विदुर । एक दशकअगाडि भूकम्पले जीर्ण बनाएको विदुर-२, नुवाकोटको प्रसिद्ध साततले दरबारसहित आसपासका धार्मिक एवम् पुरातात्विक सम्पदाको पुनर्निर्माण सुरु भएको छ । दुर्गरत्न पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ पक्ष कार्यक्षेत्रमा फर्कन ढिलो गरेपछि भूकम्पले क्षति पु¥याएको एक दशकपछि पुनर्निर्माण अघि बढेको हो ।
साततले दरबारसहित यहाँका धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक संरचनाको प्राविधिक आवश्यकताअनुसार जीर्णोद्धार, पुनर्निर्माण, प्रबलीकरण र संरक्षणको काम अघि बढाइएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनील पाण्डेले बताउनुभयो । उहाँका अनुसार दरबारसहितको संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकार र पुरातत्व विभागसँग भएको सम्झौताअनुसार चिनियाँ पक्षबाट पुनर्निर्माणको काम सावधानीपूर्वक भइरहेको छ । ‘दरबार पुनर्निर्माणको काममा लक्ष्यअनुसार प्रगति नभए पनि अहिले भने काम तीव्र गतिमा अघि बढाइएको छ,’ प्रमुख पाण्डेले भन्नुभयोे, ‘गत भदौदेखि कार्यक्षेत्रमा आएका चिनियाँ प्राविधिकसहितको कामदारले सावधानीपूर्वक काम तिव्ररूपमा थालेका छन् ।’ चिनियाँ पक्षले कुनै अवरोध नभई स्थानीयबाट निरन्तर सहयोग भए आगामी डेढ वर्षमा पुनर्निर्माण सकिने जनाएको छ ।
चीनको सरकारी निकाय चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले पुनर्निर्माणको जिम्मा पाएको हो । हेरिटेजले विगतदेखि नै सम्पदा पुनर्निर्माणमा प्रक्रिया सुरु भएको भन्दै कार्यक्षेत्र आउने, जाने गरिरहेको थियो । चालू आवको सुरुदेखि भने चाइनिज एकेडेमीले काम गर्ने गरी तयारीका साथ आएपछि निर्माण कामले गति लिएको विदुर वडा नं. २ का अध्यक्ष दीपक कायस्थले बताउनुभयो । विदुरको पुरानो सदरमुकाम र केही समय नेपालको राजधानी रहेको नुवाकोट टाकुरोमा रहेको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको ती सम्पदाको हाल पुनर्निर्माण कार्य भइरहेको छ । कुनै समस्या तथा बाधा नआए आगामी १८ महिनाभित्र सम्पन्न हुने लक्ष्यअनुसार पुनर्निर्माणको कार्य भइरहेको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताउनुभयो । गत २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त डाँडामा रहेको साततले दरबार, तलेजु भवानी मन्दिरलगायत सम्पदाको पुनर्निर्माण कार्य जारी रहेको छ । यसको समयमै पुनर्निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने अपेक्षा मेयर श्रेष्ठले गर्नुभएको छ ।
सम्पदा पुनर्निर्माणअन्तर्गत तलेजु भवानीको मन्दिर पुनर्निर्माणको क्रममा क्षतिग्रस्त संरचना हटाउने क्रम अन्तिम चरणमा पुगेको छ । साततले दरबारको पनि क्षतिग्रस्त तला तीन सातापछि हटाउन सुरु गरिने चिनियाँ निर्माण पक्षले जानकारी गराएको छ । मेयर श्रेष्ठसँग चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजको तर्फबाट डेपुटी डाइरेक्टर लीसहितको प्रतिनिधिमण्डलको गत हप्ता सम्पन्न बैठकसँगै दुवै संरचनाको पुनर्निर्माण कार्य आगामी २०८३ सालको असोज महिनासम्ममा सम्पन्न गरेर हस्तान्तरण गर्ने सहमति भएको छ । सोहीक्रममा चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजका प्रतिनिधिले ‘सम्पदा पुनर्निर्माणको लागि आवश्यक सहयोग र सहजीकरणका लागि आग्रह गरेका थिए । मेयर श्रेष्ठले स्थानीय सरकारको तर्फबाट सम्पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ । उहाँको प्रतिबद्धतासँगै चिनियाँ पक्षले ती दुई सम्पदाको पुनर्निर्माण समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । स्थलगत अवलोकनसहितको उक्त कार्यक्रममा पुरातत्व विभागका अधिकृत अमृता महर्जन, नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख सुनील पाण्डेलगायत सरोकारवालाको समेत सहभागिता रहेको थियो । प्रसिद्ध साततले दरबार नेपाल एकीकरण भएपछि १८१६ सालमा निर्माण भएको हो ।
गोरखा भूकम्पले क्षति पु¥याएका संरचना पुनर्निर्माणमा सहयोग पु¥याउने कार्यक्रमअन्तर्गत साततले दरबारसहित यहाँका धार्मिक तथा पुरातात्विक महत्वका आठ संरचनाको जीर्णोद्धार, पुनर्निर्माण एवम् प्रबलीकरण गर्ने जिम्मेवारी चीन सरकारले लिएको छ । चिनियाँ पक्षले दरबारको पुनर्निर्माणका लागि चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजलाई पठाएको छ । दुई देशबिच भएको समझदारीअनुसार पुरातत्व विभाग र निर्माणको जिम्मेवारी पाएको एकेडेमीबिच वि.सं. २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र काम सम्पन्न गर्ने उल्लेख गरिएको थियो । नयाँ सम्झौतामार्फत पुनर्निर्माण अघि बढाउन चिनियाँ पक्ष सकारात्मक भएपछि हाल काम सुरु गरिएको हो । यद्यपि, थप अवधि उल्लेख गरिएको छैन । पूर्ववत् समझदारीअनुसार नै काम सुरु गरिएको तीन वर्ष नौ महिनाभित्र पहिलो चरणको काम सम्पन्न गर्ने चिनियाँ पक्षले जनाएको छ । पहिलो चरणअन्तर्गत दरबार र तुलजा भवानीको मन्दिरको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ । चिनियाँ प्राविधिकको अध्ययनअनुसार दरबार र मन्दिर दुवैको जीर्णोद्वारमार्फत पुनर्निर्माण गर्ने तयारी छ । बाँकी अन्य गारदघर, रंगमहल, लामपाटी, शीतलपाटी, विष्णु र नारायण मन्दिरको पुनर्निर्माण, जीर्णोद्धार, प्रबलीकरण र संरक्षणका लागि प्राविधिक अध्ययनको काम भइरहेको छ ।
नेपाल एकीकरणका समयमा पृथ्वीनारायण शाहले वि.सं. १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेका थिए । उनले त्यसैलाई राजधानी बनाई वि.सं. १८१९ मा दरबार निर्माण सम्पन्न गरेका थिए । काठमाडौँ उपत्यका विजय हुनुअघिसम्म पृथ्वीनारायणले नुवाकोट दरबारमार्फत नै आफ्नो कामकाज सञ्चालन गर्दै आएको इतिहासमा उल्लेख छ । दरबारलाई नै उनले राज्यको मुख्य प्रशासनिक केन्द्र बनाई देशको राजधानीका रूपमा नुवाकोट रहेको उल्लेख थियो । सो ऐतिहासिक दरबारसहितको संरचना गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको थियो । दरबारसहितको संरचना पुनर्निर्माणको जिम्मा लिएको चिनियाँ पक्षले वि.सं. २०७६ असारदेखि काम सुरु गर्न कार्यक्षेत्रमा आए पनि उक्त समयमा थप क्षति हुन नदिन खट बनाई (टेको दिएर) फर्किएको थियो । हाल नुवाकोट दरबार र दरबारसँगै रहेको लिच्छविकालीन तलेजुको मन्दिरको प्रबलीकरण अघि बढाइएको छ । चिनियाँ प्राविधिकसहितको कामदार टोली तुलजा भवानीको मन्दिरको पुनर्निर्माणका लागि चर्केका, भत्केका गाह्रो झिक्ने र झिकेका सामान सावधानीपूर्वक सुरक्षित राख्न सक्रिय छन् । पुनर्निर्माणका लागि आवश्यक सहयोग र समन्वय विदुर नगरपालिकाले गरिरहेको छ । नगरपालिकाले पानी, निर्माण सामग्री रााखिने स्थान, स्थानीय निर्माण सामग्री सहज रूपमा उपलब्ध गराउने र बिजुलीलगायत व्यवस्था गर्ने जिम्मेवारी लिएको छ । सोहीअनुसार नगरपालिकाले काम गरिरहेको नगरप्रमुख राजनलाल श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनुभयो ।
प्रतिक्रिया