काठमाडौँ । प्रजातन्त्र दिवसको दिन फागुन ७ गते संविधानसभा सदस्य एवम् नेकपा (एमाले) रसुवाका जिल्ला अध्यक्ष जनार्दन ढकालसहित ७८ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । सोही दिन काठमाडौंको राष्ट्रिय सभागृहमा काङ्ग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा ढकालसहित ७८ जना काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।

गत वर्षको फागुनदेखि पार्टीमा घुर्की लगाउँदै निष्क्रिय बस्दै आउनुभएका उहाँ सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रमपछि जम्बो टोली नै बोकेर काङ्ग्रेसमा प्रवेश गर्नुभएको हो । एक वर्षदेखि नै उहाँले पार्टीको काममा असहयोग गर्दै आउनुभए पनि एमालेले उहाँलाई हटाएको थिएन । केन्द्रीय कमिटीले अध्यक्षको जिम्मेवारी भने पाँच महिनाअघि उपाध्यक्ष कैसाङनुर्पु तामाङलाई दिएको थियो । काङ्ग्रेस प्रवेश गर्नेमा जिल्ला कमिटीका सचिवालय सदस्य मेन्दो छिरिङ तामाङ, नोर्चेेल तामाङ, फुर्पुसिङ्गी तामाङ, सुरेश अधिकारी, सचिवालय सदस्य पारस गुरुङ, नौकुण्ड गाउँपालिका सङ्गठन कमिटीका अध्यक्ष हितबहादुर न्यौपाने, कालिका गाउँपालिका अध्यक्ष टीका देवकोटा, प्रदेश सल्लाहकार सदस्य मानकाजी ग्यावा, जिल्ला कमिटी सदस्य महेन्द्र न्यौपाने, टासीछवाङ तामाङ, निमा दुब्ले तामाङ, मेम्वर थिङ, लापुल लोप्चन, नौकुण्ड गाउँपालिका सचिव काब्रो थोक्रासहित रहेको बताइएको छ ।

काङ्ग्रेस प्रवेश गरेका ढकाल विसं २०८१ वैशाख २५ मा रसुवाको एमाले अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको थियो । त्यसअघि उहाँ एमालेको जिल्ला सचिव हुनुहुन्थ्यो । अध्यक्ष भएदेखि नै उहाँले पार्टीबाट असहयोग भएको गुनासो गर्दै आउनुभएको थियो । रसुवाको चुनावी इतिहास हेर्ने हो भने यहाँ व्यक्तित्व र गुटले ठुलो अर्थ राख्छ । विसं २०७४ को निर्वाचनमा काङ्ग्रेसका मोहन आचार्यले १४ हजार चार सय ५३ मत ल्याउँदा ढकालले १० हजार दुई सय ७८ मत पाउनुभएको थियो । अहिले तिनै मुख्य प्रतिस्पर्धी ढकाल आचार्यको सहयोगी बन्न पुग्नुभएको छ । ढकाल र आचार्य दुवै निर्माण व्यवसायी हुन् । दुवै ठेक्कापट्टाबाट प्रशस्त पैसा कमाएपछि इज्जत र सम्मानका लागि दल खोज्दै आएका व्यक्ति हुन् ।

संविधानसभा सदस्य ढकालसहितका केही नेता–कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गर्नुलाई एमाले रसुवाले कुनै आश्चर्य नमानेको कार्यवाहक अध्यक्ष कैसाङनुर्पु तामाङले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो । उहाँहरू विसं २०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनदेखि नै काङ्ग्रेसलाई सहयोग गर्दै आइरहनुभएको प्रमाणको आधारमा कारबाही गर्न एमालेले निगरानीमा राखेको अवस्थामा पार्टी परित्याग गरेकाले निर्वाचनलाई कुनै असर नपर्नेसमेत उहाँले बताउनुभयो । रसुवा एमालेले भने ‘यसलाई अन्तर्घाती निस्किएका हुन्’ भनेर बताउने गरेको छ । ढकालको बहिर्गमनलाई ‘शुद्धीकरण’को रूपमा व्याख्या गर्ने गरेको छ । एमाले रसुवाका कार्यवाहक अध्यक्ष तामाङ ढकालको बहिर्गमनले पार्टीलाई क्षतिभन्दा बढी ‘स्पष्टता’ दिएको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘एकजनाले गर्दा भावनात्मक हिसाबले केही साथी जानुभयो, त्यही सेन्टिमेन्टल भोट मात्रै काङ्ग्रेसलाई जाने हो । उहाँहरू गोप्य रूपमा अन्य दललाई विगतदेखि नै सघाउँदै आउनुभएको मान्छे हो । यसपटक खुलेरै सहयोग गर्न जानुभयो । जसले हामीलाई ढुक्क बनाएको छ ।’ तामाङको विश्लेषणमा विसं २०७० को जितमा पनि ढकालको आफ्नै सामथ्र्यभन्दा तत्कालीन माओवादीको वैशाखी मुख्य थियो । ‘उहाँको काम नै अरू दललाई सघाउने थियो । यो निर्वाचनमा पनि एमालेको तर्फबाट उहाँकै नाम सिफारिस भएको थियो, तर आकाङ्क्षा देखाउनुभएन । उहाँको मन अन्तै रहेछ, सायद त्यसैले पनि होला,’ उहाँले थप्नुभयो ।






प्रतिक्रिया