विदुर । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोटका दुई क्षेत्रका लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ । गत हप्ता आयोगले जिल्लाको क्षेत्र नं. १ र २ मा उम्मेदवारी दिएका दल र स्वतन्त्र उम्मेदवारका लागि नमुना मतपत्रको प्रारूप सार्वजनिक गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी होमबहादुर थापामगरले जानकारी दिनुभयो ।

नमुना मतपत्रअनुसार नुवाकोटको क्षेत्र नम्बर १ मा कुल १८ उम्मेदवारको निर्वाचन चिह्न समावेश गरिएको छ । मतपत्रको पहिलो लहरको पहिलो नम्बरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को निर्वाचन चिह्न ‘सूर्य’ रहेको छ भने त्यसपछि क्रमशः नेपाली काङ्ग्रेसको ‘रूख’, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को ‘तारा’, राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घन्टी’ र राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘हलो’ चिह्न रहेको छ । त्यसैगरी, दोस्रो लहरको पहिलो नम्बरमा जनता समाजवादी पार्टी नेपालको ‘ढल्केको छाता’, नेपाल मजदुर किसान पार्टीको ‘मादल’, प्रगतिशील लोकतान्त्रिक पार्टीको ‘खुलेको एकल आँखा’, मङ्गोल नेसनल अर्गनाइजेसनको ‘कुखुराको भाले’, श्रम संस्कृति पार्टीको ‘अँजुलीमा रहेको माटो’ रहेको छ । त्यसैगरी, नमुना मतपत्रको तेस्रो लहरको पहिलो नम्बरमा मितेरी पार्टी नेपालको ‘घोडा’ र त्यसपछि क्रमशः नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को गोलो ‘घेराभित्र दुई पात भएको गुलाफको फूल’, उज्यालो नेपाल पार्टीको ‘बलिरहेको बिजुलीको चिम’, स्वतन्त्र उम्मेदवार चेपे तामाङको ‘क्यामरा’, स्वतन्त्र उम्मेदवार माधव थापाको ‘मुढा’ रहेको छ । त्यसैगरी, चौथो लहरको पहिलो नम्बरमा स्वतन्त्र उम्मेदवार राजु थापाको ‘ब्याडमिन्टन कर्क’ दोस्रोमा स्वतन्त्र उम्मेदवार रामेश्वर भण्डारीको ‘क्याप’ र तेस्रोमा स्वतन्त्र उम्मेदवार सञ्जीव गुरुङको ‘मसी’ रहेको छ । क्षेत्र नं. १ बाट १३ दल र पाँचजना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा ककनी, तादी, दुप्चेश्वर, पञ्चकन्या, लिखु, शिवपुरी, सूर्यगढी पालिका रहेका छन् । क्षेत्र नं. १ मा ६८ मतदानस्थल, एक सय ४४ मतदान केन्द्रको व्यवस्था गरिएको छ । यस क्षेत्रमा पुरुष मतदाता ६५ हजार तीन सय १२, महिला मतदाता ५८ हजार ६ सय १४ सहित कुल मतदाता एक लाख २३ हजार नौ सय २९ ले एकजना उम्मेदवारलाई विजय गराउनेछन् ।
त्यसैगरी, क्षेत्र नं. २ मा १२ दलका उम्मेदवार मात्र निर्वाचन प्रतिस्पर्धामा छन् । यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार शून्य रहेको छ । आयोगले सार्वजनिक गरेको मतपत्रको नमुनाअनुसार चार लहर रहेको छ । पहिलो लहरको पहिलो नम्बरमा एमालेको ‘सूर्य’, दोस्रोमा नेपाली काङ्ग्रेसको ‘रूख’ र तेस्रोमा नेकपाको ‘तारा’ छ । त्यसैगरी, दोस्रो लहरको पहिलो नम्बरमा रास्वपाको ‘घन्टी’, दोस्रोमा राप्रपाको ‘हलो’, तेस्रोमा नेमकिपाको ‘मादल’ रहेको छ । नमुना मतपत्रको तेस्रो लहरको पहिलो नम्बरमा मङ्गोल नेसनल अर्गनाइजेसनको ‘कुखुराको भाले’, दोस्रोमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) को ‘हँसिया’, तेस्रोमा श्रम संस्कृति पार्टीको ‘अँजुलीमा रहेको माटो’ र चौथो लहरको पहिलो नम्बरमा नेकपा (माओवादी) को ‘गोलो घेराभित्र दुई पात भएको गुलाफको फूल’, दोस्रोमा उज्यालो नेपाल पार्टीको ‘बलिरहेको बिजुलीको चिम’, तेस्रोमा आम जनता पार्टीको ‘मोबाइल चिह्न’ रहेको छ । यो क्षेत्रमा विदुर र बेलकोटगढी नगरपालिकासहित किस्पाङ, म्यागङ, तारकेश्वर गाउँपालिका रहेको छ । यस क्षेत्रमा महिला मतदाता ६३ हजार पाँच सय ७८, पुरुष मतदाता ६० हजार तीन सय ६१ सहित कुल एक लाख २३ हजार नौ सय ३९ मतदाताले एकजना उम्मेदवार निर्वाचित गर्नेछन् । यहाँ ६४ मतदानस्थल, एक सय ४९ मतदान केन्द्र रहेका छन् ।






प्रतिक्रिया