिक अभ्यास हो । यस्ता भविष्यवाणीमार्फत राज्य सञ्चालनमा सहयोग पुग्छ भन्ने जनविश्वास र मान्यता रहिआएको छ ।
नेपालमा प्राचीनकालदेखि नै राजा, रजौटा वा शासकले धामी–झाँक्री, तान्त्रिक गुरु, ज्योतिषी आदिसँग परामर्श गरेर राज्य सञ्चालनका ठुला निर्णय लिने गर्थे । देवीघाटमा सम्पूर्ण अनुष्ठान कर्मपश्चात् धामी उल्टो बाटो हिँड्छन् । उनको हिँडाइलाई विशेष धार्मिक मान्यताका कारण कसैले हेर्न नहुने भनिन्छ । धामीमा देवता चढेको हुन्छ । उल्टो बाटो हिँड्दा त्यसबाट उत्पन्न ऊर्जा अत्यन्तै शक्तिशाली र रहस्यमय हुन्छ । त्यस अवस्थामा धामी निस्किएको हेर्नु अपशकुन मानिन्छ । धामी उल्टो बाटो जालपा मन्दिरदेखि द्वारपाल कुवासम्म हिँडेर जान्छन्, त्यहाँ स्नान गर्छन् । स्नानसँगै विशेष अनुष्ठानको समापन गर्ने चलन छ । यसपश्चात् देवीगण नुवाकोट दरबारतर्फ विशेष बाजागाजाका साथ लम्कन्छ ।
प्रतिक्रिया