+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ : गृहमन्त्री

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ : गृहमन्त्री
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित हुने बताउनुभएको छ ।

निर्वाचन सुरक्षासम्बन्धी अनुगमनका क्रममा शनिबार नुवाकोट र धादिङ आइपुग्नुभएका गृहमन्त्री अर्यालले दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीसँगको अन्तक्रियामा शान्तिसुरक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । उहाँले संविधान सही दिशामा लैजानका लागि निर्वाचन अपरिहार्य भएकाले वर्तमान अन्तरिम सरकारले निर्वाचनको मिति तय गरेको स्पष्ट पार्दै भन्नुभयो, ‘सरकारले यो निर्वाचनलाई पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनेछ ।’ गृहमन्त्री अर्यालले विगतमा दलीय सरकारले सञ्चालन गरेका निर्वाचनको तुलनामा यो निर्वाचन अझ व्यवस्थित, सुदृढ र विश्वसनीय हुने दाबी गर्नुभयो । ‘यदि कतै गडबडी भएको पाइएमा त्यस्तो निर्वाचनलाई मान्यता दिइनेछैन । आवश्यक परेमा उक्त क्षेत्रको निर्वाचन रद्द गरी पुनः निर्वाचन गराइनेछ,’ उहाँले भन्नुभयो । मतदाताले कुनै पनि किसिमको दबाब वा भयविनै आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न सक्ने वातावरण सुनिश्चित गरिएको उल्लेख गर्दै उहाँले मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो । ‘निष्पक्षता, पारदर्शिता र राजनीतिक सुशासन सुनिश्चित हुने गरी निर्वाचन सम्पन्न गराउने हाम्रो प्रतिबद्धता हो,’ गृहमन्त्री अर्यालले बताउनुभयो ।

नुवाकोटको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शनिबार आयोजित निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनको अवस्थाको सम्बन्धमा जानकारी लिएपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले मौसम र सुरक्षाको कारण निर्वाचनलाई कुनै असर नपर्ने विश्वास दिलाउनुभयो । ‘मौसमको पूर्वानुमान गर्ने निकाय र विज्ञबाट फागुन २१ मा मौसम अनुकूल हुने जानकारी पाएका छौँ । सुरक्षाको दृष्टिकोणले शान्तिपूर्ण वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध भएका छौँ,’ उहाँले भन्नुभयो, ‘देशभर एकै चरणमा शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित वातावरणमा आगामी फागुन २१ को निर्वाचन विगतको भन्दा उत्कृष्ट हुनेछ ।’ देश अहिले निर्वाचनको माहोलमा होमिएकाले निर्वाचन सबै नेपालीको साझा चाहना भएको उहाँको भनाइ थियो । अहिलेको सरकार चुनाव गराउन भएकाले अधिकतम मतदाताको सहभागितामा चुनाव सम्पन्न गर्न सोहीअनुसार माहोल तयार गर्दै आइरहेको मन्त्री अर्यालले जानकारी दिनुभयो । त्यसका लागि उम्मेदवारी दर्तापश्चात् दल र उम्मेदवार मतदातासमक्ष मत माग्न पुगेको र मतदाता पनि उत्साहित भइरहेकाले सौहार्दपूर्ण वातावरणमा सबैको सहयोगमा चुनाव हुनेमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो ।

जेन-जी आन्दोलनपश्चात् लुटिएका हतियार र फरार भएका कैदीबन्दी अधिकांश फिर्ताको क्रममा रहेकाले त्यसको कारण चुनावमा कुनै असर नपर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘अहिलेको सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रूपमा चुनाव सम्पन्न गराउन सोहीअनुसारको व्यवहार र आचरणमा रहेको छ,’ गृहमन्त्री अर्यालले भन्नुभयो, ‘शान्तिसुरक्षा कायम गर्न र निर्वाचन आचारसंहिताको पालना गर्दै सौहार्दपूर्ण वातावरण बनाउन सबै पक्षको भूमिका महत्त्वपूर्ण छ ।’ नुवाकोट आगमनको क्रममा उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्लाको सुरक्षा निकायका प्रमुखसँगको छलफलमा यहाँको सुरक्षा अवस्थाको जानकारी, निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्था र निर्वाचन प्रहरीको तालिमसमेत अवलोकन गर्नुभएको थियो ।

त्यसैदिन गृहमन्त्री अर्यालले आगामी फागुन २१ मा हुन लागिरहेको निर्वाचनमा ‘निर्वाचन प्रहरी’को भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । नुवाकोटमा निर्वाचन सुरक्षा एवम् निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्था बुझ्न शनिबार जिल्ला आउनुभएका अर्यालले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन निर्वाचन प्रहरीको भूमिका प्रमुख सुरक्षा निकायसरह रहने बताउनुभएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा चलिरहेको निर्वाचन प्रहरीको तालिम अवलोकनपश्चात् उहाँले भन्नुभयो, ‘स्वयंसेवकको रूपमा हुने जिम्मेवारी भए पनि निर्वाचन प्रहरीको व्यवहार, कार्यशैली र आचरणबाट मतदातालाई संयमित र जिम्मेवार बनाउन सहयोग पुग्दछ ।’ निर्वाचन प्रहरीको कार्यशैली असल भएमा स्वच्छ वातावरणमा निष्पक्ष रूपमा निर्वाचन गराउन सहयोग पुग्ने भएकाले जिम्मेवार भई उच्च मनोबलको साथ सेवा पुर्याउन गृहमन्त्री अर्यालले निर्देशन दिनुभयो ।

तालिम अवलोकनको क्रममा गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीलाई ऐतिहासिक अवसरको रूपमा लिन निर्वाचन प्रहरीलाई आग्रह गर्नुभयो । निर्वाचनमा सबैभन्दा अग्रपङ्क्तिमा रहेर मतदाताको लाइन व्यवस्थापनमा सहयोग पुर्याउनेसहित तोकिएका थप जिम्मेवारी पूरा गर्ने क्रममा दबाब र प्रभावमा नपरी सांगठनिक अनुशासन कायम राख्न उहाँले स्मरण गराउनुभयो । सरकारले निर्वाचन प्रहरीलाई नेपाल प्रहरीसरह सेवा र सुविधा उपलब्ध गराई ४० कार्यदिनका लागि यही साता नियुक्ति दिएर तालिम सञ्चालन गर्दै आएको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरीले देशभर एक लाख ३३ हजारभन्दा बढी र सशस्त्र प्रहरी बलले करिब १५ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह