+
Search

ताजा अपडेट +

पपुलर +

न गठबन्धन न सारथी उम्मेदवारलाई उत्साहभन्दा चुनौतीको भारी

न गठबन्धन न सारथी उम्मेदवारलाई उत्साहभन्दा चुनौतीको भारी
त्रिशूली प्रवाह
१ दिन अगाडी

विदुर । यही फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा रौनक बढेको छ । निर्वाचनमा होमिएका उम्मेदवारलाई जनता फकाउन र कार्यकर्ता परिचालनमा सास्ती भइरहेको छ । दुई वर्ष अगाडि नै प्रतिनिधिसभा चुनाव हुन लागेकाले दल र नेता मनोवैज्ञानिक रूपमा तयार भइसकेका थिएनन् । अझ बदलिएको राजनीतिक परिवेशका कारण मतदाता पनि बदलिएकाले यसपटकको चुनावमा उम्मेदवार उच्च मनोबल लिएर जनताका घरदैलामा पुग्न सकिरहेका छैनन् ।

विगतका निर्वाचनमा विपरीत दलमा मतदान गर्दै आएका कार्यकर्ता, शुभेच्छुक यसपटक आ-आफ्नै दलका चिह्नमा मतदान गर्न पाउने भएपछि खुसी देखिएका छन् । विगतका चुनावमा ठुलादेखि साना दलले गठबन्धन गरेर निर्वाचनमा भाग लिएका थिए । एउटा दलका कार्यकर्ताले अर्को दलमा मत हाल्नुपर्ने बाध्यात्मक अवस्था थियो । तर, यसपटक गठबन्धन छैन । बेलकोटगढी नगरपालिकाका नवराज कोइरालाले भन्नुभयो, ‘आस्थाविपरीत भोट हाल्दिन भन्दा पनि मताधिकारबाट वञ्चित हुनुपर्ने, हाल्छु भन्दा आस्थालाई लत्याउनुपर्ने बाध्यता अहिले हटेको छ । संविधानप्रदत्त अधिकार यसपालि प्रयोग गर्न पाउने भइयो ।’ केन्द्रमै गठबन्धन बनाइसकेपछि दलबाट आएको परिपत्रअनुसार मन मान्दा नमान्दै अर्को दलका उम्मेदवारलाई मतदान गर्नुपर्ने दुःखेसो उहाँले पोख्नुभयो । विदुर-४ का वसन्त रिजालले कतिपयलाई बाध्यताले मत हालेको, कतिपयलाई आस्थाविपरीत भनेर नहालेको बताउनुभयो । यसो हुँदा जिल्लामा मुस्किलले ५५-६० प्रतिशत मत खस्ने गरेको थियो । गठबन्धन हुँदा दलको सही मूल्याङ्कन नै हुन पाएको थिएन । यसपालि मतको प्रतिशत बढ्नाका साथै दलको पनि सही मूल्याङ्कन हुने उहाँले बताउनुभयो । गठबन्धनले मतदाताको अधिकारलाई कुण्ठित पारेकोसमेत बताउनुभएका रिजालले मत माग्नदेखि लिएर मतदान गर्न पनि यसपटक आस्थाअनुसार मत खसाल्न पाइने भएको स्पष्ट गर्नुभयो । निर्वाचनमा १ नम्बर क्षेत्रबाट १३ दल र पाँच स्वतन्त्र तथा क्षेत्र नम्बर २ बाट १२ दल प्रतिस्पर्धामा छन् ।

पुरानो दल नेपाली काङ्ग्रेसलाई निर्वाचनका मुखैमा विशेष महाधिवेशन गरेर चुनावमा होमिएकाले नेता-कार्यकर्तालाई एक ढिक्का बनाएर जनताको घरदैलामा जान सकस देखिएको छ । त्यस्तै अवस्था नेकपा (एमाले) को पनि छ । वडादेखि पालिका, जिल्ला, प्रदेश र केन्द्रमा एकलौटी ढङ्गले संस्थापन पक्षले फरक मत राख्नेलाई टिक्न नदिएका कारण चुनावमा सबै नेता/कार्यकर्ता समेट्न नसक्दा उम्मेदवारका अघिपछि हिँड्ने कार्यकर्ताको खडेरी देखिएको छ । एक दर्जनभन्दा बढी साम्यवादी घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पनि ढुक्कसँग निर्वाचनमा जित्छौँ भन्न सकिरहेको अवस्था देखिँदैन । अन्य दलका उम्मेदवारलाई पनि कार्यकर्ता र सहयोगी जुटाउन खर्च गर्नुपरिरहेको अवस्था छ । यहाँ काङ्ग्रेस, एमाले, नेकपा र रास्वपाबिच कडा प्रतिस्पर्धा रहेको आकलन नागरिक अगुवाले गरिरहेका छन् । चार दलबिचको प्रतिस्पर्धा हुने आकलन गरेका उम्मेदवार म जित्छु भन्नेमा ढुक्क देखिँदैनन् । पुराना दललाई घरदैलामा मतदाताले बढी केरकार गर्ने गरिरहेका छन् । यसपटक उत्साहभन्दा चुनौतीको भारी बोकेर मत माग्नु परिरहेको उम्मेदवारले नै आफू नजिककालाई बताउने गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा १८ र २ नम्बरमा १२ उम्मेदवार चुनावी मैदानमा छन् । क्षेत्र नम्बर १ मा एक लाख २३ हजार नौ सय २९ र क्षेत्र नम्बर २ मा एक लाख २३ हजार नौ सय ३९ मतदाता छन् । क्षेत्र नम्बर १ मा मतदानस्थल ६८ र मतदाताको सङ्ख्याअनुसार मतदान केन्द्र एक सय ४४ तथा क्षेत्र नम्बर २ मा मतदानस्थल ६४ र मतदान केन्द्र एक सय ४९ कायम छ ।

अप्रत्याशित रूपमा मध्यावधि निर्वाचन भएकाले विगतमा प्रदेश निर्वाचनमा उठेका, जितेका, हारेका काङ्ग्रेस, एमाले र नेकपाबाट प्रतिनिधिसभा सदस्यमा यसपटक क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् । उनीहरूलाई यसअघि मतदातासामु गरिएका वाचा किन पूरा गरेनौ भनेर मतदाताले प्रश्नको ओइरो लगाउँदा उत्तर दिन सकस परेको देखिन्छ । काङ्ग्रेसबाट यसअघि प्रदेश सभाका उम्मेदवार र पराजित जगदीश्वरनरसिंह केसी, एमालेबाट यसअघि एकपटक प्रदेश सभा जितेका र एकपटक हारेका केशवराज पाण्डे र पूर्वनेकपा (माओवादी केन्द्र) हाल नेकपाबाट उम्मेदवार बनाइएका हिरानाथ खतिवडा, जो यसअघि प्रदेश सभा जितेका थिए, उम्मेदवार बनाइएको छ । रास्वपाबाट उम्मेदवार बनाइएका डा. अच्युतम लामिछाने पहिलोपटक निर्वाचनमा उठ्नुभएको छ । उहाँलाई मतदाताले चासो राख्दै खोजिरहे पनि भेटघाटमा समय व्यवस्थापन गर्न नसक्दा उहाँप्रति पनि मतदाताले गुनासो गर्ने गरेका छन् । यस क्षेत्रबाट राप्रपाका झनक प्याकुरेल, नेकपा (माओवादी) का नवराज ढुङ्गाना, नेकपा (संयुक्त) का किरण तिमिल्सिना, उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घले, नेपाल मजदुर किसान पार्टीका सुवास भट्ट, श्रम संस्कृति पार्टीका विनोदकुमार डङ्गोल, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका रेन्छेन तामाङ, आमजनता पार्टीका मानसिं गदाइली चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस क्षेत्रबाट विसं २०७४ को प्रदेश सभा निर्वाचनका प्रतिस्पर्धी एमालेका पाण्डे र काङ्ग्रेसका केसी पुनः प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यसैगरी क्षेत्र नं १ मा १८ जना चुनावी प्रतिस्पर्धामा छन् । पुराना दलमध्ये काङ्ग्रेसबाट डा. प्रकाशशरण महत र एमालेबाट बद्रीप्रसाद मैनाली, यसभन्दा अघि सङ्घ र प्रदेश सभा सदस्यमा विजयी र पराजित हुन् । नेकपाबाट उम्मेदवार बनेका हितबहादुर तामाङ विसं २०६४, २०७०, २०७४, २०७९ मा उम्मेदवार भएर २०६४ र २०७० मा पराजित भए पनि २०७४ मा एमालेको साथ लिएर काङ्ग्रेसका डा. रामशरण महतलाई हराउन र २०७९ मा काङ्ग्रेसको साथ लिएर एमालेका मैनालीलाई हराउन सफल हुनुभएको थियो । चारपटक निर्वाचनमा होमिनुभएको, दुईपटक हार्नुभएको र दुईपटक जित्नुभएका तामाङ अरूभन्दा अनुभवी रहे पनि यसपटक एक्लै होमिएकाले जित्छु भन्न सकिरहनुभएको छैन । यसपटक उहाँसँग काङ्ग्रेस र एमालेले एक्लाएक्लै प्रतिस्पर्धा गरेका छन् । सो क्षेत्रबाट रास्वपाका डा. विक्रम तिमिल्सिनाले महत, मैनाली र तामाङलाई कडा टक्कर दिइरहेको स्थानीयवासी बताउँछन् । पुरानो दललाई मतदाता रिझाउन हम्मेहम्मे परिरहेको अवस्था छ भने रास्वपालाई मतदाताले खोजिरहेकाले सो क्षेत्रबाट पुरानालाई जित हासिल गर्न फलामको चिउरा चपाउनुसरह भइरहेको सूर्यगढी–४ गणेशस्थानका पुरेन्द्रप्रसाद ढकालले बताउनुभयो । यस क्षेत्रमा राप्रपाका विमला थापा, माओवादीका महेन्द्र तामाङ, नेमकिपाका रवीन्द्र डङ्गोल, प्रगतिशील लोकतान्त्रिक पार्टीका राजन गौतम, श्रम संस्कृति पार्टीका दावाफेन्जु लामा, मङ्गोल नेसनल अर्गनाइजेसनका कुमार राना, उज्यालो नेपाल पार्टीका अमित तामाङ, मितेरी पार्टी नेपालका विवेक सिलवाल, जनता समाजवादी पार्टी नेपालका होमबहादुर राई तथा स्वतन्त्र चेपे तामाङ, माधव थापा, राजु थापा, रामेश्वर भण्डारी, सञ्जी राई चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसअघि प्रदेश सभा र सङ्घको निर्वाचन एकैपटक भएको थियो । अझ ६ महिना अगाडि नै स्थानीय तहको निर्वाचन हुने गरेको थियो । राजनीतिक दलबिच गठबन्धनका आधारमा भागबन्डा हुँदा चुनावी प्रचारप्रसारदेखि खर्चको बोझसमेत गठबन्धन दलबिच भाग लाग्थ्यो । सङ्घीय उम्मेदवारसँगै प्रदेश सभाका दुई उम्मेदवारसँगै हुने भएकाले प्रचारप्रसारदेखि मत माग्न पनि भरथेग हुने गरेको थियो । यसपटक त्यो अवस्था नरहेकाले उम्मेदवारले आर्थिक जोहो गर्न, कार्यकर्ता खटाउन, मतदाता रिझाउन र घरदैलो गरी मतदाता भेटघाट गर्न समस्या भोगिरहेका छन् । सङ्घका उम्मेदवार पर्यटक भए पनि प्रदेश सभाका उम्मेदवार स्थानीय हुँदा मतदातालाई आश्वस्त पार्न र रिझाउन विगतमा सजिलो हुन्थ्यो । महिला, पुरुष, सम्बन्धित व्यक्तिको प्रभाव क्षेत्र, विभिन्न जातजातिको वर्चस्व आदिलाई आधार मानेर प्रदेश सभामा उम्मेदवारी दिँदा सङ्घीय उम्मेदवारका लागि प्रदेश सभाका उम्मेदवार स्वयम् भोट बैंक हुन्थे । त्यस्तै, केहीअघि स्थानीय तहमा टिकट पाएर चुनाव जितेकाले पनि त्यसकै गुन तिर्न चुनावका उम्मेदवारलाई सघाउँथे । तर, यसपटक त्यो अवस्था छैन ।

विगतका दुई चुनावमा प्रमुख दल देशभर कुनै न कुनै गठबन्धन गरेर चुनावमा जाने गरेका थिए । विसं २०७४ को आमचुनावमा तत्कालीन एमाले-माओवादी केन्द्रले गठबन्धन गरेका थिए । स्थानीय तहमा समेत तिनले स्थानविशेष र दलविशेष गठबन्धन गरेर चुनाव लडेका थिए । गत २०७९ को स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा चुनावमा तत्कालीन काङ्ग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादीलगायतको गठबन्धन थियो । अर्कातर्फ एमाले-जसपालगायतको अर्को गठबन्धन थियो । एक्लाएक्लै प्रतिस्पर्धा हुँदा थोरै मतान्तरले जित निकाल्न सकिने ठाउँमा गठबन्धन गर्दा मत थपिने र उम्मेदवारलाई जित निकाल्न सजिलो परेको थियो । गठबन्धनको सोही कुसंस्कारका कारण देशका सबै क्षेत्रमा भएको दलगत मत पनि छरपस्ट भयो । एउटा दलका मतदाताले अर्को दलका उम्मेदवारलाई मत हाल्नुपर्दा कतिपय ठाउँको मत नै डाइभर्ट भयो । त्यसकारण कुनै निश्चित क्षेत्रमा निश्चित दलको ‘रिजर्भ’ मत ह्वात्तै घटेको देखिन्छ । यस्तो अवस्थामा देशभर आ-आफ्नै सङ्गठन र बलमा चुनाव लड्नुपर्दा पूर्ववत् मतका आधारमा कुनै उम्मेदवार पनि सुरक्षित देखिँदैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह