+
Search

ताजा अपडेट +

पपुलर +

घोषणापत्र होइन, सम्झौतापत्र जारी गर

घोषणापत्र होइन, सम्झौतापत्र जारी गर
त्रिशूली प्रवाह
२ महिना अगाडी

नेपाली समाजको घरदैलोमा निर्वाचन पुगिसकेको छ । उम्मेदवार जनताको घरदैलोमा पुगी नमस्कार र ढोग गर्दै आफूलाई मत माग्दै छन् । मत दिने दाता पनि उम्मेदवार घरदैलोमा आएपछि टीकाटाला गरी माला लगाइदिएर विजयको आशीर्वाद दिइरहेका छन् । नाता आफन्त जोड्दै मत माग्ने उम्मेदवारको दैनिकजसो निधारमा टीका र गलामा माला देखिन्छ ।

निर्वाचन नागरिक सरकार निर्माण गर्ने आधुनिक यान्त्रिक पद्धति हो । स्थानीय होस् वा प्रदेश वा सङ्घीय संसद्को निर्वाचन आवधिक निर्वाचन हो । निश्चित समय र निश्चित कार्य सम्पादन गर्ने सम्झौताबमोजिम निर्माण हुने सरकार निर्माणको वैज्ञानिक पद्धति नै नागरिक सरकार निर्माणको पद्धति हो । राजतन्त्रात्मक वा तानाशाही सरकारको निर्माण आवधिक निर्वाचनमार्फत हुँदैन ।

सामाजिक सम्झौताको सिद्धान्त भनेको के हो ? : बेलायतका दुईजना दार्शनिक चिन्तकले आविष्कार गरेको नागरिक सरकार निर्माण गर्ने प्रणालीलाई सामाजिक सम्झौताको सिद्धान्त भनिन्छ । यो सिद्धान्त भौतिक विज्ञानको जगमा टेकेर निर्माण भएको हुनाले यसलाई सरकार निर्माणको वैज्ञानिक सिद्धान्तसमेत भनिन्छ । थमस हब्स र जोन लक दुवै बेलायती चिन्तक हुन् । यी दुवैजना ग्यालिलियो र न्युटनको भौतिक विज्ञानबाट प्रभावित राजनीतिक चिन्तक थिए । ग्यालिलियो र न्युटन दुवैलाई भौतिक विज्ञानका पिता मानिन्छ भने हब्स र लक दुवैलाई नागरिक सरकार निर्माणको पिता मानिन्छ । पछि १८औँ शताब्दीमा स्विट्जरल्यान्डका फ्रान्सेली चिन्तक जिन ज्याक रुसोले नागरिक सरकार निर्माणको सिद्धान्तमा अर्को इँटा थप्ने काम गरेको देखिन्छ । हब्स, लक र रुसोको राजनीतिक चिन्तन नै नागरिक सरकार निर्माणको वैज्ञानिक पद्धति आज संसारभरि बहुदलीय शासन प्रणालीको नामले प्रख्यात छ ।

नागरिक सरकारको सामाजिक सम्झौताको सिद्धान्त राजतन्त्रात्मक शासन पद्धतिलाई विस्थापित गर्न आविष्कार गरिएको सिद्धान्त हो । राज्य अर्थात् सरकारको उत्पति ईश्वरीय शक्तिबाट हुने र ईश्वरीय शक्तिको प्रतिनिधिको रूपमा राजालाई ईश्वरले जनतामाथि शासन गर्न नियुक्त गरेको हुन्छ भन्ने प्रचलित रुढीवादी मान्यतालाई विस्थापित गर्न आविष्कार गरिएको वैज्ञानिक सिद्धान्त नै सामाजिक सम्झौताको राज्य र सरकार निर्माणको सिद्धान्त हो । राज्य वा सरकार ईश्वरीय शक्तिबाट नभई जनताको शक्तिबाट निर्माण हुने यान्त्रिक वस्तु हो । सबै यन्त्र मानिसबाटै निर्माण हुने र यन्त्रलाई दिइएको कार्य सम्पादन गर्न सकेन भने भत्काउन पनि सकिने र अर्को यन्त्रको निर्माण पनि मानिसबाट हुने गर्दछ । यही सिद्धान्तको जगमा राज्य वा सरकार नागरिकले निर्माण गर्ने यन्त्र समान वस्तु हो । यो यन्त्रको मुख्य कार्य नागरिकको जीवन, सम्पत्ति र स्वतन्त्रताको सुरक्षा गर्नु हो । यदि राज्य वा सरकारले नागरिकको जीवन, सम्पत्ति र स्वतन्त्रताको सुरक्षा गर्न असमर्थ रहेको स्थितिमा नागरिकको शान्तिपूर्ण आन्दोलन वा विद्रोहमार्फत नागरिक सरकारलाई भत्काउन वा विस्थापित गरी अर्को नागरिक सरकार निर्माण गर्न सक्दछ ।

ग्यालिलियो र न्युटनले ब्रह्माण्डलाई बडेमानको यन्त्रको रूपमा गतिशील हुने यान्त्रिक प्रणालीको रूपमा गणितीय नियमबाट व्याख्या गरेको अवस्था थियो । यही नियमभित्र मानव समाज, राज्य र सरकार सञ्चालन गर्ने पद्धतिको निर्माण गर्न सकिन्छ भन्ने चिन्तन यी दुवै राजनीतिक चिन्तकले बोकेको देखिन्छ । ब्रह्माण्ड एउटा ठुलो यन्त्र हो । ब्रह्माण्ड तीन मुख्य नियमअनुसार सञ्चालन भइरहेको छ । पहिलो नियम निश्चित गति, दोस्रो मेलमिलाप वा सहकार्य, तेस्रो नियमबद्ध । यी सिद्धान्तभित्र रहेर ब्रह्माण्ड सञ्चालन भएको हुन्छ भन्ने ग्यालिलियोदेखि न्युटनसम्म आइपुग्दा गणितीय सूत्रबाट न्यूटनले प्रमाणित गरिसकेका थिए । ब्रह्माण्ड सञ्चालनको यही नियम मानव समाज, राज्य र सरकार सञ्चालनमा लगाउन सकियो भने मानव समाजभित्रको झै(झगडा र मारकाट अन्त्य हुने र मानव समाज समृद्धितर्फ अगाडि बढ्ने चिन्तन अगाडि सार्ने काम भयो ।

निश्चित स्थान, मेलमिलाप र नियमबद्ध : न्युटनको समयसम्म ब्रह्माण्ड भनेको सौर्यमण्डल मात्र हो भन्ने ज्ञान थियो । सौर्यमण्डलभित्र नौवटा ग्रह र सूर्य मेसिनझैँ स्वचालित यान्त्रिक पद्धतिको नियमभित्र निरन्तर गतिशील रूपले सञ्चालन भइरहेको हुन्छ । सूर्य तथा ग्रहको पिण्डको वजनअनुसार एक–आपसको खिचातानीबाट सन्तुलनमा रही सूर्यको परिक्रमा गरिरहेका हुन्छन् । ग्रहको पिण्डको वजन र यसको दूरीको कारण आकर्षक र विकर्षण उत्पन्न हुने कारणबाट एक–आपसमा नठोक्कीकन ब्रह्माण्ड सञ्चालनको नियमअनुसार मानव समाज र राज्य तथा नागरिक सरकार निर्माणको सामाजिक सम्झौताको सिद्धान्त आविष्कार भएको हो ।

देशका नागरिक गतिशील वस्तुजस्तै यान्त्रिक मेसिनजस्तै वस्तु हुन् । नागरिकको गतिको मुख्य कारण असन्तुष्ट चाहना हो । मानिस एकपछि अर्को असन्तुष्ट चाहनालाई सन्तुष्ट हुन निरन्तर गतिशील रहिरहने स्वभावले आ–आफ्नो गतिविधिमा गतिशील हुन्छन् । यो गतिशील गतिविधिको मुख्य कारण वस्तुप्रतिको आकर्षण र विकर्षणको कारण उत्पन्न हुन्छ । कुनै वस्तुले कुनै मानिसलाई आकर्षक गर्दछ भने कुनै वस्तुले मानिसलाई विकर्षण गर्दछ । मानिसको आवश्यकता वा चाहना यही आकर्षण र विकर्षणको कारण उत्पन्न हुन्छ । मानिसको चाहना व्यक्तिगत हुन्छ । सांसारिक वस्तुबाहेक धर्म, रीतिरिवाज, परिवार, आफन्त, नातागोता, जातजाति, सम्प्रदायजस्ता सम्बन्धले मानिसको चाहनामा कुनै आकर्षक र विकर्षण उत्पन्न हुँदैन । मानिसको चाहनाको आकर्षक र विकर्षण सांसारिक भौतिक वस्तु मात्र हुन् । यसरी भौतिक विज्ञानको आकर्षक र विकर्षणको नियम मानिस र मानव समाजमा पनि लागू हुने चिन्तन नै यान्त्रिक भौतिकवादी चिन्तन हो ।

राज्य र सरकार सञ्चालनको नियम : राज्य र सरकार निर्माणको सन्दर्भमा पनि यही यान्त्रिक नियम प्रयोग भएको देखिन्छ । मानिस एउटा यन्त्रसमान यान्त्रिक वस्तु हो । यो यन्त्र प्राकृतिक रूपले समान हैसियतसहित जन्मन्छ । शारीरिक र बौद्धिक रूपमा सबै मानिस समान हैसियत र क्षमतासहित जन्मन्छ । जन्मपछि उसले आपूmले लगानी गर्ने परिश्रमको आधारमा आफ्नो जीवन सञ्चालन गर्न सक्षम वा असक्षम हुँदै जान्छ । मानिसको सञ्चालनमा समाज वा परिवार वा धर्म वा संस्कृति वा जातजाति वा सम्प्रदायको कुनै प्रभाव रहँदैन । मानिस अणुजस्तै परिवार, समाज, धर्म, संस्कार, संस्कृतिसँग बाँधिएर सञ्चालन हुँदैन । मानिस स्वतन्त्र जन्मन्छ, तर पछि उसलाई यी सब चिजको जन्जिरले बाँधेर लैजान्छ । यी सबै जन्जिर चुँडाल्दै जीवन सञ्चालन गर्नु नै वास्तविक स्वतन्त्रता हो । मानिस आफ्नो व्यक्तिगत चाहनाअनुसार अणुझँै सञ्चालन हुनु नै स्वतन्त्र हुनु हो । आफ्नो चाहनाअनुसार स्वतन्त्र रहँदा आपूmले अर्को व्यक्तिको आफ्नोजस्तै चाहनाअनुसार सञ्चालन र व्यवधान नगर्ने गरी आफ्नो स्वतन्त्र जीवन सञ्चालन गर्नु नै वास्तविक स्वतन्त्रता हो ।

एउटा व्यक्तिले आफ्नो जीवन स्वतन्त्रतापूर्वक सञ्चालन गर्दा आफ्नो अगाडिको अर्को व्यक्तिको स्वतन्त्रता हनन नहुने गरी जीवन सञ्चालन गर्न सकियो भने समाज आफैँ नियमबद्ध सञ्चालन हुन्छ । सौर्यमण्डलका ग्रह यही नियमभित्र गतिशील हुन्छन् भने यही नियम मानव समाज सञ्चालनमा लागू गर्न सकिन्छ । मानिस एक–आपसमा अर्काको स्वतन्त्र हुने नियम ख्याल गर्नेबित्तिकै एक–आपसमा दबाब र प्रभाव गर्ने प्रचलन हुर्कन सक्दैन । एक–आपसमा दबाब वा बल प्रयोग नगर्नासाथ मानव समाज नियमबद्ध, झै–झगडाबिना सञ्चालन हुन्छ । मानिस–मानिसबिचको झै–झगडाको मुख्य कारण सम्पत्ति र अहमता हो । मानिस–मानिसबिच आ–आफ्नो मिहिनेतको सम्पत्तिलाई सम्मान गर्ने र एक–अर्काबिच मिहिनेतको सम्पत्तिको सुरक्षित गर्ने राज्य वा सरकार निर्माण गर्ने हो भने मानव समाज यान्त्रिक समाजमा बदलिन सक्दछ । एउटा मानिसलाई राज्यले निर्माण गरेको नियमभित्र सम्पत्ति आर्जन गर्ने अवसर दिने हो भने समाजभित्रको झै–झगडा त्यसै अन्त्य हुन्छ । राज्य वा सरकार यन्त्र–उपकरणले जस्तो कार्य सम्पादन गर्ने हो भने कानुनी राज्य निर्माण हुन्छ । यान्त्रिक राज्य भनेको राज्य सञ्चालक यन्त्रजस्तै आफन्त, परिवार, रीतिरिवाज, धर्म, संस्कृति, जातजाति वा सम्प्रदायविहीन ढङ्गले दबाब र प्रभावमा काम नगर्ने यान्त्रिक वस्तु हो । राज्य वा सरकार आफन्त वा परिवारविहीन यन्त्रझैँ सञ्चालन हुनु भनेको नियम–कानुनबमोजिम मात्र सञ्चालन हुने प्रणाली हो ।

एउटा मोटर वा मोटरसाइकल यान्त्रिक वस्तु हो । त्यो मोटर वा मोटरसाइकलको कुनै आफन्त वा नातागोता धर्म, संस्कार संस्कृतिसँग कुनै सरोकार हँुदैन । मोटर वा मोटरसाइकलको सञ्चालन आफ्नो प्रणालीबाट मात्र सञ्चालन हुन्छ । जुनसुकै मानिस वा धर्म वा परिवार वा संस्कार वा संस्कृति मान्ने मानिस उसले चिन्दैन । यस्ता यन्त्र भौतिक नियम वा यान्त्रिक नियमभित्र बसेर सञ्चालन हुन्छ । राज्य वा सरकार एउटा यान्त्रिक वस्तु हो । यसको निर्माण यन्त्रजस्तै मानिसको समूहले निर्माण गर्दछ । मानिस स्वयम् एउटा यन्त्र हो । मानिस एक्लो नातागोता आफन्त, धर्म, संस्कृति, जातजाति सम्प्रदायविहीन एउटा यन्त्रैयन्त्रले बनेको मेसिन हो । मानिसको भित्री अङ्गको सञ्चालन सबै यन्त्रको सङ्ग्रहमार्फत सञ्चालन हुन्छ भने पूरै मानव शरीरसमेत एउटा सिङ्गो यन्त्र नै हो । यो यन्त्र भौतिक रूपमा जन्मन्छ र भौतिक रूपले नष्ट हुन्छ । तसर्थ मानव समाज भनेको यन्त्रको सङ्ग्रह मात्र हो । एक–आपसमा एक–अर्काको अस्तित्व स्वीकार गर्दै कसैलाई दबाब र बल प्रयोग नगरी जीवन गुजारा गर्नु मानव यन्त्रको मुख्य दायित्व हो । मानिस–मानिसबिच परिवार, दाजुभाइ, दिदीबहिनी, आफन्त, इष्टमित्रजस्ता सम्बन्ध केही नहुनु र सबै मानिसलाई एक समान दृष्टिकोणबाट देख्नु नै मानव समाज सञ्चालनको भौतिक नियम हो ।

सामाजिक सम्झौताको राज्य र सरकार निर्माणको सिद्धान्त मानिसदेखि ब्रह्माण्डसम्म सबैलाई यान्त्रिक आँखाले हेर्नासाथ कसैले कसैलाई नजिक वा टाढाजस्तो लाग्दैन । सबै मानिस यन्त्रझैँ आकर्षण र विकर्षणको नियमले सञ्चालन हुन्छन् । यान्त्रिक मानव असन्तुष्ट यन्त्र हो । यो यन्त्रको सञ्चालन असन्तुष्ट चाहना हो । असन्तुष्ट चाहना सन्तुष्ट हँुदै गएपछि आनन्द र सन्तुलित अवस्थामा पुग्दछ । राज्य र सरकार पनि बडेमानको यन्त्र हो । यसको निर्माण मानवरूपी यन्त्रले आफ्नो जीवन, सम्पत्ति र स्वतन्त्रताको रक्षा गर्न निर्माण गरेको ठुलो यन्त्र नै हो । आफ्नो जीवन, सम्पत्ति र स्वतन्त्रतापूर्वक गतिविधि गर्न कहीँकतैबाट व्यवधान हुनबाट जोगाउने जिम्मेवारीसहित पुलिस तथा नियम–कानुनको निर्माण र कार्यान्वयन गर्ने अधिकारीसहितको दायित्व बोकेको यन्त्र नै राज्य र सरकार हो ।

राज्य र सरकार नागरिकको जीवन, सम्पत्ति र स्वतन्त्रताको संरक्षण गर्ने दायित्व बोकेको यान्त्रिक उपकरण हो । यो उपकरणले यन्त्रझैँ निष्पक्ष रही सबै नागरिकप्रति समान व्यवहार र समान हैसियतसहित जनताको जिउधनको सुरक्षा गर्नु हो । निर्वाचनमार्फत नागरिकको बहुमत प्राप्त दलले सरकार निर्माण गरी राज्य सञ्चालन गर्ने र बहुमत प्राप्त गर्न असमर्थ दल विपक्षमा बसी निर्वाचनमा गरिएको सामाजिक सम्झौता कार्यान्वयन भए–नभएको निगरानी र खबरदारी गर्ने दायित्व बोकेको हुन्छ । यदि निर्वाचनमा गरिएको सम्झौता कार्यान्वयन गर्न असमर्थ रहेको अवस्थामा उक्त सरकारलाई आन्दोलन वा शान्तिपूर्ण विद्रोहमार्फत विघटन गरी नयाँ सरकार गठन गर्ने अधिकारसमेत हुन्छ ।

निर्वाचनमा राजनीतिक दलले नागरिक सरकार निर्माणका लागि चार वा पाँच वर्षभित्र जनताको जीवन, सम्पत्ति र स्वतन्त्रताको सुरक्षा गर्ने ग्यारेन्टीसहित अन्य सामाजिक रूपान्तरण गर्ने कार्यक्रमसमेत प्रस्तुत गरेको हुन्छ । सामाजिक रूपान्तरणको कार्यक्रम निश्चित समयभित्र कार्यान्वयन गरिसक्ने गरी जनतासँग सम्झौता गर्ने प्रक्रिया निर्वाचनमा मत व्यक्त गरेर सम्पन्न हुन्छ । पाँचवर्षे कार्यकालभित्र सम्पन्न गर्ने नीति र कार्यक्रम सम्पन्न गर्न असमर्थ भएमा बिचैमा जनताको बहुमतले निर्माण भएको सरकार भङ्ग वा विघटन गर्ने अधिकार जनतामा रहन्छ । नागरिक सरकार नागरिकको बहुमत प्राप्त दलले निर्माण गर्दछ । दलले निर्वाचनमा आफूले बहुमत प्राप्त गरेमा निम्न सामाजिक तथा आर्थिक रूपान्तरण गर्नेछु भनेर नागरिकसमक्ष सम्झौतापत्र प्रस्तुत गर्नुपर्दछ । दलले बहुमत प्राप्त गर्नु भनेको सम्झौतापत्र कार्यान्वयनका लागि सरकार गठनका लागि अधिकार प्राप्त गरेको मानिन्छ । यसरी बहुमत प्राप्त दलले सरकार निर्माणपछि दत्तचित्त भएर आफूले निर्वाचनमा प्रस्तुत गरेको सम्झौता कार्यान्वयन गर्दै जानुपर्दछ ।

नेपालका राजनीतिक दलहरूले निर्वाचनमा घोषणापत्र नभई सामाजिक सम्झौतापत्र प्रस्तुत गर्न जरुरी हुन्छ । सामाजिक सम्झौतापत्र आगामी पाँच वर्षभित्र सम्पन्न गरिने नागरिक र सरकारबिचको समाज रूपान्तरण गर्ने सम्झौतापत्र हो । यो सम्झौतापत्र अघिल्लोपटक बहुमत प्राप्त दलले कार्यान्वयन गर्न असमर्थ रहेमा अर्कोपटक अर्को दललाई बहुमत दिलाई नयाँ दललाई उसको सम्झौतापत्र कार्यान्वयन गर्ने अवसर दिन्छ । सम्झौतापत्र चार वा पाँच वर्षको मात्र हुन जरुरी हुन्छ । चार वा पाँच वर्षको सम्झौता कार्यान्वयनको स्थिति हेरेर पुनः अर्को चार वा पाँच वर्षको अर्को सम्झौतापत्रसहित पुनः निर्वाचनमा जाने र नागरिक सरकार निर्माण गर्ने निरन्तर गतिशील प्रणाली नै नागरिक सरकार निर्माणको सामाजिक सम्झौताको सिद्धान्त हो ।

नेपालको राजनीतिक इतिहासमा राजनीतिक दलहरूले उडन्ते घोषणापत्र जारी गरी निर्वाचनमा जाने र कार्यान्वयन फितलो हुने हुँदा समाज रूपान्तरण नभएको हो । वास्तविक समाज रूपान्तरण गर्ने सामाजिक सम्झौतापत्र आजको आवश्यकता हो । सामाजिक सम्झौतापत्र नागरिकसँग उसको जीवन, सम्पत्तिर स्वतन्त्रताको रक्षा गर्दै समाज रूपान्तरण गर्ने नीति तथा कार्यक्रम हो । यही नीति तथा कार्यक्रम प्रस्तुत गरी सरकार निर्माण गर्ने प्रणालीलाई नै नागरिक सरकार निर्माणको वैज्ञानिक सामाजिक सम्झौताको सिद्धान्त भनिन्छ । नेपालमा २०४७ सालपछि निरङ्कुश राजतन्त्रलाई बिदा गरेपछि नागरिक सरकार निर्माण गर्ने पद्धतिमा प्रवेश गरेको हो । त्यसयता राजनीतिक दलहरूले हब्स लकले आविष्कार गरेको सामाजिक सम्झौताको सिद्धान्तअनुसार सम्झौतापत्र प्रस्तुत गरेर नागरिक सरकार निर्माण गर्ने र सम्झौता कार्यान्वयन गर्न नसकेकै कारण जनतामा असन्तुष्टि जन्मिएको र राजनीतिसमेत अस्थिर बनेको निष्कर्ष निकाल्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह