+
Search

ताजा अपडेट +

पपुलर +

महोत्सव र हाटबजारको आर्थिक भूमिका

महोत्सव र हाटबजारको आर्थिक भूमिका
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

नुवाकोट जिल्ला उत्कृष्ट उदाहरण हो, जहाँ नुवाकोट उद्योग वाणिज्य सङ्घद्वारा १२ दिनसम्म सञ्चालन भई अघिल्लो आइतबार सम्पन्न नुवाकोट महोत्सव २०८२ र विदुर नगरपालिकाको सहयोगमा लायन्स क्लब अफ नुवाकोटले हरेक शनिबार बागटार कोलनीमा सञ्चालित कृषि हाटबजारले स्थानीय किसानको उत्पादन, बजारीकरण र बजार प्रवद्र्धनमा उल्लेखनीय टेवा पुर्याइरहेका छन् ।

नुवाकोट काठमाडौं उपत्यकाबाट नजिकै रहेको भए पनि कलकारखानाभन्दा यहाँको अधिकांश क्षेत्र कृषिप्रधान छ । यहाँका किसानले मुख्य रूपमा तरकारी, फलफूल, दुधजन्य उत्पादन, मासुजन्य वस्तु तथा स्थानीय हस्तकलाका सामग्री उत्पादन गर्दै आएका छन् । तर, यी उत्पादनको उचित बजार अभावमा किसानले उचित मूल्य पाउन सकेका छैनन् । यस्तो अवस्थामा महोत्सव र हाटबजारले पुलको काम गरेका छन् । उदाहरणका लागि सङ्घले विदुर सदरमुकाममा माघ ७ देखि माघ १८ गतेसम्म गरेको महोत्सवलाई लिन सकिन्छ । महोत्सवले स्थानीय उत्पादनलाई प्रदर्शन गर्ने अवसर प्रदान गर्यो जसले गर्दा सयौँ आगन्तुकले नुवाकोटका स्थानीय वस्तु अवलोकन तथा खरिद गर्ने अवसर पाए । यसबाट किसानको आम्दानी बढ्यो र उत्पादनको माग बढ्दै गयो । हालको नवौँ संस्करणमा जस्तै आठौँ नुवाकोट महोत्सवमा अनुमानित रु. पाँच करोडको आर्थिक कारोबार भएको आयोजकले सार्वजनिक गरेका थिए जसले स्थानीय व्यावसायिक गतिविधिलाई चलायमान बनायो ।

यसैगरी पाँचौँ संस्करणमा रु.दुई करोडको कारोबार भएको आयोजकको रेकर्ड छ जसले महोत्सवको आर्थिक प्रभावलाई स्पष्ट गर्दछ । महोत्सवको आर्थिक भूमिकालाई बुझ्नका लागि यसलाई बहुआयामिक रूपमा हेर्न आवश्यक छ । पहिलो, यी क्रियाकलापले स्थानीय उत्पादनको प्रवद्र्धन गर्छन् । नुवाकोट महोत्सवमा स्थानीय किसानले आफ्ना जैविक तरकारी, स्थानीय जातका फलफूल (जस्तै सुन्तला, किबी) र हस्तकलाका सामग्री प्रदर्शन गरे । यसले उत्पादकलाई आफ्ना वस्तुको गुणस्तर र विशेषताबारे जानकारी दिने अवसर मिल्यो । परिणामस्वरूप, किसानले आफ्नो उत्पादनको ब्रान्डिङ गर्न सक्दछन्, जसले दीर्घकालीन बजार सिर्जना गर्न सक्ने देखिन्छ । आर्थिक दृष्टिकोणबाट हेर्दा यस्ता महोत्सवले उत्पादनको माग बढाउँछन्, जसले गर्दा किसान कृषि उपज थप उत्पादन गर्न प्रेरित हुन्छन् । नेपाल कृषि अनुसन्धान परिषद्का अनुसार यस्ता कार्यक्रमले स्थानीय उत्पादनमा २०-३० प्रतिशतसम्म वृद्धि गराउन सक्छन् । नुवाकोटको सन्दर्भमा महोत्सवले जिल्लाका विभिन्न गाउँबाट आएका किसानलाई एकै ठाउँमा ल्याएर उनीहरूको उत्पादनलाई सहरी बजारसम्म पुर्यायो । आइतबार सम्पन्न महोत्सवले पनि आर्थिक गतिविधि चलायमान बनाएको स्थानीय व्यवसायी कृष्ण डङ्गोलले बताउनुभएको छ । महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनीका लागि मात्र ५० भन्दा बढी कक्ष छुट्याइएका थिए ।

दोस्रो, बजारीकरणको सन्दर्भमा महोत्सव र हाटबजारले महत्त्वपूर्ण योगदान दिन्छन् । बजारीकरण भनेको उत्पादनलाई उपभोक्तासम्म पुर्याउने प्रक्रिया हो, जसमा मूल्य निर्धारण, वितरण र प्रचार समावेश हुन्छ । विदुर-९, बागटारमा सञ्चालित हाटबजार यसको उत्कृष्ट उदाहरण हो । हाटबजार विदुर नगरपालिका र लायन्स सेवा केन्द्रको संयुक्त लगानीमा सुरु भएको हो, जसमा सुरुका दिनमा हरेक शुक्रबार र हाल हरेक शनिबार सञ्चालन हुँदै आएको छ । हाटबजारले स्थानीय किसानलाई आफ्ना उत्पादन सिधै उपभोक्तासम्म बेच्ने प्लाटफर्म प्रदान गरिरहेको छ । यसबाट मध्यस्थकर्ताको भूमिका कम हुन्छ, जसले गर्दा किसानले उचित मूल्य पाउँछन् । जस्तो कि बागटार हाटबजारमा तरकारीको मूल्य सिधै किसानले निर्धारण गर्छन्, जसले गर्दा उनीहरूको नाफा बढाएको छ । आर्थिक रूपमा यसले स्थानीय अर्थतन्त्रमा पैसाको परिक्रमा बढाउँछ, किनकि उपभोक्ताले स्थानीय उत्पादन खरिद गर्दा पैसा जिल्लाबाहिर जाँदैन । विश्व बैंकको एक प्रतिवेदनअनुसार, यस्ता हाटबजारले ग्रामीण क्षेत्रमा १५-२५ प्रतिशतसम्म आम्दानी वृद्धि गराउन सक्छन् । नुवाकोटमा यो हाटबजारले विशेष गरी महिला किसानलाई सशक्त बनाएको छ, जसले गर्दा उनीहरूको आर्थिक स्वतन्त्रता बढेको छ ।

यस्ता मेला, महोत्सव र हाटबजारले विभिन्न क्षेत्रमा व्यवसाय विस्तार र व्यापार वृद्धिमा पनि प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । विशेषगरी होटेल व्यवसायमा यसको प्रभाव उल्लेखनीय छ । नुवाकोट महोत्सवजस्ता कार्यक्रमले सयौँ पर्यटक र आगन्तुकलाई आकर्षित गर्छन् जसले गर्दा स्थानीय होटेलको व्यस्तता बढ्छ । महोत्सव अवधिमा विदुर र आसपासका क्षेत्रमा होटेल पूर्ण रूपमा भरिने गर्छन् । यसबाट होटेल सञ्चालक आफ्नो व्यवसाय विस्तार गर्न प्रेरित हुन्छन्, जस्तै थप कोठा निर्माण वा सेवा सुधार गर्न । आर्थिक रूपमा यसले होटेल क्षेत्रमा ३०-४० प्रतिशतसम्म व्यापार वृद्धि गराउँछ, जसले केही थप रोजगारी सिर्जना पनि गर्छ । यसैगरी, यातायात व्यवसायमा पनि सकारात्मक प्रभाव पर्छ । महोत्सवमा आउने पर्यटकका लागि साना-ठुला बस र अटोसहित स्थानीय यातायात साधनको माग बढ्छ । नुवाकोटको सन्दर्भमा काठमाडौंबाट नुवाकोट आउने पर्यटक बढ्दा यातायात व्यवसायीले थप सवारीसाधन सञ्चालन गरेका छन् । यसबाट उनीहरूको दैनिक आम्दानीमा वृद्धि भएको छ र महोत्सव अवधिमा यातायात क्षेत्रको व्यापार २५ प्रतिशतसम्म बढेको व्यवसायीले बताउने गरेका छन् । खाद्य सामग्रीको व्यवसायमा पनि यी क्रियाकलापले ठुलो टेवा पुर्याएको छ । महोत्सवमा स्थानीय खाद्य स्टलले तामाङ, नेवार र अन्य जातीय खाना (जस्तै सेलरोटी, यमरी, स्थानीय दुधजन्य उत्पादन) बेच्ने अवसर पाउँछन् । महोत्सवमा केराको परिकार विशेषगरी मःम र स्थानीय किसानले आफूले उत्पादन गरेको आलुबाट विभिन्न परिकार विशेषगरी चिप्सको अत्यधिक माग देखिन्छ । यसले खाद्य व्यवसायीलाई आफ्नो उत्पादनको विविधिकरण गर्न प्रोत्साहन दिन्छ, जसले गर्दा उनीहरूको व्यापार विस्तार हुन्छ । बागटार हाटबजारमा पनि नियमित रूपमा खाद्य सामग्री बिक्री हुँदा स्थानीय व्यापारीले थप स्टक राख्न थालेका छन् । परिणामस्वरूप, यस क्षेत्रमा २०-३० प्रतिशत व्यापार वृद्धि भएको देखिन्छ । लत्ताकपडा व्यवसायमा पनि प्रभाव स्पष्ट छ । महोत्सवमा स्थानीय हस्तकला र कपडाका कक्षले आकर्षण बढाउँछन् जसले गर्दा व्यापारीले नयाँ डिजाइन र उत्पादन थप्छन् । तामाङ समुदायका परम्परागत कपडाको बिक्री बढ्दा व्यवसायीले थप सप्लाई चेन विकास गर्न सक्ने देखिन्छ । यसैगरी, खेलौना र भाँडावर्तनको व्यवसायमा पनि वृद्धि भएको छ । महोत्सवमा बालबालिकाका लागि खेलौना स्टल र घरायसी भाँडावर्तनको प्रदर्शनले माग बढाउँछ । स्थानीय कालिगढले आफ्ना हस्तनिर्मित खेलौना र भाँडा बेच्दा उनीहरूको उत्पादन क्षमता बढ्छ, जसले दीर्घकालीन व्यापार विस्तार गर्छ । आर्थिक रूपमा यी क्षेत्रहरूमा महोत्सवले २५-४० प्रतिशतसम्म कारोबार बढाउने गरेको छ ।

तेस्रो, बजार प्रवद्र्धनको दृष्टिकोणबाट हेर्दा, महोत्सवले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम गरेको देखिन्छ । नुवाकोट महोत्सवमा विभिन्न स्टलबाट स्थानीय उत्पादनहरू प्रदर्शन भए, जसमा काठमाडौंबाट आएका पर्यटकले भाग लिए । यसले नुवाकोटलाई पर्यटन गन्तव्यको रूपमा प्रवद्र्धन ग¥यो । पर्यटन प्रवद्र्धनबाट होटेल, यातायात र अन्य सेवामा रोजगारी सिर्जना हुन्छ, जसले अप्रत्यक्ष रूपमा किसानको उत्पादनको माग बढाउँछ । बागटार हाटबजार पनि यसै प्रकारको प्रवद्र्धक हो, जसले नियमित रूपमा सञ्चालन हुँदा स्थानीय उत्पादनको ब्रान्ड स्थापित गर्छ । यसबाट किसानहरूले आफ्ना उत्पादनका लागि स्थिर बजार पाउँछन्, जसले उत्पादनको निरन्तरता सुनिश्चित गर्छ । आर्थिक सन्दर्भमा यस्ता क्रियाकलापले स्थानीय कुल गार्हस्थ्य उत्पादनमा योगदान दिन्छ ।

नेपालका सन्दर्भमा संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार महोत्सवले वार्षिक रूपमा करोडौँ रुपैयाँको कारोबार गर्छन्, जसको केही हिस्सा किसान, स्थानीय व्यापारीको भागमा जान्छ । यस्ता मेला, महोत्सव, हाटबजारजस्ता क्रियाकलापको आर्थिक भूमिकालाई थप गहिराइमा हेर्दा, तिनीहरूले आंशिक भए पनि केही थप रोजगारी सिर्जना गर्छन् । नुवाकोट महोत्सवमा कक्ष सञ्चालन, सुरक्षा व्यवस्था, खाद्य कक्ष र सांस्कृतिक कार्यक्रमबाट सयौँ युवाले अस्थायी रोजगारी पाए । यसले जिल्लाको बेरोजगारी घटाउन केही भूमिका पक्कै खेलेको छ । बागटार हाटबजारमा पनि नियमित रूपमा बिक्रेता, यातायातकर्ता र सहयोगीले काम पाए । यसबाट ग्रामीण क्षेत्रको आकर्षण केही हदसम्म बढ्ने अनुमान गर्न सकिन्छ । आर्थिक रूपमा, रोजगारी सिर्जनाले उपभोग बढाउँछ, जसले स्थानीय बजारलाई बलियो बनाउँछ । यसैगरी, महोत्सवले सांस्कृतिक संरक्षणमा पनि योगदान दिन्छन्, स्थानीयको पञ्चेबाजा समूह, धा बाजा, धिमे बाजा, खैँचडी भजन समूह, स्थानीय कलाकारको प्रदर्शनजस्ता पक्ष जसले पर्यटकलाई आकर्षित गर्दै आर्थिक लाभ पुर्याउँछ । यस्ता क्रियाकलापका चुनौती पनि छन् । मेला, महोत्सवमा प्लास्टिकजन्य सामानको अत्यधिक प्रयोग र फोहोर व्यवस्थान प्रभावकारी नहुँदा यसले प्रदूषण बढाउने, भिड व्यवस्थापन र गुणस्तर नियन्त्रणजस्ता समस्या हुन सक्छन् । हाटबजारजस्ता नियमित बजारमा मौसमी प्रभाव र प्रतिस्पर्धा बढ्दा मूल्य घट्ने जोखिम हुन्छ । अर्कातिर केही आलोचकका अनुसार महोत्सव विदुरमा मात्र सीमित हुँदा जिल्लाभरि यसको प्रभाव नपुगेको र आयोजकको ध्यान पैसा असुलीमा मात्र केन्द्रित हुने गरेको भन्ने गुनासो सुनिन्छ । यी चुनौतीलाई सम्बोधन गर्न सरकारी नीति र स्थानीय सङ्घ–संस्थाको सहयोग आवश्यक छ । विदुर नगरपालिकाले हाटबजारमा पूर्वाधार विकासमा लगानी बढाउन सक्छ, जसले यसलाई थप प्रभावकारी बनाउन सकिन्छ ।

विदुर-१०, गेर्खुटार, नुवाकोट

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह