विदुर । नुवाकोट जिल्लाको मुख्य पर्व देवी र सिन्दूरेजात्रा विदुर नगरपालिका–२ को भैरवी मन्दिर र विदुर–७ देवीघाट जालपादेवी क्षेत्रमा शनिबार सम्पन्न भएको छ । यो पर्व सिन्दूरे (वर्षबन्धन) जात्राको सुरुवात गत फागुन १९ गते विधिपूर्वक शुभारम्भ भई चैत २९ गते आइतबार सकिने छ ।
यस वर्षको देवीजात्रा जालपादेवी मन्दिरपरिसर देवीघाटमा बिहीबार र सिन्दूरेजात्रा भैरवी मन्दिरपरिसर नुवाकोट दरबार क्षेत्रमा शनिबार सम्पन्न भएको हो । नेपाल सरकारका प्रतिनिधि नुवाकोट दरबार मौला अमालका महेन्द्रकुमार शाहीले बताएअनुसार यसअघिका वर्षजस्तै यस वर्ष पनि नुवाकोटको त्रिशूली र सूर्यमति नदीको संगमस्थलमा रहेको देवीघाटस्थित जालपादेवी मन्दिरमा सदियौँदेखि चैत्र शुक्ल पूर्णिमाको दिन रातभर पूजा–आराधना र मन्दिरपरिसरमा जिल्लाका सयौँ सहभागी भई भजन–कीर्तन, गीत–सङ्गीत प्रस्तुत गरेका थिए । जिल्लाकै प्रमुख तथा ऐतिहासिक जालपादेवी जात्रामा आगामी वर्ष देशमा हुने घटनाक्रमको शुभ–अशुभ भविष्यवाणी गोप्य रूपमा राष्ट्रपतिलाई पठाइने प्रचलनले यसपटक पनि निरन्तरता पाएको छ । यस वर्ष मन्दिरपरिसरमा नेपाल सरकारका प्रतिनिधि नुवाकोट दरबार मौला अमालका शाही र अन्य प्रतिनिधिको उपस्थितिमा मध्यरातमा धामीले गोप्य रूपमा गरेको देशको भविष्यवाणीलाई गोप्य रूपमा राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको छ । साक्षत देवीको रूपमा मानिँदै आएको भैरवी मन्दिरका पुजारी धामीले गरिएको भविष्यवाणी गोप्य रूपमा राष्ट्रपतिकहाँ पठाइने प्रचलन रहेको छ । यस वर्ष मेलामा गत वर्षको तुलनामा धेरै तीर्थालु आएको पुजारी शंकर चित्रकारले बताउनुभयो ।
धामीले गरेको भविष्यवाणी नेपाल सरकारका प्रतिनिधि शाही (द्वारेमार्फत) पहिले राजालाई पठाउने गरिएकोमा देशमा गणतन्त्र आएसँगै १९ वर्षदेखि राष्ट्रपतिकहाँ पठाउने गरिएको छ । मन्दिरमा पूजापाठ गर्दै आएका शंकर चित्रकारका अनुसार सो मेलाका लागि सरकारीस्तरबाट पाँचवटा बोका, पाँचवटा राँगा तथा एक–एकवटा हाँस तथा कुखुरा बलि चढाउन दिने प्रचलन छ । मेलामा धामी हरिमानसिंह डङ्गोलले देशमा आगामी वर्ष घट्ने घटनाको घटनाक्रमको भविष्यवाणी गर्ने प्रचलन छ । धामीले जीवनभर कुनै पनि नदी तर्न हुँदैन भन्ने जनविश्वास पनि रहँदै आएको छ ।
सिन्दूरेजात्रालाई प्रत्येक वर्ष परम्परागत रूपमा सञ्चालन गर्नका लागि धामी र भैरवी मन्दिरका पुजारी, धमिनीका साथै द्वारे, कुमार, गणेश तथा गुठियारको व्यवस्था गरिएको विदुर–२ का वडाध्यक्ष दीपक कायस्थले जानकारी दिनुभयो । देवी र सिन्दूरेजात्रा कहिलेदेखि चल्दै आएको हो भन्न यकिन गर्न सकिएको छैन । युवा पुस्ताले पर्वप्रति रुचि र चासो नदिँदा बर्सेनि सञ्चालनमा समस्या रहेको स्थानीय भैरवी माविका शिक्षक रामहरि आचार्यले बताउनुभयो । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा जस्तै नुवाकोट पनि विभिन्न जात्रा नै जात्राको नगर भन्दा फरक नपर्ने स्थानीयवासी एवम् सांस्कृतिक अभियन्ता रामलाल श्रेष्ठले बताउनुभयो । फागुपूर्णिमाका दिनदेखि पुजारीले जहाँ पायो त्यहाँ खाँदैनन् । यो जात्रा चलिरहँदा चैतकृष्ण औँसीका दिन नारायणजात्रा पनि धुमधामका साथ मनाइन्छ । यो जात्रा घोडेजात्राको दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन चल्छ । यसलाई सानो सिन्दूरेजात्रा पनि भनिन्छ । अघिल्लो दिन नारायण देवता बेँसी पुर्याई भोलिपल्ट फर्काइन्छ । नेपालको इतिहासमा उल्लेख भएअनुसार साततले दरबारको दक्षिणतर्फ रहेकी माता भैरवी देशको रक्षक मानिन्छिन् । नेपाल–चीन युद्घ हुँदा श्री ५ रणबहादुर शाहले भैरवीको आराधना गरेको र दैवी शक्तिका कारण युद्धमा विजय प्राप्त गरेको भन्ने विश्वास छ । सिन्दूरेजात्राको मुख्य आकर्षण भैरव र अष्टमातृकाका मूर्ति सजाइएको रथयात्रा, जीवित भगवान्का रूपमा पुजिने धामी–धमिनी र लिङ्गो गाड्ने नै हो । हेर्दा सामान्य काठको लिङ्गो देखिए पनि यसलाई देवत्वकरण गर्न विधिवत् पूजाविधि अपनाइन्छ । यस जात्राका लागि सालिन्दा एक नयाँ लिङ्गो काट्ने चलन छ जुन ४२ हातको हुनुपर्छ । यसलाई नेपाली सेनाले चैत शुक्ल नवमीका दिन तान्ने परम्परा रहिआएको छ ।
चैत शुक्ल चतुर्दशीका दिन बेलुका कुमारीका हातबाट तीनपटक चाँदीको करुवाबाट धामीको स्नानसँगै जात्रा सुरु हुन्छ । सगुन लिएर बन्दुक पड्केको विशेष साइतमा स्नान कार्य गरेपछि धामीलाई पोसाक पहि¥याइन्छ । त्यसपछि धामी आफ्नो निवासबाट सगुन लिएर बाहिर निस्की द्वारेका घरमा पुग्छन् । तान्त्रिक विधिद्वारा बज्राचार्यले क्षेत्रपालमा मन्त्रोच्चारण गर्ने र तदनुसार गुठियारद्वारा धामीलाई पूजा गर्ने तथा बज्राचार्यद्वारा धामी–धमिनीमा भैरव–भैरवी चढाउने विधि गरिन्छ । महाबलि सम्पन्न भइसकेपछि बाजागाजाका साथमा यात्रा बुढीदेवता स्थान (भैरवीको माइती) तिर पुगी लिङ्गो उठाउने कार्य प्रारम्भ हुन्छ । नेपाली सेनाको सहायतामा बुढीभैरवी (भैरवीकी आमा) र भैरवी मन्दिरको पछाडि एक–एक लिङ्गो गाड्ने गरिन्छ । यी लिङ्गोहरू वैशाखकृष्ण नवमी र दशमीका दिन क्रमशः ढालिन्छ । चैत शुक्ल पूर्णिमाका दिन बिहान धामीलाई गणेशका घरमा भोज खुवाइन्छ । त्यसपछि द्वारेद्वारा धमिनीलाई साततले दरबार (हाल तुलजा भवानीसँगै घरमा) को बैठक कक्षमा वस्त्र प्रदान गरिन्छ । त्यहाँ बज्राचार्यद्वारा आवश्यक पूजाआजा सकिएपछि यात्रा भैरवी मन्दिरदेखि दक्षिण–पश्चिमपट्टि सूर्यमती र गण्डकीको सङ्गमस्थल देवीघाट (जाल्पादेवी)तर्फ प्रस्थान गर्छ । देवीघाटमा बज्राचार्यद्वारा विशेष अनुष्ठान गरी राति धामीलाई राँगा, बोका र अन्त्यमा माछाको भोग दिइन्छ । सो भोग सकिएपछि धामी–धमिनीलगायत अन्य गण भोलिपल्ट बिहानै बाजागाजाका साथ रमाइलो यात्रा गर्दै नुवाकोट डाँडातर्फ लाग्छन् ।
विदुर–२ का वडाध्यक्षले वैशाखकृष्ण प्रतिपदाका दिन धरमपानीमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरूको उपस्थितिमा सम्मानार्थ नेपाली सेनाले दुई सलामी (निशान झन्डा र भैरवी सलामी) बढाइँ दिने बताउनुभयो । उहाँका अनुसार जात्रा अवधिभर नेपाल प्रहरीको पनि विशेष सहयोग रहनेछ । बढाइँ सकिएपछि रथ उठाएर धामी–धमिनीको यात्राका साथ सैनिकको संलग्नतामा बन्दुकको आवाजसँगै बाजागाजासहित धुमधामसँग यात्रा गर्दै धरमपानीबाट तलेजु भवानीको मन्दिरतर्फ लागिन्छ । यो यात्रा देवी भैरवी मन्दिर दक्षिणतर्फ रहेको महिषासुर (दुर्गा) मन्दिरको अगाडि बज्राचार्यले विशेष पूजाआजा गरेपछि विजयोत्सवका रूपमा देवीको प्रसादस्वरूप शनिबार सिन्दूर हाली जात्रा मनाइयो । जात्राका लागि विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, विदुरका वडाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत जिल्लास्थित कार्यालयका प्रमुख र स्थानीयवासीको उल्लेखीय उपस्थिति रहेको थियो ।






प्रतिक्रिया