+
Search

ताजा अपडेट +

पपुलर +

गृह मन्त्रालयको मूल्याङ्कनमा नुवाकोट उत्कृष्ट

गृह मन्त्रालयको मूल्याङ्कनमा नुवाकोट उत्कृष्ट
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

काठमाडौँ । गृह मन्त्रालयको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ जिल्ला सबैभन्दा उत्कृष्ट भएको छ । त्यसैगरी कार्यसम्पादन मूल्याङ्कनमा ७७ जिल्लामध्ये नुवाकोट दोस्रो उत्कृष्ट जिल्ला बनेको छ । मुलुकको सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ जिल्ला सबैभन्दा कमजोर देखिएको छ ।

मन्त्रालयले गरेको गत कात्तिक, मङ्सिर र पुसको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा कुल पूर्णाङ्क २०.२५ मा सबैभन्दा धेरै १९.५ अङ्क प्राप्त गरी मनाङ जिल्ला उत्कृष्ट भएको हो । त्यसैगरी काठमाडौँ जिल्लाले सोही अवधिको त्यही पूर्णाङ्कमा सबैभन्दा कम मात्र तीन अङ्क प्राप्त गरी कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको गृह मन्त्रालयले जनाएको छ । त्यसैगरी कार्यसम्पादन मूल्याङ्नमा १९.३७५ अङ्क प्राप्त गरी नुवाकोट दोस्रो, १९.२५ अङ्क प्राप्त गरी डोटी तेस्रो र १९.२५ अङ्क प्राप्त गरी पर्वत चौथो स्थान प्राप्त गर्न सफल भएको हो । नुवाकोटमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाई कार्यरत हुनुहुन्छ । कार्य सम्पादनमा रसुवाले १९ र धादिङले १२ अङ्क प्राप्त गरेका छन् ।

गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले कार्यसम्पादन मूल्याङ्कनका लागि विभिन्न ‘इन्डिकेटर’ निर्धारण गरी त्यसैका आधारमा जिल्ला प्रशासन कार्यालयको त्रैमासिक रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले हरेक जिल्ला प्रशासन कार्यालयलाई तोकिएको काम, कर्तव्य र जिम्मेवारीको कार्यसम्पादन मूल्याङ्कनका आधारमा उनीहरूलाई अङ्क प्रदान गरी उत्कृष्ट जिल्ला छनोट गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गृह मन्त्रालयअन्तर्गतका प्रमुख जिल्ला अधिकारी वा जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादनका लागि शान्तिसुरक्षा, सुव्यवस्था, सेवाप्रवाह, विकास व्यवस्थापन, मुद्दा फस्र्योटलगायत विषयका लागि गृह मन्त्रालयले सूचक निर्धारण गरेको छ । सो अवधिमा ती सूचकको कार्यसम्पादन, त्यसले गरेको प्रतिवेदनका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अङ्क प्राप्त गर्ने हो । त्यही प्राप्ताङ्कका आधारमा ‘गे्रडिङ’ गरेर उत्कृष्ट जिल्ला छनोट गरिएको हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह