+
Search

ताजा अपडेट +

पपुलर +

जीवनदर्शन : मार्गदर्शन-३

जीवनदर्शन : मार्गदर्शन-३
त्रिशूली प्रवाह
१ दिन अगाडी

ॐ श्री परमात्मने नमः ॐ श्री गुरुभ्यो नमः
स्वास्थ्यम् सर्वदा योगेन ।
 
शरीर के हो

दुर्लभं त्रयमेवैतद् देवानुग्रहहेतुकम् । मनुष्यत्वं मुमुक्षुत्व महापुरुषसंश्रयः । ।
शरीर नै धर्मकर्म गर्ने साधन हो । भगवत् कृपाबाटै यी तीन मनुष्य शरीर, मुमुक्षुत्व र महापुरुषको सङ्गतको अति दुर्लभ अवसर मिल्छन् । यी तीन अवसर प्राप्त गर्न कठिन छ, तर हामी कति भाग्यशाली रहेछौँ, जति ईश्वरप्रति श्रद्धा, भक्ति, विश्वास भयो त्यति यी तीनैवटा दुर्लभ अवसर ईश्वर कृपाबाट एकैपटक प्राप्त गर्न सक्नेछौँ । मानवजीवन परमात्माको एक अप्राप्य अति दुर्लभ दिव्य ‘उपहार’ हो र धर्म–कर्म गरी मोक्षमा चल्ने साधन हो । यसलाई पवित्र निर्मल बनाई दिव्य कर्म गर्न दिइएको ईश्वरको वरदान हो जसलाई प्राप्त गर्नका लागि देवताहरूसमेत प्रार्थना गर्दछन् । पूर्वजन्ममा गरिएका सञ्चित कार्य कर्मको प्रतिफल हो । मानवजीवन सारै महत्त्वपूर्ण छ । प्रत्येक पल मृत्युतर्फ बढिरहेको छ । लास बन्नुअघि निष्काम कर्मयोग गर्दै मुक्ति मार्गमा बढ्नुपर्छ । अलि मिहिनेत र त्याग गरियो भने ब्रह्म स्वरूपमा पुग्न यो शरीर प्रयोग हुन सक्छ ।

स्वस्थ कसलाई भनिन्छ
स्वमा स्थित अथवा आफ्नो मूल स्वरूप ब्रह्ममा अवस्थित अवस्थालाई स्वस्थ भनिन्छ । जुन सत् चित् आनन्द (सदा आनन्द) अवस्थामा हुन्छ जसलाई संसारको कुनै पनि दुःखले छुन सक्दैन । जुन व्याधिरहित अवस्था हो भने त्रयतापभन्दा माथि हुन्छ । यो वेला विचारशून्य अवस्था वा योगश्चित्तवृत्तिःनिरोधः अर्थात् विचाररूपी तरङ्ग एवम् चित्तमास्थित रागादियुक्त बासना जब निरोध हुन्छन्, त्यो अवस्थालाई नै स्वस्थ वा ईश्वरसँग एकाकार भएको अवस्थालाई योग भनिन्छ । जब अहङ्कार वा अज्ञानरूपी क्लेशको पर्दा (मायाको पर्दाले) सांसारिक विषयमा हाम्रो मन भुल्दा हाम्रो चित्तमा अनेक विचार चल्न थाल्छ र चेतना ढाकिदिन्छ । त्यो वेलामा हामी आफ्नो स्वरूपबाट टाढा भएका हुन्छौँ । त्यही वेलामा अस्वस्थ हुन्छौँ । संसारका त्रयतापले हामीलाई सताउँछ र हाम्रो ईश्वरीय चेतना पशु वा दानवीय चेतनामा झर्न थाल्छ ।

आफ्नो मूल स्वरूपमा कसरी फर्कने
अभ्यास (प्रयास) गर्नु साधना हो । जसमा भगवान् श्री कृष्ण, महर्षि पतञ्जली, गोरखनाथ बाबाले हामीलाई साधनाबाट नै सारा क्लेशहरू हटाउन ज्ञान दिनुभएको छ । ती ज्ञानको प्रयोगबाट नै सारा क्लेशहरू डढ्न थाल्छन् । तल खसेको त्यो दिव्य चेतना पुनः माथि आउँछ । मन शान्त, शरीर स्थिर छ भने ईश्वर अनुभूति हुन थाल्छ, अनि हामी ईश्वर प्रेमविना रहन सक्दैनौँ । प्रार्थनापूर्ण जीवनमा शक्ति छ । वास्तवमा हाम्रो स्वभाव ईश्वरीय छ । ईश्वरसँग जोडिन सक्दा परम् आनन्द आउँछ । सांसारिक कार्यमा जति आँसु बगाउँछौँ, त्यो भाव ईश्वरप्रति हुन सके प्रबल इच्छाबाट ईश्वर दर्शन हुन सक्छ । संसारमा मुछिएका सारा आनन्द पर हुन्छ । हरदिन जे हुन्छ, परमात्माको इच्छाले हुन्छ । नराम्रो घटना पनि सिकाउनकै लागि ईश्वरको कृपा सम्झन सक्नुपर्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वस्थ भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ हुनु हो । यो सबैको प्राप्तिको आधार नै योगमार्ग हो । मनको अत्यधिक बेचैनी वा संस्कारबाट शरीरमा रोग उत्पन्न हुने प्रक्रियालाई रोगका प्रसव भनिन्छ भने रोग तथा मनका विकारहरूबाट मुक्त भई आफ्नो स्वरूप वा आनन्दमा फर्कनु प्रतिप्रसव हो । ईश्वरसँग मिल्नु छ, तर मायाको पर्दाको कारणले मन लाग्दैन । संसार भनेको ज्वारभाटाजस्तै छ । त्यसर्थ, संसारका केही कुरामा पनि आशक्ति नराखी समभावलाई बलियो बनाउँदै जानुपर्छ । पूर्ण समर्पण हुन सकिए जीवन बाँच्ने आवश्यकता क्रमशः पूरा हुँदै जानेछन् ।

माया वा अहङ्कार कसरी हटाउने
भगवान्ले सधैभर मृत्युमण्डलमा नफसुन् भनेर साधनामार्ग दिनुभएको छ । गीता, वेद वेदान्त, योगदर्शन दिनुभएको छ । यी नै ज्ञान गुरुका माध्यमबाट आफ्नो स्वरूपमा फर्कन प्रयास गर्ने हो । तर, अहिले मानिसहरू जहाँ गुलियो त्यहीँ भुलियोको अवस्थामा छन् । माछा बल्छीमा, किरा बत्तीमा फसेजस्तै अज्ञानमा संसारको भोग्य विषयमा फस्दा मूल लक्ष्यलाई बिर्सिएर अनेकौँ कष्ट भोगिरहेका छन् । मायाको शक्तिले भोगमा फसाउँछ । मानिस पशुचेतनामा जन्म लिँदै ८४ योनिमा नै घुमिरहन्छ । छोडेर जाने धनको आशक्तिमा लागिरहन्छ र दानव र पशु चेतनामा नै रुमलिरहन्छ । यस्ता विषयलाई छोडेर मानव चेतनामा अवस्थित रही साधना गरेमा मुक्ति हुन्छ । आफ्नो स्वरूपमा फर्कनु नै जीवनको लक्ष्य हो । यसका लागि गुरुको शरणमा गई ज्ञान लिनु आवश्यक छ । श्रद्धा, भक्ति र समर्पणका साथ साधना गर्नुपर्छ ।

सांसारिक चेतनामा सत्वगुण प्रधान भए केही ज्ञान हुन्छ र साधनामा अघि बढ्न प्रेरणा मिल्दछ । गुरुको शरणमा गई योग साधना अर्थात् निरन्तर यम नियमका अनुशासनका भ¥याङहरू पालन गर्दै अष्टाङ्ग योग वा राज योग–धारणा, ध्यान र समाधिबाट अज्ञानका पर्दा हट्न गई हाम्रो गुमेको चेतनाको पर्दा हटी ज्ञान खुल्दछ । उच्च चेतनाले सेवा गर्ने वा निष्काम सेवाबाट हाम्रा कैयन जन्मदेखिका क्लेशहरू वा संस्कारबीजहरू डढाउन सकिन्छ । तर, सत्वगुणमा उक्लन सात्विक भोजन, सत्संग र सदाचारी जीवनशैली चाहिन्छ ।
अज्ञानवस्थामा कर्म गरिए के हुन्छ

अहङ्कारको कारणले कर्मफलमा आशक्ति बढेको अवस्थामा शरीर, मनको चेतना कमजोर रहन्छ । लक्ष्यहीन बन्दछ । विकार हटाई कर्म गर्न सकेन भने संस्कारबीज वा चित्तका क्लेशहरू झन्झन् बढ्छ । मनमा क्रोध, अहङ्कार, लोभजस्ता दुर्गुण नै जगाई कर्म गरिरह्यौँ भने कैयन पुण्यबाट बल्ल प्राप्त मुनष्य जीवन फेरि उही दलदलमा नै फस्न पुग्दछ । अर्थात् भवचक्रमा नै अल्झिरहन्छ । शरीरको रचनाबारे बेखबर भएकाले हामी यी विकारहरूलाई भण्डारण गरेर शरीरलाई अपवित्र तुल्याउँछौँ । दूषित तुल्याउँछौँ । जसरी वायुमण्डल दूषित भएपछि त्यसले अनेक समस्या निम्त्याउँछ, त्यसैगरी शरीरभित्रका दूषित भावनाले पनि शरीरलाई रोगी एवम् जीर्ण बनाउँछ । माटोमा उब्जिएको शरीर माटोमा नै विलय भएर जान्छ । यो कुरालाई हामीले बोध गयौँ भने यो पवित्र शरीरभित्र अहङ्कार, दम्भ, लोभ, रिसजस्ता विकारहरू पालेर राख्ने छैनौं (लेखक पातञ्जल योग समिति नेपालका प्रशिक्षण विभागका प्रमुख प्रशिक्षक हुनुहुन्छ ।)

विदुर–४ बट्टार, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह