ॐ श्री परमात्मने नमः ॐ श्री गुरुभ्यो नमः
स्वास्थ्यम् सर्वदा योगेन ।
शरीर के हो
दुर्लभं त्रयमेवैतद् देवानुग्रहहेतुकम् । मनुष्यत्वं मुमुक्षुत्व महापुरुषसंश्रयः । ।
शरीर नै धर्मकर्म गर्ने साधन हो । भगवत् कृपाबाटै यी तीन मनुष्य शरीर, मुमुक्षुत्व र महापुरुषको सङ्गतको अति दुर्लभ अवसर मिल्छन् । यी तीन अवसर प्राप्त गर्न कठिन छ, तर हामी कति भाग्यशाली रहेछौँ, जति ईश्वरप्रति श्रद्धा, भक्ति, विश्वास भयो त्यति यी तीनैवटा दुर्लभ अवसर ईश्वर कृपाबाट एकैपटक प्राप्त गर्न सक्नेछौँ । मानवजीवन परमात्माको एक अप्राप्य अति दुर्लभ दिव्य ‘उपहार’ हो र धर्म–कर्म गरी मोक्षमा चल्ने साधन हो । यसलाई पवित्र निर्मल बनाई दिव्य कर्म गर्न दिइएको ईश्वरको वरदान हो जसलाई प्राप्त गर्नका लागि देवताहरूसमेत प्रार्थना गर्दछन् । पूर्वजन्ममा गरिएका सञ्चित कार्य कर्मको प्रतिफल हो । मानवजीवन सारै महत्त्वपूर्ण छ । प्रत्येक पल मृत्युतर्फ बढिरहेको छ । लास बन्नुअघि निष्काम कर्मयोग गर्दै मुक्ति मार्गमा बढ्नुपर्छ । अलि मिहिनेत र त्याग गरियो भने ब्रह्म स्वरूपमा पुग्न यो शरीर प्रयोग हुन सक्छ ।
स्वस्थ कसलाई भनिन्छ
स्वमा स्थित अथवा आफ्नो मूल स्वरूप ब्रह्ममा अवस्थित अवस्थालाई स्वस्थ भनिन्छ । जुन सत् चित् आनन्द (सदा आनन्द) अवस्थामा हुन्छ जसलाई संसारको कुनै पनि दुःखले छुन सक्दैन । जुन व्याधिरहित अवस्था हो भने त्रयतापभन्दा माथि हुन्छ । यो वेला विचारशून्य अवस्था वा योगश्चित्तवृत्तिःनिरोधः अर्थात् विचाररूपी तरङ्ग एवम् चित्तमास्थित रागादियुक्त बासना जब निरोध हुन्छन्, त्यो अवस्थालाई नै स्वस्थ वा ईश्वरसँग एकाकार भएको अवस्थालाई योग भनिन्छ । जब अहङ्कार वा अज्ञानरूपी क्लेशको पर्दा (मायाको पर्दाले) सांसारिक विषयमा हाम्रो मन भुल्दा हाम्रो चित्तमा अनेक विचार चल्न थाल्छ र चेतना ढाकिदिन्छ । त्यो वेलामा हामी आफ्नो स्वरूपबाट टाढा भएका हुन्छौँ । त्यही वेलामा अस्वस्थ हुन्छौँ । संसारका त्रयतापले हामीलाई सताउँछ र हाम्रो ईश्वरीय चेतना पशु वा दानवीय चेतनामा झर्न थाल्छ ।
आफ्नो मूल स्वरूपमा कसरी फर्कने
अभ्यास (प्रयास) गर्नु साधना हो । जसमा भगवान् श्री कृष्ण, महर्षि पतञ्जली, गोरखनाथ बाबाले हामीलाई साधनाबाट नै सारा क्लेशहरू हटाउन ज्ञान दिनुभएको छ । ती ज्ञानको प्रयोगबाट नै सारा क्लेशहरू डढ्न थाल्छन् । तल खसेको त्यो दिव्य चेतना पुनः माथि आउँछ । मन शान्त, शरीर स्थिर छ भने ईश्वर अनुभूति हुन थाल्छ, अनि हामी ईश्वर प्रेमविना रहन सक्दैनौँ । प्रार्थनापूर्ण जीवनमा शक्ति छ । वास्तवमा हाम्रो स्वभाव ईश्वरीय छ । ईश्वरसँग जोडिन सक्दा परम् आनन्द आउँछ । सांसारिक कार्यमा जति आँसु बगाउँछौँ, त्यो भाव ईश्वरप्रति हुन सके प्रबल इच्छाबाट ईश्वर दर्शन हुन सक्छ । संसारमा मुछिएका सारा आनन्द पर हुन्छ । हरदिन जे हुन्छ, परमात्माको इच्छाले हुन्छ । नराम्रो घटना पनि सिकाउनकै लागि ईश्वरको कृपा सम्झन सक्नुपर्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वस्थ भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ हुनु हो । यो सबैको प्राप्तिको आधार नै योगमार्ग हो । मनको अत्यधिक बेचैनी वा संस्कारबाट शरीरमा रोग उत्पन्न हुने प्रक्रियालाई रोगका प्रसव भनिन्छ भने रोग तथा मनका विकारहरूबाट मुक्त भई आफ्नो स्वरूप वा आनन्दमा फर्कनु प्रतिप्रसव हो । ईश्वरसँग मिल्नु छ, तर मायाको पर्दाको कारणले मन लाग्दैन । संसार भनेको ज्वारभाटाजस्तै छ । त्यसर्थ, संसारका केही कुरामा पनि आशक्ति नराखी समभावलाई बलियो बनाउँदै जानुपर्छ । पूर्ण समर्पण हुन सकिए जीवन बाँच्ने आवश्यकता क्रमशः पूरा हुँदै जानेछन् ।
माया वा अहङ्कार कसरी हटाउने
भगवान्ले सधैभर मृत्युमण्डलमा नफसुन् भनेर साधनामार्ग दिनुभएको छ । गीता, वेद वेदान्त, योगदर्शन दिनुभएको छ । यी नै ज्ञान गुरुका माध्यमबाट आफ्नो स्वरूपमा फर्कन प्रयास गर्ने हो । तर, अहिले मानिसहरू जहाँ गुलियो त्यहीँ भुलियोको अवस्थामा छन् । माछा बल्छीमा, किरा बत्तीमा फसेजस्तै अज्ञानमा संसारको भोग्य विषयमा फस्दा मूल लक्ष्यलाई बिर्सिएर अनेकौँ कष्ट भोगिरहेका छन् । मायाको शक्तिले भोगमा फसाउँछ । मानिस पशुचेतनामा जन्म लिँदै ८४ योनिमा नै घुमिरहन्छ । छोडेर जाने धनको आशक्तिमा लागिरहन्छ र दानव र पशु चेतनामा नै रुमलिरहन्छ । यस्ता विषयलाई छोडेर मानव चेतनामा अवस्थित रही साधना गरेमा मुक्ति हुन्छ । आफ्नो स्वरूपमा फर्कनु नै जीवनको लक्ष्य हो । यसका लागि गुरुको शरणमा गई ज्ञान लिनु आवश्यक छ । श्रद्धा, भक्ति र समर्पणका साथ साधना गर्नुपर्छ ।
सांसारिक चेतनामा सत्वगुण प्रधान भए केही ज्ञान हुन्छ र साधनामा अघि बढ्न प्रेरणा मिल्दछ । गुरुको शरणमा गई योग साधना अर्थात् निरन्तर यम नियमका अनुशासनका भ¥याङहरू पालन गर्दै अष्टाङ्ग योग वा राज योग–धारणा, ध्यान र समाधिबाट अज्ञानका पर्दा हट्न गई हाम्रो गुमेको चेतनाको पर्दा हटी ज्ञान खुल्दछ । उच्च चेतनाले सेवा गर्ने वा निष्काम सेवाबाट हाम्रा कैयन जन्मदेखिका क्लेशहरू वा संस्कारबीजहरू डढाउन सकिन्छ । तर, सत्वगुणमा उक्लन सात्विक भोजन, सत्संग र सदाचारी जीवनशैली चाहिन्छ ।
अज्ञानवस्थामा कर्म गरिए के हुन्छ
अहङ्कारको कारणले कर्मफलमा आशक्ति बढेको अवस्थामा शरीर, मनको चेतना कमजोर रहन्छ । लक्ष्यहीन बन्दछ । विकार हटाई कर्म गर्न सकेन भने संस्कारबीज वा चित्तका क्लेशहरू झन्झन् बढ्छ । मनमा क्रोध, अहङ्कार, लोभजस्ता दुर्गुण नै जगाई कर्म गरिरह्यौँ भने कैयन पुण्यबाट बल्ल प्राप्त मुनष्य जीवन फेरि उही दलदलमा नै फस्न पुग्दछ । अर्थात् भवचक्रमा नै अल्झिरहन्छ । शरीरको रचनाबारे बेखबर भएकाले हामी यी विकारहरूलाई भण्डारण गरेर शरीरलाई अपवित्र तुल्याउँछौँ । दूषित तुल्याउँछौँ । जसरी वायुमण्डल दूषित भएपछि त्यसले अनेक समस्या निम्त्याउँछ, त्यसैगरी शरीरभित्रका दूषित भावनाले पनि शरीरलाई रोगी एवम् जीर्ण बनाउँछ । माटोमा उब्जिएको शरीर माटोमा नै विलय भएर जान्छ । यो कुरालाई हामीले बोध गयौँ भने यो पवित्र शरीरभित्र अहङ्कार, दम्भ, लोभ, रिसजस्ता विकारहरू पालेर राख्ने छैनौं । (लेखक पातञ्जल योग समिति नेपालका प्रशिक्षण विभागका प्रमुख प्रशिक्षक हुनुहुन्छ ।)
विदुर–४ बट्टार, नुवाकोट






प्रतिक्रिया