+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चकन्यामा उत्पादित चिया ककनीमा प्रशोधन

पञ्चकन्यामा उत्पादित चिया ककनीमा प्रशोधन
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । नुवाकोट जिल्लाको पूर्वी भेगमा रहेको पञ्चकन्या गाउँपालिका, घ्याङस्वारामा उत्पादित चिया ककनी गाउँपालिका-४, रानीपौवामा प्रशोधन सुरु भएको छ । तीन वर्षअगाडि रोपिएको चियाले उत्पादन दिन थालेपछि गत महिनाबाट प्रशोधन भइरहेको छ । यहाँ उत्पादित चियाको मुना सङ्कलन गरेर ककनीमा रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले स्थापना गरेको प्रशोधन केन्द्रमा लैजाने गरिएको छ ।

बोर्डले ककनीमा प्रशोधनका लागि आवश्यक उपकरण जडान गरेपछि चियाको मुना ल्याएर प्रशोधन सुरु भइरहेको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) ले जानकारी दिनुभयो । सदरमुकाम विदुरदेखि ३५ किलोमिटर दूरीमा रहेको पञ्चकन्या-४, घ्याङस्वारामा गरिएको चियाखेतीले उत्पादन दिन सुरु भएपछि स्थानीय श्रमिकले रोजगारीसमेत पाइरहेका छन् । पालिका अध्यक्ष तामाङले भन्नुभयो, ‘तीन वर्षअघि सुरु गरिएको चियाखेती कार्यक्रमअन्तर्गत रोपिएको चियाले चिया उत्पादन दिन थालेपछि चिया टिप्ने कार्यसँगै प्रशोधन सुरु गरिएको छ । उक्त कार्यक्रमले स्थानीय श्रमिकलाई रोजगारी प्रदान गर्दै आत्मनिर्भर हुने मार्गमा अगाडि बढाएको गाउँपालिकाले जनाएको छ । उत्पादन भएर टिपिएको चियाका मुना अहिले प्रशोधन भइरहेको छ । यसबाट प्रशोधित चिया बजारमा पु¥याउने लक्ष्य राखिएको अध्यक्ष तामाङले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो । चिया उत्पादनले पञ्चकन्याको कृषिमा विशेष सफलता हासिल गरेकोसमेत उहाँले बताउनुभयो ।

चिया उत्पादनले पञ्चकन्याको आर्थिक समृद्धि र स्थानीय रोजगारीको महत्त्वपूर्ण आधारको रूपमा रहेको उपाध्यक्ष विमला पाठक केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘श्रम, लगनशीलता र निरन्तर प्रयासको परिणामस्वरूप चिया उत्पादनले बजारतर्फको यात्रा सुरु गरेको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह