+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेशका ३३ स्थानमा ७३१ उम्मेदवार

बागमती प्रदेशका ३३ स्थानमा ७३१ उम्मेदवार
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । आसन्न प्रतिनिधिसभा चुनावमा राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको बागमती प्रदेशमा चतुष्पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । यस प्रदेशमा मुख्यतः काङ्ग्रेस, एमाले, नेकपा र रास्वपाबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । प्रदेशका ३३ सङ्घीय स्थानका लागि राजनीतिक दल र स्वतन्त्र गरी सात सय ३१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा नेमकिपालाई आफ्नो विरासत जोगाउने चुनौती छ भने राप्रपा विगतको जितलाई निरन्तरता दिनुपर्ने दबाबमा रहेको छ । पटक-पटक सांसद हुँदै राज्यसत्तामा पुगिसकेकादेखि नवयुवाहरूसमेत चुनावी मैदानमा रहेका छन् । यसअघि लगातार दुईपटक पराजित भएका पनि जितको आशामा तेस्रोपटक प्रयास गर्दै छन् । प्रदेशबाट उम्मेदवार बनेका दुई सय ३१ स्वतन्त्रसहित सात सय ३१ उम्मेदवारमध्ये पाँच सयजना राजनीतिक दल र दुई सय ३१ जना स्वतन्त्र छन् । स्थापित राजनीतिक दलदेखि नयाँ राजनीतिक दलको कडा प्रतिस्पर्धाबिच एक निर्वाचन क्षेत्रमा बढीमा दर्जनभन्दा बढी सङ्ख्यामा स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धामा आउनाले बागमतीको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । सङ्घीय राजधानीसमेत रहेको बागमतीमा राष्ट्रिय राजनीतिका प्रभावशाली व्यक्तिसमेत प्रतिस्पर्धामा रहेकाले चुनावी परिणाम कस्तो होला भन्ने राष्ट्रिय चासोको विषय बनेको छ ।

प्रदेशमा नुवाकोट, रसुवा, धादिङसहित १३ जिल्ला रहेको छ । यस प्रदेशमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ ३३ सिट रहेको छ । विसं. २०७९ को प्रतिनिधिसभा चुनावमा नेपाली काङ्ग्रेस, तत्कालीन माओवादी केन्द्र र तत्कालीन नेकपा एकीकृत समाजवादी गठबन्धन बनाएर लडेका थिए । प्रदेशमा काङ्ग्रेसले १३ सिटमा विजय हासिल गर्दै पहिलो दल बनेको थियो । काङ्ग्रेसबाट रामेछाप १ मा पूर्णबहादुर तामाङ (कान्छाराम), सिन्धुली १ मा श्यामकुमार घिमिरे, रसुवा १ मा मोहन आचार्य, धादिङ २ मा रामनाथ अधिकारी र नुवाकोट २ मा अर्जुननरसिंह केसी विजयी भएका थिए । त्यस्तै, काठमाडौँ १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगन थापा, ५ मा प्रदीप पौडेल र क्षेत्र नम्बर १० मा राजेन्द्रकुमार केसीले जितेका थिए । भक्तपुर २ मा दुर्लभ थापा, ललितपुर १ मा उदयशमशेर जबरा र सिन्धुपाल्चोक २ मा मोहनबहादुर बस्नेत विजयी भएका थिए । त्यस्तै, एमालेले काठमाडौँ ९ मा कृष्णगोपाल श्रेष्ठ, ललितपुर २ मा प्रेमबहादुर महर्जन, काभ्रे २ मा गोकुल बाँस्कोटा र मकवानपुर २ मा महेश बर्तौला गरी चार क्षेत्रमा मात्रै जित निकालेको थियो । पाँच क्षेत्र जितेको तत्कालीन माओवादी केन्द्रबाट दोलखा १ मा गंगा कार्की, सिन्धुली २ मा लेखनाथ दाहाल (राजन), नुवाकोट १ मा हितबहादुर तामाङ, काभ्रे १ मा सूर्यमान दोङ र सिन्धुपाल्चोक १ मा माधव सापकोटाले जितेका थिए । चुनावको करिब ६ महिनाअघि मात्रै स्थापना भएको रास्वपाले बागमती प्रदेशमा सात क्षेत्रमा जित निकाल्दै प्रतिनिधिसभामा बागमतीबाट दोस्रो स्थान सुरक्षित गरेको थियो । सो पार्टीको काठमाडौँ २ बाट सोविता गौतम, काठमाडौँकै क्षेत्र ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली र ८ बाट विराजभक्त श्रेष्ठ विजय भएका थिए ।

त्यस्तै, ललितपुर ३ बाट तोसिमा कार्की, चितवन १ बाट हरि ढकाल र २ बाट रवि लामिछाने विजयी भएका थिए । बागमतीको धादिङ १ मा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले जितेका थिए भने भक्तपुर १ मा नेमकिपाका प्रेम सुवालले जितेका थिए । राप्रपाबाट मकवानपुर १ मा दीपकबहादुर सिंह र चितवन ३ मा विक्रम पाण्डे विजयी भएका थिए । यसपटक पनि केही स्थानमा नयाँ उम्मेदवार आए पनि अधिकांश यसअघि चुनाव जितेका र राष्ट्रिय राजनीतिमा प्रभावशाली व्यक्ति नै उम्मेदवार बनेका छन् । तर, पहिलेझैँ चुनावी गठबन्धन नभएको, पुराना राजनीतिक दलहरूप्रति जनताको बढ्दो निराशा र नयाँ दलप्रतिको मतदाताको बढ्दो उत्साहले चुनावी मत परिणाम अनपेक्षित रूपमा परिवर्तन हुने आकलन गरिएको छ ।

यसअघि दुईवटा चुनाव जितेका रास्वपा सभापतिसमेत रहेका लामिछाने पुनः चितवन २ मा उठेका छन् । विसं. २०७९ को चुनावमा ४९ हजार तीन सय मत ल्याएर जितेका उनका निकटतम प्रतिद्वन्दी काङ्ग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८८ मत पाएका थिए । काङ्ग्रेस-माओवादी केन्द्रको गठबन्धन भएको सो चुनावमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ ल्याएका थिए भने राप्रपाका रविन अधिकारीले नौ सय ५५ मत ल्याएका थिए । तर, लामिछाने नागरिकता मुद्दामा पदमुक्त भएसँगै २०८० मा यहाँ उपनिर्वाचन भयो । उपनिर्वाचनमा पुनः उम्मेदवार बनेका रवि ५४ हजार एक सय ७६ मत पाएर विजयी भए । काङ्ग्रेसका जितनारायण श्रेष्ठले ११ हजार दुई सय १४, काङ्ग्रेसका रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ र राप्रपाका जीवलाल पुरीले तीन सय ७५ मत पाएका थिए । यसपटक उनी काङ्ग्रेसकी मीनाकुमारी खरेल, एमालेका अस्मिन घिमिरे, नेकपाका प्रताप गुरुङ र राप्रपाका जगदीश अधिकारीलगायतसँग प्रतिस्पर्धामा छन् । निरन्तर ठुलो मतान्तरले जित्दै आउनु, प्रतिस्पर्धीको चर्चा कम हुनु र राष्ट्रिय राजनीतिको बहाव नै रास्वपातर्फ बग्नुले लामिछानेलाई यसपटक पनि चुनाव जित्न खासै असहज नहुने आकलन गरिए पनि चितवनको उक्त क्षेत्रको निर्वाचनलाई सबैले चासो र ध्यानपूर्वक हेरिरहेका छन् ।

यस्तै, वि.सं. २०७४ र २०७९ को स्थानीय तह चुनाव जितेर भरतपुर महानगरको मेयर भएकी रेनु दाहाल नेकपाबाट चितवन ३ मा उम्मेदवार बन्नुभएको छ । उहाँसँग प्रतिस्पर्धा गर्न रास्वपाकी सोविता गौतम पुग्नुभएको छ । सो क्षेत्रमा काङ्ग्रेसबाट टेकप्रसाद गुरुङ, एमालेबाट शङ्करराज थपलिया र राप्रपाबाट दीपक थापा (मगर) उम्मेदवार हुनुहुन्छ । दुईपटक मेयर भएर विकास निर्माणको कामको श्रेय लिनुभएकी दाहाल र राष्ट्रिय राजनीतिमा अलग्गै पहिचान बनाउनुभएकी गौतमबिचको प्रतिस्पर्धा पनि रोचक हुने अड्कल गरिएको छ । त्यस्तै, काठमाडौँ-५ मा दुई हेभिवेट उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ – काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेल र एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल । यहीँबाट पटक-पटक उम्मेदवार हुँदै आउनुभएका पोखरेल र अघिल्लो निर्वाचनमा जित निकाल्नुभएका पौडेलबिचको प्रतिस्पर्धा पनि पेचिलो हुने देखिएको छ । यहाँ राप्रपाका पूर्वअध्यक्ष कमल थापा पनि उम्मेदवार अुनुहुन्छ । नेकपाबाट कल्पना शर्मा र रास्वपाबाट सस्मित पोखरेल उम्मेदवार हुनुहुन्छ । तीन अनुभवी र शीर्ष नेतालाई अन्य पार्टीका युवाले दिइरहेको चुनौतीले परिणाम कसको पक्षमा जान्छ भन्ने आमचासोको विषय बनेको छ । काठमाडौँ १ को प्रतिस्पर्धा पनि रोचक हुने देखिएको छ । वि.सं. २०७४ र २०७९ को चुनावमा काङ्ग्रेसका नेता प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित रवीन्द्र मिश्र राप्रपाबाट तेस्रोपटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँको एक प्रतिस्पर्धी रास्वपाकी रञ्जु दर्शना हुनुहुन्छ, जो मिश्रकी पूर्वसहकर्मी हो । यहाँ काङ्ग्रेसबाट प्रबल थापा क्षेत्री, एमालेबाट मोहनराज रेग्मी र नेकपाबाट मेनुका भण्डारी उम्मेदवार बन्नुभएको छ । यी सबै नयाँ अनुहार हुन् । विगतको अवस्था हेर्दा रास्वपाको ह्विमबाट जोगिन सके मात्रै मिश्रको पक्षमा परिणाम आउन सक्ने आकलन स्थानीय नेता-कार्यकर्ताको छ । एमाले सचिव राजन भट्टराई काठमाडौँ ४ बाट तेस्रो पटक उम्मेदवार बन्नुभएको छ । यसअघि काङ्ग्रेस सभापति गगन थापासँग पराजित हुँदै आउनुभएका उहाँ यसपटक नयाँ प्रतिस्पर्धीसँग चुनावी मैदानमा हुनुहुन्छ । उहाँको प्रतिस्पर्धीका रूपमा काङ्ग्रेसबाट सचिन तिमिल्सिना, नेकपाबाट इन्द्रकुमार भुसाल, रास्वपाबाट पुकार बम र राप्रपाबाट डा. सुरेन्द्र भण्डारी हुनुहुन्छ । तेस्रोपटक मैदानमा आउनुभएका उहाँको अवस्था के होला ? काङ्ग्रेसले विरासत जोगाउला कि नयाँको उदय होला भन्ने आमचासोको विषय बनेको छ ।

यस प्रदेशबाट गत २०७९ को चुनावमा विजयी भएका ३३ जनामध्ये १८ जना पुनः मैदानमा रहेका छन् । रास्वपाकी सोविता गौतम काठमाडौँ २ छाडेर चितवन ३ पुग्नुभएको छ भने अन्य १७ जना भने पुरानै क्षेत्रबाट उम्मेदवार बनेका छन् । पुरानै उम्मेदवारलाई दोहो¥याउनेमा रास्वपा पहिलो नम्बरमा छ भने दोस्रोमा नेकपा छ । रास्वपाले पुराना निर्वाचित सातजनालाई पुनः उम्मेदवार बनाएको छ । नेकपाले चारजनालाई फेरि उम्मेदवार बनाएको छ । काङ्ग्रेसले तीनजनालाई दोहो¥याउँदा एमालेले दुईजनालाई मात्रै फेरि प्रतिस्पर्धामा उतारेको छ । रास्वपाबाट गौतमसहित शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, हरि ढकाल र रवि लामिछाने दोहोरिएर उम्मेदवार बनेका हुन् । काङ्ग्रेसबाट मोहन आचार्य, प्रदीप पौडेल र उदयशमशेर जबरा दोहोरिएका छन् । एमालेबाट प्रेमबहादुर महर्जन र महेश बर्तौला मात्रै दोहोरिएका छन् । त्यसैगरी, नेकपाबाट लेखनाथ दाहाल (राजन), हितबहादुर तामाङ, माधव सापकोटा र राजेन्द्र पाण्डे दोहोरिएका छन् । राप्रपाबाट दीपकबहादुर सिंह र नेमकिपाबाट प्रेमकुमार सुवाल पनि दोहोरिएर प्रतिस्पर्धामा आएका उम्मेदवार हुन् । राजनीतिमा पुस्तान्तरण र नयाँलाई अवसरको सन्दर्भमा व्यापक चर्चा र प्रश्न उब्जिइरहे पनि फागुनमा हुन गइरहेको प्रतिनिधिसभाको चुनावमा दलहरूले भने पुरानै उम्मेदवारलाई मैदानमा उतारेर जनताको सेन्टिमेन्ट जाँच गरेका छन् । यसको परिणामलाई दलहरूले आगामी निर्वाचनका लागि रणनीति बनाउनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह