+
Search

ताजा अपडेट +

पपुलर +

जीवनदर्शन : मार्गदर्शन-२

जीवनदर्शन : मार्गदर्शन-२
त्रिशूली प्रवाह
३ दिन अगाडी

ॐ श्री परमात्मने नमः ॐ श्री गुरुभ्यो नमः
स्वास्थ्यम् सर्वदा योगेन । ।

आत्माको धर्ती आगमन
हाम्रो आत्मा धर्तीमा तीन किसिमले आएको हुन्छ । एउटा खनिज हुँदै पशु योनि र मनुष्य योनि हुँदै फेरि ईश्वरसँग जानका लागि अगाडि बढिरहन्छ । अर्को, धर्तीमा केही सिक्नका लागि दिव्य आत्मा आएका हुन्छन् । किनभने विभिन्न ग्रहमा बसेको सूक्ष्म आत्मा सिकाइका लागि आउँछन् । उहाँहरू यहाँ साधना गर्न आउनुहुन्छ । यो आत्माको मुख्य काम यहाँको अनुभव, सुख, दुःख लिन आइरहेका हुन्छन् । गरिबी, दुःख, सुख विभिन्न कुरा अनुभव गर्दै साधना गर्दै पुनः आफ्नै घर फर्किन्छन् । आत्मासँग एउटा स्वतन्त्र इच्छा पठाएका हुन्छन् । जब ऊ तमो र रजो गुणमा आउँछ तब ऊ भ्रममा पर्छ । उसले जुन शरीरमा बसेर कर्म गर्छ, त्यसको भोग उसले पुनः गर्नुपर्ने हुन्छ । यहाँ आएर आफूलाई अनुशासनहीन बनाएर कर्म गर्दा उसले त्यसको दशगुना बढी भोग्नुपर्छ । हामीले जस्तो किसिमको कर्म गयौँ, त्यहीअनुसार हामी बारम्बार यस धर्तीमा जन्म लिनुपर्छ । तर, भाग्यमानीले मात्रै साधना गरेर आफ्नो मूल स्वरूपमा फर्कन सक्छ ।

कुनै ग्रहबाट केही सिक्न आउने दिव्य हुन्छन्, बाल्यकालमै वेद पढ्ने, ज्ञानी, ध्यानी हुन्छन् । सूक्ष्म शरीरबाट यहाँ आउनेहरू अनुभव गर्न, साधना गर्न, केही कुरा सिक्न आउँछन् । अर्को, पुण्य आत्माबाट तल झरेर पृथ्वी आउने हुन्छन् । खनिज, वनस्पति, पशु हुँदै मनुष्य आत्मा जुन योनिबाट आएका छन्, त्यही स्वभाव आउने गर्छ । जस्तै बिरालो योनिबाट आएको बिरालोसरह स्वभाव देखाउँछ । यस्ता आत्मा अज्ञानमा हुन्छ र ज्ञानमा त्यति चासो दिँदैनन् । अनि अँध्यारोमै बाँची अँध्यारोमा नै मर्छन् । यिनीहरू तमोगुण अवस्थामा हुने भएकाले खोसेर पनि खाने गर्छन् । आफ्नो जीविका चलाउन हत्यासमेत गर्न सक्ने स्वभावका हुन्छन् । उनीहरूमा सही र गलत छुट्याउन सक्ने सम्भावना एकदमै कम हुन्छ ।

अर्काथरीमा अलिकति रजोगुण प्रधान हुन्छ । मानसम्मान, पद, प्रतिष्ठाको पछाडि जान्छ । अलिकति सही गलत छुट्याउने त हुन्छ, तर मानसम्मानकै पछाडि जान्छ । आफ्नो अहङ्कारको सन्तुष्टिका लागि दौडिरहन्छ । त्यस्ता व्यक्ति आफ्नो फाइदाको लागि गलत निर्णय लिनसमेत पछि पर्दैनन् । उनीहरूमा रजोतमो गुण दुवै हाबी हुन्छ । तर, उसले १० प्रतिशत मात्रै साधना गरे पनि तमोगुण आत्मालाई कृपा हुन सक्छ । सयौं-हजारौँचोटि जन्म-मरणको चक्करबाट मुक्त हुन सक्छ । जब तमो गुण र रजो गुण भएका व्यक्तिले साधना र सात्विक भोजनद्वारा आफ्नो शरीर शुद्ध बनाउँछन् र यस नियमको पालना गर्न थाल्छन् तब ऊ साधना मार्गमा अगाडि बढ्छ । उसलाई म को हुँ ? धर्तीमा जन्म लिनुको मेरो उद्देश्य के हो ? भन्ने कुराको बोध हुन थाल्छ । सत्वगुण प्रदान भए पनि उसले धेरै जन्म अज्ञानतामा बिताइरहन्छ । साधना मार्गमा आएपछि धेरै सतर्क भएर अगाडि बढ्नुपर्छ । जब ऊ तमोरजो गुणबाट विक्षिप्त अवस्थामा आउँछ । उसमा साधना घटित हुन थाल्छ । मुख्य गरेर भक्तियोग, ज्ञानयोग, कर्मयोग र राजयोग ।

ईश्वर को हुन् ?
सत्स-दा रहने, चित-सदा चेतन स्वरूप, आनन्द-सदा आनन्द स्वरूप, अर्थात् परमानन्द स्वरूप । हामी चैतन्य आत्मा हौँ । हाम्रो आत्मा पनि ईश्वरको नै प्रतिविम्बमा छ । ईश्वरमा जे गुण छ, हामी पनि त्यही गुण सत् चित् आनन्द स्वरूपमा छौँ । हामी ईश्वरको सन्तान, ईश्वरबाट नै छुट्टिएर पृथ्वीमा तीन शरीरमा बन्धक भएका हौँ । हामीले चित्तमा घृणा, क्रोध भरेर आत्मालाई बेचैनीले भर्न हुन्न । ईश्वर सदा सर्वदा आनन्द अवस्थामा रहनुहुन्छ । त्यसैले हामी आनन्दबाट आएको आनन्दमा नै रहन साधना र निष्काम सेवामा होमिनुपर्छ । जसरी एउटा हिराको टुक्रा हिलोमा खसेर जति हिलो लागे पनि सफा गर्दा पहिले जस्तै चम्किन सक्छ, त्यसरी नै साधनाबाट चित्तका सारा क्लेश हटाई परम आनन्दमा नै विलिन हुनुपर्छ ।

योग र हाम्रो लक्ष्य
योग शब्दको अर्थ जोड्नु हुन्छ । ईश्वरीय चेतना मानवीय चेतनामा झरेको छ । यदि हामी आशक्ति, क्रोध, राग, द्वेष, घृणाको जिन्दगी बाँच्दछौँ भने संसारको दुःख र भवचक्रमा घुमिरहन्छौँ । यदि हामी कसैलाई घृणा गर्दछौँ भने हामी भौतिक दुनियाँमा हुन्छौँ, तर क्षमा दिन सक्छौँ भने ईश्वरीय चेतनामा रहन्छौँ । तल झरेको चेतनालाई साधनबाट माथि उठाई परम् आत्मासँगको मेल वा जोडलाई योग भनिन्छ । योगले मानवीय चेतनाको अधिकतम विकास गरी सम्पूर्ण जगत्को रहस्य सिकाउँदै आनन्दको उच्चतम अनुभूति गराउँछ । मनको प्रमोशन गर्ने उपाय नै योग हो । संसारमा सङ्गत गर्दा अज्ञानका अवस्थामा हाम्रो चित्तमा जमेका सारा क्लेशहरू नाश गरी आफ्नो मूल स्वरूपमा फर्कने वा अवस्थित रहने वा परमानन्द स्वरूपमा रहने नै हाम्रो मूल लक्ष्य हुनुपर्छ । चित्तमा अनेकन् संसारका काम, क्रोधका विकाररूपी विचार चलेसम्म हामी आफ्नो स्वरूपमा फर्कन सक्दैनौँ । पतञ्जली ऋषिका अनुसार चित्तका वृत्ति निरोध गर्दै आफ्नो स्वरूपमा फर्कनु वा तदाः द्रष्टुःस्वरूपेकवश्थानम् वा मोक्ष पनि भनिन्छ । यस निर्विचार अवस्थामा ईश्वरसँग एकाकार रहन सक्छौँ र परमानन्दमा रहन सक्छौँ ।

हामी कसरी फसिरहेका छौँ
हामी त्यो हराइरहेको आनन्द चाहन्छौँ, तर त्यो आनन्द, मायाको पर्दा (अज्ञान) ले चेतना ढाकिदिएकाले ईश्वर वा आनन्द अनुभूति हुँदैन र इन्द्रियको सुखबाहिरको भोग्य विषयमा खोजिरहेछौँ । बाहिरको भौतिक प्रगति, पैसा, पद र प्रतिष्ठामा भुलिरहेका छौँ र धर्ती छाड्दा गहिरो पीडामा वा आफू को हुँ भन्ने छनकसमेत नपाई प्राण त्याग गर्छौँ । माया सत्व, रज र तम त्रिगुणले बनेको छ । जसले हामीलाई संंसारको दुःखमा फसाइदिएको छ, जसरी माछा बल्छीमा फसेको छ र हामीलाई मृत्युमण्डल वा जन्म-मरणको चक्करमा फसाइदिएको छ । अनादिकालदेखि मायाले बाँधिएको, आफ्नो स्वरूप भुली आफूलाई देह ठानिरहेछौँ । देहमा रहेको इन्द्रिय सुख प्राप्तिका लागि संसारतर्पm टाँसिएको छ । क्लेशहरू थपिएका छन् । भगवान्सँग विमुख रहँदा मायाले आफ्नो पकडमा पारेको जीव जो भौतिक दुनियाँमा त्रिगुणको चङ्गुलमा फसेको छ । ८४ लाख योनिमा घुमिरहेछ । शुद्ध ज्ञानीहरू चेतन जीव विस्तारै प्रदूषित भई अज्ञानी बनी घोर अन्धकारमा परिरहेका छन् । त्रयतापको चङ्गुलमा फसेका छन् । (लेखक पातञ्जल योग समिति नेपाल, प्रशिक्षण विभागका प्रमुख प्रशिक्षक हुनुहुन्छ ।)

विदुर-४, बट्टार, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह