समुन्द्रटार । दुप्चेश्वर क्षेत्र विकास कोषले नुवाकोट जिल्लाको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरपरिसर क्षेत्रमा थप आकर्षण बढाउन १०८ धारा निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । बागमतीको दोस्रो पशुपतिनाथको मन्दिरको फेदीमा प्राकृतिक ढुङ्गा कुदेर १०८ धारा बनाउन थालिएको हो । धारा निर्माणमा स्थानीयवासी र भक्तजनले आ-आफ्ना दिवङ्गत पितृको स्मृतिकासाथै आफ्नै नामसमेत राख्न चाहेको प्रस्ताव कोषमा आएकाले गत हप्ताको बैठकले इच्छुक सबैलाई अवसर प्रदान गर्ने निर्णय गरेको छ ।
कोषका अध्यक्ष एवम् दुप्चेश्वर गाउँपालिका प्रमुख शङ्करबहादुर थापाले धारा निर्माण गर्न इच्छुक सबै भक्तजनलाई यही जेठ २० गतेभित्र कोषमा सम्पर्क राख्न र रकम दाखिला गर्न सूचना प्रकाशन गरेर आग्रह गर्नुभयो । धारा राख्न चाहने इच्छुकले एक धाराबराबर रु। १५ हजार सहयोग रकम बुझाएर दर्ता गर्नुपर्ने बताइएको छ । धाराका लागि सहयोग दान गर्नेको नाम दर्ताको क्रमअनुसार शिलालेखमा राखिने कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । मन्दिरभन्दा एक हजार सय मिटरमाथि सूर्यमती नदीको पानी ल्याई इन्टेक र रिजर्भ ट्याङ्की निर्माण गरेर सबै धारामा बाँड्ने गरी डिजाइन भएकोसमेत जनाइएको छ । दुग्धेश्वर मन्दिरका नाममा रहेको त्यस क्षेत्रको जग्गा विगतमा अतिक्रमण भएको थियो । गाउँपालिकाले खोज समिति बनाएर समितिको प्रतिवेदनका आधारमा अतिक्रमितमध्ये लगभग एक सय ५० रोपनी जग्गा प्राप्त भएको छ । कोषले धारासहित अन्य थप संरक्षण बनाउनका लागि स्रोत जुटाउन लागिपरेको छ ।
धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रमा नयाँ संरचना बनाउँदा गुरुयोजना वा विस्तृत परियोजना प्रतिवेदन तयार गर्नुपर्नेमा कोषले त्यस्तो योजना।डिपिआर बनाएको थाहा भएको छैन । अग्लो पहरामुनि आकर्षक रूपमा रहेको रहेको महादेवको शिलामुनि जथाभावी निर्माण गर्नाले सो धामको आकर्षणमा ह्रास हुने हुन्छ । खोला क्षेत्रमा पनि ढुङ्गा, बालुवा झिक्ने, उत्खनन गर्नाले सौन्दर्य विरुप हुँदै गइरहेको छ ।
सो पवित्र क्षेत्रमा जलविद्युत् परियोजनासमेत निर्माण गरिने भन्ने चर्चाले सम्पदाप्रेमीहरू दुखित छन् । तिनले गाउँपालिकासमेतको सहभागितामा व्यवस्थित संरचना निर्माण गर्न सुझाव पनि दिएका छन् । पछिल्लो समय टोखा-छहरे बाटोसँगै कविलास-खरानीटार-रामती-दुप्चेश्वर सडक बनेर स्तरोन्नतिसमेत भएपछि दुप्चेश्वरमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । ती पर्यटक नुवाकोट दरबार क्षेत्र र देवीघाटस्थित जालपामाई मन्दिरसमेत गएर स्थानीय व्यवसायमा प्रवद्र्धन गरिरहेका छन् ।
प्रतिक्रिया