ॐ श्री परमात्मने नमः ॐ श्री गुरुभ्यो नमः
स्वास्थ्यम् सर्वदा योगेन ।
विद्या ददाति निवयं, विनयाद् याति पात्रताम् ।
पात्रत्वात् धनमाप्नोति, धनात् धर्म ततः सुखम् । ।
अर्थात् विद्याले विनय दिन्छ, विनयले पात्रता (योग्यता) आउँछ । पात्रताले अनध
(नारायण स्मृति) आउँछ, धनले धर्म (धारण/गुणाधारण/स्वरूप) हुन्छ र धर्मले सुख (आनन्द) प्राप्ति हुन्छ ।
श्रद्धावाँल्लभते ज्ञान तत्परः संयतेन्द्रियः ।
ज्ञानं लब्ध्वा परां शान्तिंमचिरेणाधिगच्छति (४ । । ३९ । । गीता)
जसको श्रद्धा अगाध छ र जसले आफ्नो मन र इन्द्रियलाई नियन्त्रण गर्यो, उसले दिव्य ज्ञान प्राप्त गर्दछ । यो दिव्य ज्ञानद्वारा शीघ्र नै परम् शान्ति प्राप्त गर्दछ । मस्तिष्क राम्रो हुन ईश्वरीय प्रेम चाहिन्छ । जसले ईश्वरलाई निःस्वार्थ भावले प्रेम र सेवा गर्न सक्छ, उसकै हृदय ईश्वरको प्रेमले भरिन्छ र उसले त्यही प्रेम सबैको हृदयमा बाँड्न सक्छ । जसरी यो पात्र तयार भयो, त्यसरी नै ज्ञान मिल्दछ । जस्तो साधक उस्तै ज्ञान मिल्छ । पात्र पवित्र भए गुरुले नै खोज्दै आउनुहुन्छ । श्रद्धा, भक्ति समर्पण भाव नभई ज्ञान प्राप्ति गाह्रो छ ।
साधनामा कसरी जोड्ने
दुर्लभो विषयत्यागो दुर्लभ तत्वदर्शनम् । दुर्लभा सहजावस्था सद्गरोः करुणा बिना । ।
अर्थात् जबसम्म सद्गुरुको कृपा प्राप्त हुँदैन, तबसम्म विषयको त्याग, तत्त्वको साक्षात्कार र स्वरूपमा अवस्थान सबै असम्भव हुन्छन् । तसर्थ अति करुणा गरेर हामीलाई यी सबै सम्भव बनाइदिने हृदयवासी भगवान् श्रीकृष्णमा कोटिकोटि बन्दना ।
भगवान्को अनुकम्पाले जानी-नजानी कोही न कोहीको कृपाबाट साधनामा जोडिन पाउँछौँ ।
प्रथम अनुकम्पा – यो दिव्य शरीर प्रदान गर्नुभएको छ, जसले उच्च चेतना बढाउने साधना गर्न सक्षम छ ।
दोस्रो कृपा – आत्मालाई ‘प्रेम डोरी’ प्रदान गर्ने गुरु वा मार्गदर्शक भेटाइदिनुहुन्छ । साधना गर्ने शरीर मात्र भएर पुग्दैन, ठिक मार्गबाट ईश्वर चिनाउने गुरु पाउनु दोस्रो अनुकम्पा हो ।
तेस्रो कृपा – मुमुक्षुत्व जगाइदिनु । पहिलो र दोस्रो अनुकम्पा मात्र भएर पुग्दैन, साधनामा सही भोक जाग्नुपर्छ ।
आफ्नो पूर्वजन्मको पुण्यकर्मले मात्र यस्तो कृपा हुन्छ । विकृत अवस्थाबाट प्राकृत अवस्थामा जान सक्नुपर्छ । विकृत अवस्थाबाट सही अवस्थामा जान सही उपासना हुनुपर्छ । मानिसको चोला आध्यात्मिक उन्नति गर्न निर्माण गरिएको छ । जस्तोसुकै घोर तमोगुणमा रहे पनि समातिरहेको अवगुणहरू छाड्न तयार भए गुरुको कृपा लाग्छ । पूर्वजन्मको पुण्यकर्मले गुरुज्ञान लिने अवसर मिल्दछ ।
अविद्याका कारण मुढ अवस्थामा मानिस कसरी सांसारिक दुःखमा फसेका छन् ।
- सफल बन्न यम नियम भङ्ग भएको, प्रज्ञा अपराध बढेका छन् ।
- बत्तीमा किरा फसेझैँ पुरुषार्थ गर्न जन्मिएका हामी झन्झन् भवसागररूपी रोग, गरिबी, त्रयतापको दलदलमा फसिरहेका छौँ ।
