विदुर । नुवाकोटकी जीवित कुमारी (देवी) लाई काठमाडौंँको जस्तै वस्त्रसहितको पहिरन उपलब्ध गराउने प्रतिबद्धता आएको छ । ललितपुर निवासी नेपालका मूर्तिकार तथा नेवार संस्कृति अभियानकर्मी रवि शाक्यले गत शुक्रबार कुमारीको पूजा तथा दर्शन गरेर सबै वेशभूषा ५० दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको विदुर-२ का वडाध्यक्ष दीपक कायस्थले जानकारी दिनुभयो । शाक्यले यही वैशाख ५ गते कुमारीको वस्त्र तथा पहिरनको नापजाँच गर्नुभएको थियो ।

नुवाकोटका प्रमुख जात्रामध्येको भैरवी मन्दिरमा हुने सिन्दुरे जात्राको प्रयोजनका लागि कुमारीको आवश्यकता पर्छ । भैरवीका पुजारीले कुमारीको हातबाट जल लिएर स्नान गर्नुपर्ने प्रचलन छ । मल्लकालीन संस्कृतिअनुसार काठमाडौँकी कुमारीलाई वसन्तपुरमा भए जस्तै नुवाकोटमा कुमारीघर नभए पनि उनलाई आफ्नै घरमा शिक्षा, स्वास्थ्यसहित खाने, बस्ने व्यवस्था मिलाइएको छ सांस्कृतिक अभियानकर्मी रामलाल श्रेष्ठले बताउनुभयो । कुमारीघर बनाउन स्थानीयवासीबाट जग्गा उपलब्ध गराउने भनिए पनि जग्गा विवादले टुङ्गिन सकेको छैन । जग्गाको टुङ्गो नलागे पनि वागमती प्रदेश सरकारले घर बनाइदिन पछिल्ला बजेट विनियोजन गरेको भन्ने सुनेको तर काम सुरू अहिलेसम्म नभएको उहाँको भनाइ छ । घर मात्र नभई कुमारीको शिक्षा, खानपान, रेखदेखका लागि छुट्टै व्यवस्था गर्न सकिन्छ कि सकिंँदैन भन्नेबारेमा गुठीयार र स्थानीय सरकार आपसी छलफल गरेर अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ । प्रदेश सांसद् शैलेन्द्र बज्राचार्यले कुमारीको घर निर्माणको लागि रू.२५ लाख बजेट व्यवस्था गरे पनि जग्गाको टुङ्गो नलागेकोले उक्त बजेट अन्यत्र खर्च गर्ने गरी रकमान्तर भएको नगरपालिकाले जानकारी दिएको छ । कुमारी संरक्षण संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर कुमारीको लागि घर निर्माण गर्ने तयारी भइरहेको नेवारी सांस्कृतिक अभियान्ता गौतममान सिंहले बताउनुभयो । उक्त संस्थाको अध्यक्षमा विजय डंगोल र उपाध्यक्षमा राजेन्द्र डंगोल रहेका छन् ।

नुवाकोटमा अहिले दिनेश र शर्मिला डङ्गोलकी जेठी छोरी डिनिसा कुमारी छिन् । उनका लागि गुठी संस्थान, तौषीखानाले शैक्षिक भत्ता भनेर मासिक रू.तिन हजार र २०७६ सालदेखि तत्कालीन विदुर नगरका प्रमुख सञ्जु पण्डितले रू.१० हजार मासिक भत्ता दिने व्यवस्था गरिदिएको कुमारीका बाबु दिनेशले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनुभयो । रूक्मिणी मावि समुन्द्रटारका शिक्षक दिनेशले आफ्नी छोरी पाँच महिनाका उमेरदेखि कुमारीको रूपमा रहेको बताउनुभयो । गत वर्षदेखि नगरपालिकाले कुमारीको भत्ता रू.एक हजार बढाइदिएको छ । विगत १२ वर्षदेखि डिनिसा कुमारीका रूपमा रहेकी छन् ।विदुर–२ स्थित भैरवी माविमा कक्षा ७ उत्तीर्ण गरेकी डिनिसाको पढाइसमेत उत्कृष्ट रहेको प्रधानाध्यापक प्रेम श्रेष्ठले बताउनुभयो । विसं २०६९ मङ्सिर ३० गते जन्मेकी डिनिसासँगै कक्षामा १७ छात्रछात्रा अध्ययनरत छन् । सिन्दुरे जात्रामा १५ दिन र बडादसैँमा १३ दिन कुमारीले घर छाडेर कहीँ जान मिल्दैन ।

सो अवधिमा उनको पढाइसमेत छुट्ने गरेको उनकी आमाले बताउनुभयो । कुमारी सुरूदेखि नै कक्षा प्रथम हुँदै आएकी छन् । कुमारीका लागि आवश्यक वस्त्र र गरगहना परिवारले व्यवस्था गर्दै आइरहेकामा अब शाक्यले उपलब्ध गराउने भनेपछि परिवारलाई सहज भएको छ । नुवाकोटमा कुमारी धामी खलक (भैरवीका पुजारी) डङ्गोल परिवारबाट छनोट हुने र रजस्वला भएपछि विधिपूर्वक अर्को छनोट गर्ने परम्परा छ । कुमारीका लागि सरकारले १२ हातको कपडा वर्षको एक पटक दिने गरेको छ ।
प्रतिक्रिया