धुन्चे । रसुवा जिल्ला, नौकुण्ड गाउँपालिका-४ दनुस्वारामा ३७ वर्षअघि रहरले रोपेको कफि केही वर्षदेखि प्रशोधन भएर रसुवाको पहिचान बनेको छ । परीक्षणको रूपमा रोपेको कफि लघु उद्यमी समूह संघको सहयोगमा प्रशोधन भएर रसुवाको कोसेली बनेको छ ।
स्थानीय निमा वाङ्दी तामाङले २०४५ सालमा कफि खेतीको तालिमका लागि तानसेन, पाल्पामा तालिम लिन जाँदा कफिको विरूवा ल्याएर सुरू गरेका थिए । उहाँसँगै गाउँका अरूले पनि कफि खेती सुरू गरेपछि सो क्षेत्र कफिको लागि अहिले पकेट क्षेत्र बनेको हो । तामाङले कफि उत्पादन हुन थालेपछि गोसाइँकुण्ड कफि उद्योग खोलेका छन् । उनलाई लघु उद्यमी समूह संघबाट आर्थिक, प्राविधिक र बजारीकरणमा सहयोग भएपछि कफि प्रशोधन गरेर बिक्री गर्न थालेका छन् । वार्षिक रू.तीन लाख भन्दा बढी कमाई हुने उनले बताएका छन् । आफ्नै गाउँघरमा गरे के हुँदैन भन्ने उदाहरणीय व्यक्ति बनेका उनले आफ्नै आठ रोपनी भिरालो जमिनमा एक हजार कफिका बोट लगाएका छन् । कफिसँगै लिची, आँप, सुन्तला समेत परीक्षणको रूपमा रोपेका ७६ वर्षिय उनको जोस्, जागर र मिहेनत देख्दा युवा, पुस्तालाई केही गर्न सकिने आत्मविश्वास बढाएको स्थानीय युवा सूर्यमान तामाङले बताउनुभयो । मैले धेरै पढेको छैन, अनुभव र भोगाईका कारण सबैले मलाई जेष्ठ अगुवा कृषक भनेर चिन्दा रमाईलो लाग्ने निमा बताउँछन् । उहाँको कामप्रति वडालगायत सिङ्गो गाउँपालिका प्रभावित भएको नौकुण्ड गाउँपालिका–४ का अध्यक्ष ज्ञानी वाईवाले बताउनुभयो । पालिकाले कृषि क्षेत्रमा काम गर्नेलाई हौसला र प्रोत्साहन गर्ने नीति बनाएको नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रबहादुर गलानले बताउनुभयो ।
प्रतिक्रिया