+
Search

ताजा अपडेट +

पपुलर +

पोखरेल र डा.महतको प्राथमिकता टोखा-छहरे सुरूङमार्ग निर्माण

पोखरेल र डा.महतको प्राथमिकता टोखा-छहरे सुरूङमार्ग निर्माण
त्रिशूली प्रवाह
१७ घण्टा अगाडी

काठमाडौँ । नुवाकोट र काठमाडौँ जोड्ने विगतदेखि सपना बाँडिएको टोखा–छहरे सुरूङमार्ग निर्माणलाई नेकपा (एमाले) र नेपाली काङ्ग्रेसका उम्मेदवारले आ–आफ्नो प्रतिबद्धता जनाएका छन् । काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेल र नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार नेपाली काङ्ग्रेसका नेता डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुभएको हो । दुवै नेताले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सुरुङमार्ग निर्माणलाई महत्त्व दिइएको छ ।

बुढानीलकण्ठ मन्दिरलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, बुढानीलकण्ठ–बागद्वार–चिसापानी–गोसार्इँकुण्ड पदमार्ग निर्माण तथा तामाङ बस्तीमा सामुदायिक ‘होमस्टे’ विस्तार गर्ने पोखरेलले योजना प्रस्तुत गर्नुभएको छ । टोखाको सपनतीर्थ र चण्डेश्वरी मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उपयोगमार्फत पर्यटकीय गन्तव्य विकास गर्ने तथा टोखाको चाकुलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने योजना पनि उल्लेख छ ।

डा. महतले ‘आधुनिक, रोजगारीयुक्त, शिक्षित र विकसित, समृद्ध नुवाकोट’ निर्माण गर्ने मुख्य लक्ष्य राख्नुभएको छ । उहाँले ‘नारा होइन नतिजा, वाचा होइन विकास’ भन्ने नाराका साथ आफ्ना कार्यसूची मतदातासमक्ष सार्वजनिक गर्नुभएको छ । छहरे–सुरुङमार्ग, बालाजु–रानीपौवा–पिपलटार, तितिपिङ्ले–चाँदेभ–कुमारी–गाछी वैकल्पिक राजमार्ग, लिखु–तादी नदी कटान नियन्त्रण, विभिन्न सडकखण्ड पूरा गर्ने, काठमाडौँसँग जोडिने सबै मुख्य सडक स्तरोन्नति, आधुनिक सिँचाइ, मल–बिउ–बजारको पहुँच, स्थानीय उत्पादन (स्याउ, आलु, प्याज, स्याउ, ट्राउट माछा, मह आदि) को ब्रान्डिङ र शीतभण्डार निर्माण गर्ने योजना उहाँले प्रस्तुत गर्नुभएको छ । त्यसैगरी ककनी, सूर्यचौर, बाघमारा, तलाखु, पञ्चकन्या, गोसाइँकुणड क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक–साहसिक पर्यटन गन्तव्य बनाउने तथा पदमार्ग र केबलकार निर्माणको पनि योजना उहाँले ल्याउनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह