(पुख्यौली घर सामरी, नुवाकोट भएका हरिप्रसाद रिमाल पूर्वप्रशासक हुनुहुनुन्छ । उहाँले लामो समय तत्कालीन स्थानीय विकास मन्त्रालयमा रहेर काम गर्नुभएको थियो । सो मन्त्रालयमा रहँदा उहाँ मन्त्रालयका सहसचिवका साथै विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी, काठमाडौँ महानगरपालिका र भक्तपुर नगरपालिकामा प्रशासकीय अधिकारी पनि हुनुभयो । लोकसेवा आयोग र जिल्ला शिक्षा कार्यालयमा पनि काम गर्नुभएका रिमालले मुद्रण विभागका महानिर्देशकबाट अवकाश लिनुभएको हो । संस्कृत र नेपाली भाषामा स्नातकोत्तर गर्नुभएका उहाँ साहित्य सिर्जनामा पनि क्रियाशील हुनुहुन्छ । उहाँका ‘देश यसरी बाँचिरहेछ’ शीर्षक कवितासङ्ग्रहका साथै ‘देवाधिवेद पशुपतिनाथ र पाशुपत क्षेत्र’ शीर्षकमा अनुसन्धानमूलक कृति प्रकाशन भइसकेको छ । आध्यात्मिक चिन्तक रिमालका लेखरचना विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा प्रकाशन भएका छन् । उहाँ समय समयमा देशविदेशको भ्रमण पनि गर्नुहुन्छ र पाठकलाई त्यसको अनुभव र अनुभूति सामाजिक सञ्जालमार्फत पस्कनुहुन्छ । सधैँ क्रियाशील रिमाल पछिल्लो समय वृद्धावस्थाको व्यवस्थापनबारेको कृतिको तयारीमा हुनुहुन्छ । – सम्पादक
हाम्रा पूर्वज ऋषिमुनिले विभिन्न कालखण्डमा धेरै वर्ष लगाएर परमेश्वर, ब्रह्म, माया, जीवन–जगत्, सांसारिक भोग, नित्य र अनित्य वस्तु, जन्म, मृत्यु, स्वर्ग, नरक, मोक्ष आदि विषयमा अति कष्ट र परिश्रमसाथ प्रशस्त अध्ययन–अनुसन्धान गरी प्राप्त ती सामग्रीलाई लिपिबद्धसमेत गरी राखिदिनुभएको छ । तिनको गहिरो ढङ्गसँग अध्यन–मनन गरियो भने हामी धेरै कुरा जान्न सक्छौँ, सही बाटो अवलम्बन गरी जीवन सार्थक र सफल बनाउन सक्छौँ । त्यसमध्ये मोक्ष अर्थात् मुक्तिका बारेमा यहाँ चर्चा गरिएको छ । मोक्ष वास्तवमा अति नै दुर्लभ र कठिनतापूर्वक अध्ययन–मनन गरेर मात्र प्राप्त गर्न सकिने धेरै समयको साधनाले मात्र मिल्न सक्ने अति दुर्लभ चिज हो । मोक्ष मुक्ति हो र त्यस्तो मुक्ति जसलाई प्राप्त गरेपछि फेरि यस दुनियाँमा अतिकष्टपूर्वक आइरहने–गइरहने गरिरहनुपर्दैन, जन्म र मृत्युको चक्कर वा चक्रमा परिरहनु पर्दैन । ‘पुनरपि जननं पुनरपि मरणम्’ को दारूण भवसागरको कष्टबाट सधैँ सधैँका निम्ति छुट्कारा पाएर नदीहरू महासागरमा मिसिए झैँ आत्मापरमात्मामा मिलेर परमानन्द प्राप्त गर्नु नै मोक्ष वा मुक्ति हो ।