- शारीरिक र मानसिक मलका कारण नसनाडी जाम भई चेतना र पोषण प्रवाहमा बाधा पुगेको छ ।
- नकारात्मक वातावरण, सूचना, नकारात्मक विचार भएमा, विचारशून्य अवस्थामा मस्तिष्कको सिर्जना गर्ने सम्पूर्ण शक्ति नकारात्मक भयो भने त्यस्तो विचारलाई दबाउन ड्रग खाने वा मानसिक रोग हुने, आत्महत्या तथा ड्रग एडिक्टका घटना हुने गर्दछ ।
- शरीरका विभिन्न प्रणालीमध्ये सारा शरीरका प्रणालीलाई नियन्त्रण गर्ने चेतनाको भण्डार मस्तिष्क बिरामी भएमा मानसिक समस्याबाट ग्रस्त हुन्छ ।
साधना कसरी सुरु हुन्छ
अज्ञानरूपी विकारका कारण संसारमा आशक्ति हुँदा दुःख-कष्ट पाइरहेका हुन्छौँ । विकार फाल्न वा क्लेश हटाउन साधना गरिन्छ । क्लेश हटे मानिस आफ्नो स्वरूपमा फर्कन सक्छ । आत्मा मुक्त हुन्छ । राम्रो कुरा धारण गर्न पहिला भित्र भरिएको मनको विकार सफा हुनुपर्छ । तमो गुण वा रजो गुण हाबी भएसम्म सत्य ज्ञान श्रवण गर्ने तागत रहन्न । साधना बढ्दै जाँदा यम नियम, धर्म पुरुषार्थ बलियो भए वा विधिपूर्वक चले अज्ञानको पर्दा (मायाको आवरण) हटेर चेतना जागृत हुन्छ तर गलत आचरण र स्वाद त्याग्न तयार नभए योग नै सुरु हुँदैन । जसरी ब्रेक फेल भएको गाडी नियन्त्रण हुँदैन, त्यसरी नै अनुशासित जीवन अर्थात् यम-नियम पालन नभई साधना पनि अघि बढ्दैन । विकारी मनमा राग द्वेष गर्ने स्वभाव हुन्छ । योग साधनाले नै त्यो विकार फाली धैर्य, क्षमा, करुणाले हृदय भरिन्छ । निष्काम कर्म गर्ने तागत आउँछ । यसका लागि गुरुको सानिध्यमा साधना सुरु गर्नुपर्छ ।
शुभसङ्कल्प : अज्ञानमा कैयौँ बहुमूल्य समय सांसारिक लक्ष्यका लागि बिताइयो । हे ईश्वर ! मेरा सारा सांसारिक नाम, ख्याति शक्तिको इच्छा नष्ट गरिदिनु । सारा सांसारिक इच्छा तिम्रै चरणमा समर्पण गरी केवल तिमीलाई पाउन चाहन्छु ।
- हृदयलाई रित्तो पार्ने, ढाड गर्दन सिधा गर्दै स्थिर आसनमा रही प्रार्थना गर्ने ।
- श्रद्धा, भक्ति समर्पण भावलाई बलियो पार्ने र यो लेख अध्ययन गर्दा यसमा उल्लिखित शब्दहरू उनै ईश्वरका हुन् भनी आत्मभावले अध्ययन गर्ने । हराइरहेको बच्चाले जसरी आमालाई खोज्दछ, त्यसरी नै ईश्वरलाई पुकार्ने, प्रार्थना गर्ने ।
- अनावश्यक कुरालाई तुरुन्त त्याग गर्ने, मायाको शक्तिले हाम्रा बहुमूल्य समय लुटिरहेछ । विशेषगरी मोबाइलले, जसले हामीलाई ईश्वरबाट पर लैजान्छ ।
- जति समय छ पूरा भगवान्को कार्यमा लगाउनु । समर्पणभाव बलियो पार्नु ।
मानवजीवन सारै महत्त्वपूर्ण छ । प्रत्येक पल मृत्युतर्फ बढिरहेको छ । जीवनमा राम्रो काम गरे पनि, नगरे पनि जीवन मृत्युतर्फ अगाडि बढिरहेको छ । तर, मानव जीवन मुक्तिमार्गमा अगाडि बढ्नुपर्छ । मोह क्षय मार्गमा अगाडि बढ्न सके आफ्नो मूल स्वरूपमा फर्कन सकिन्छ । एकथरी व्यक्ति भन्छन् – मोज गर्नुपर्दछ । अर्कोतर्फ अलि मिहिनेत र त्याग गरियो भने आफ्नो मूल स्वरूपमा अर्थात् ब्रह्म स्वरूपमा पुग्न यो शरीर प्रयोग हुन सक्छ । लास बन्नुअघि निष्काम कर्मयोग गर्दै मुक्तिमार्गमा बढ्नुपर्छ । यस्ता विषयमा मननशील भएर जीवन जिउन सिकौँ, साधना गरी दिव्य बनौँ ।
शुभसङ्कल्प किन
जस्तो मनमा सङ्कल्प चल्छ हामी त्यस्तै बन्दै जानेछौँ । शुभसङ्कल्प गरी बारम्बार दोहो¥याउँदा त्यस्तै बन्दै गइन्छ । म शक्तिशाली आत्मा हुँ । म ईश्वरको सन्तान हुँ । म सच्चिदानन्द स्वरूपमा छु । म आनन्दमा रही आनन्द नै बाँड्नु र आनन्दमा नै विलय हुनुपर्छ । म अब यो संसाररूपी दलदलमा अज्ञानका कारण संसारका भोग्य विषयप्रति आशक्ति बढेर मेरो चित्त मैलो भएको छ । अब म ज्ञानको शरणमा वा गुरुको शरणमा जतिसक्दो चाँडो जानुपर्छ । यस्तो सङ्कल्प बारम्बार दोहोर्याइरहनुपर्छ । शुभसङ्कल्पले जीवनमा सकारात्मक परिवर्तन ल्याउने र एक स्पष्ट दिशामा अगाडि बढ्नका लागि महत्त्वपूर्ण कदम हो । शुभसङ्कल्पले व्यक्तिलाई ध्यान, प्रतिबद्धता र आत्मविश्वास दिन्छ, जसले उनीहरूको जीवनलाई नयाँ उचाइमा पु¥याउँछ ।
दुर्जनः सज्जनो भूयात् सज्जनः शान्तिमाप्नुयात् ।
शान्तो मुच्येत बन्धेभ्यो मुक्तचान्यान् विमोचयेत ।।
दुर्जनः सज्जनो भूयात् – पहिला, दुर्जनबाट सज्जन बन्ने (गलत आदत त्याग र सदाचारको जीवन अवलम्बन तथा मन र इन्द्रीय निग्रहबाट, यसबाट साधक सत्वगुण प्रधान हुन्छ) ऊर्जा सञ्चय बढ्छ ।
सज्जनः शान्तिमाप्नुयात् – दोस्रो, सज्जनले शान्ति प्राप्त गरोस् । शान्त र स्थिर अनि एकाग्र बन्ने (सत्संग आसन – प्राणायाम गरेर) ।
शान्तो मुच्येत बन्धेभ्यो – एकाग्रबाट ज्ञान प्राप्त गरोस् र मुक्त बनोस् (सत्संग, ध्यान, समाधिबाट) । समाधि अवस्थामा पुग्न नै यम, नियमका भर्याङहरू क्रमशः पार गर्दै जानुपर्दछ । समाधि अवस्थामा मात्र परमात्मा तत्त्व अनुभूति हुन्छ, यसमा हाम्रो अवस्था त्रिगुणभन्दा माथि पुगेको अवस्था वा अलौकिक वृद्धि, इन्द्रियातीत वृद्धि वा भेदरहित वृद्धि हुन्छ, जुन मन, इन्द्रीयभन्दा माथि हुन्छ ।
मुक्तश्चान्यान् विमोचयेत् – मुक्त व्यक्तिले लोककल्याण गरी सबै अज्ञानीलाई मुक्त गराओस् । निष्काम सेवा र साधना गराई मार्गदर्शन सेवाबाट । जसरी एउटा बिरुवाले प्रकाश संश्लेषण क्रियाबाट ऊर्जा प्राप्त गरी आफैंले ऊर्जा लिन्छ, शीतल छहारी, अक्सिजन, फल र दाउरा दिन्छ त्यसै गरेर मानिसले पनि उच्च चेतनाबाट कर्मयोग वा परोपकार कर्म गर्नुपर्दछ । परोपकार नभई सारा क्लेश डढाउन असम्भव हुन्छ । समाधि अवस्थामा मात्र परमात्मा तत्त्व अनुभूति हुन्छ, यसमा हाम्रो अवस्था त्रिगुणभन्दा माथि पुगेको अवस्था वा अलौकिक वृद्धि, इन्द्रियातीत वृद्धि वा भेदरहित बुद्धि हुन्छ, जुन इन्द्रिय मनभन्दा माथि छ । क्रमश…. (लेखक पातञ्जल योग समिति नेपालका प्रशिक्षण विभागका प्रमुख प्रशिक्षक हुनुहुन्छ ।)
विदुर-४ बट्टार, नुवाकोट






प्रतिक्रिया