हाम्रा पूर्वज मनीषीहरूले विभिन्न युग र समयमा मोक्ष प्राप्त गर्ने विभिन्न मार्ग पत्ता लगाएर राखिदिनुभएको छ । यहाँ अलिकति श्रीमद्भगवद् गीतामा उल्लिखित मुक्ति–मार्गको केही चर्चा गरौँ । गीतामा मुख्यरूपमा तिन मार्गको उल्लेख गरिएको छः ज्ञानमार्ग, भक्तिमार्ग र कर्मयोग । ज्ञानमार्गानुसार जीव, आत्मा र परमात्मा वा परब्रह्मको बोध गरी जीव र आत्मा वा आत्मा र परमात्माको सम्यक् ज्ञानद्वारा वेदको महावाक्य ‘तत्त्वमसि’ को बोध अर्थात् ‘त्यो परब्रह्म तिमी नै हौ वा म नै हुँ, आत्मा र परमात्मामा कत्ति पनि भेद छैन’ भन्ने ज्ञान प्राप्त गरेर मुक्ति प्राप्त गरिन्छ । नित्य–नैमित्तिक कर्मका साथ फलको इच्छा नराखी कर्मप्रतिको आशक्ति पूरै हटाएर परमेश्वरको प्रसन्नताकै लागि सम्पूर्ण कर्म गरिरहेछु भन्ने समर्पित भावका साथ दिनचर्या बिताएर प्राप्त गर्न सकिने मुक्तिको बाटो कर्मयोग मार्ग हो । यसरी नै परमेश्वर लीलानायक श्रीकृष्ण, मार्यादा पुरूषोत्तम श्रीराम वा आशुतोष शिवको पूजाराधना, भजनकीर्तनबाट जीवनलाई धन्य बनाई मोक्ष प्राप्त गर्नु भक्तिमार्ग हो । चित्तवृत्तिलाई योग, ध्यान र प्राणायाममा लगाएर नित्य साधना गरी कैवल्य (मुक्ति) प्राप्त गर्ने मार्ग योगमार्ग हो । योगमार्गका प्रणेता महर्षि पतञ्जलि हुनुहुन्छ । उहाँले पातञ्जल योग–दर्शन नामक अतिमहत्त्वपूर्ण ग्रन्थ नै निर्माण गरेर योगमार्ग देखाउनुभएको छ । यस योगमार्गबाट मोक्ष प्राप्त गर्ने कुरा भने अति नै कष्टसाध्य छ ।
यसप्रकार मोक्षका बाटाहरू विभिन्न छन् र विभिन्न सम्प्रदाय पनि जन्मिएका, हुर्किएका र फैलिएका छन् । ती बाटामध्ये आपूmलाई सहज लाग्ने मार्ग अवलम्बन गर्ने स्वतन्त्रता हामीलाई छ । अहिले हाम्रो समाजमा विद्यमान मार्ग र सम्प्रदायमध्ये कुनै एकमा लागेर पनि साधना गर्न सकिन्छ । तर सम्प्रदाय र गुरू छान्दा भने पाएसम्म श्रोत्रीय र ब्रह्मनिष्ठ गुरु छान्नु र उहाँको सान्निध्यमा बसेर साधना–उपासना गर्नु उचित हुन्छ । अहिले कतिपय सम्प्रदाय अरूको निन्दा गर्ने र आफ्नो मात्र असल र सही भन्ने खालका पनि छन् । को वा कुन असल र अनुसरण योग्य भन्ने छुट्याउँदा भने निकै ध्यान र विवेक लगाउनुपर्ने हुन्छ । कुनै सम्प्रदायमा नलागी गृहस्थाश्रममै रहेर पितापुर्खाले गर्दै आएको धार्मिक बाटाको अवलम्बन गर्नु पनि गलत होइन । सके सबैको उपकार हुने कार्य गर्ने, त्यो पनि गर्न नसके कसैको पनि हानि हुने काम–कुरा नगरी घरमै बसेर नित्य परमेश्वरको आराधना गर्दा पनि मोक्षको बाटातिर लम्कँदै हामी यात्राको शिखर चुम्न सफल हुन्छौँ । जस्तो कि राजा जनक दरबारमा बसेर पनि मोक्ष प्राप्त गरी सशरीर विदेह बन्न सकेका थिए ।
प्रतिक्रिया