+
Search

ताजा अपडेट +

पपुलर +

ज्युज्यान र सम्पत्ति रक्षार्थ नागरिक सरकार

ज्युज्यान र सम्पत्ति रक्षार्थ नागरिक सरकार
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

बेलायतमा सन् १५८८ मा जन्मेका थमस हब्स पहिलो उदारवादी चिन्तक हुन् भने सन् १६३२ मा जन्मेका जोन लकलाई उदारवादका पिता मानिन्छ । हब्स र लक हुर्कँदै गर्दा बेलायत राजतन्त्रात्मक शासन थियो । राजा र संसद्को बिच सार्वभौम शक्तिको सङ्घर्ष चर्किरहेको थियो । राज्यको सार्वभौम शक्ति राजा वा संसद् कहाँ हुन्छ भन्ने विवाद चर्किरहेको थियो । त्यतिवेलाको बेलायती संसद् आजको जस्तो जनताको मतमार्फत निर्वाचित जनप्रतिनिधिको संसद् थिएन । राजालाई कर तिर्ने ठुल्ठुला भूमिपतिका समूह नै संसद्का रूपमा रहन्थे । राजालाई आवश्यक रकम ठुला भूमिपतिले तिरेको करमार्फत उठाइने हुनाले करको दर बढाउन र हेरफेर गर्न संसद् बोलाइन्थ्यो । राजाले आफूखुसी करको दर बढाउन नपाइने सम्झौता सन् १२१५ मा नै भइसकेको थियो । यही सम्झौताबमोजिम राजालाई करको दर बढाउने वेलामा राजाले संसद् बोलाउने चलन चल्दै आएको थियो ।

सन् १६४१ मा बेलायतका राजा चाल्र्स प्रथम र संसद्बिच ठुलो सङ्घर्ष चर्चियो । यो सङ्घर्ष गृहयुद्धमा बदलियो । झन्डै दश वर्ष बेलायतमा गृहयुद्धमा चल्यो । राजा र संसद्बिचको यो गृहयुद्धले राजा चाल्र्स प्रथमलाई सन् १६४९ मा बिचसडकमा मृत्युदण्ड दिइयो । संसद्को जित भयो । बेलायत गणतन्त्रमा प्रवेश गर्यो । संसारकै पहिलो गणतन्त्र अर्थात् राजाविहीन देश बन्न बेलायत सफल भयो । ओलिभर क्रमवेल संसद्को सैनिक प्रमुख थिए । उनकै नेतृत्वमा संसद्को शासन सुरु भयो । सम्पूर्ण सार्वभौम अधिकार संसद्मा आयो । यसरी बेलायत राजतन्त्रात्मक मुलुकबट संसदीय मुलुकमा विकसित भयो ।

सामाजिक सम्झौता
सन् १५८८ मा जन्मेका थमस हब्स बेलायत गृहयुद्धमा फस्दा ५२ वर्षका थिए । आफ्नो जीवनभरि राजनीतिक उथलपुथल भोगेका हब्स गृहयुद्धको समय फ्रान्समा निर्वासनमा थिए । हब्स राजखलकका शिक्षक भएकाले उनलाई बेलायत छोड्न बाध्य हुनुपरेको थियो । गृहयुद्धको कारण बेलायती समाज अराजकता, मारकाट प्रत्यक्ष भोगेका हब्स शान्तिको खोजीमा थिए । मानिस–मानिसबिचको झै–झगडा, मारकाट युद्धको स्थितिबाट समाजलाई कसरी बाहिर ल्याउन सकिन्छ भन्ने चिन्तनमा लागे । समाजमा झै–झगडा, मारकाट, र युद्धको स्थिति रहेसम्म शान्ति स्थापना हुने स्थिति हुँदैन । शान्ति स्थापनाविना वाणिज्य–व्यापार, उद्योग–कलकारखानाको विकास सम्भव हँुदैन । समाजमा शान्तिपूर्ण स्थितिका लागि मानिस–मानिसबिच सम्झौताको आवश्यकताको महसुस हुन गयो ।

प्राकृतिक अवस्था र मानव स्वभाव
मानिस–मानिसबिच झै–झगडा, मारकाट र युद्धको स्थिति भनेको प्राकृतिक अवस्था हो । प्राकृतिक अवस्था मानिस सामाजिक रूपले मिलिजुली बसेको अवस्था होइन । मानिस प्राकृतिक अवस्थामा मिलिजुली बस्ने बाँडीचुँडी खाने स्वभावको प्राणी नै होइन । मानिस स्वार्थी प्राणी हो । मानिस आफ्नो स्वार्थीपनको कारण प्राकृतिक स्रोत र साधनलाई आफ्नो कब्जामा राख्न चाहन्छ । प्राकृतिक स्रोत र साधनलाई आफ्नो कब्जामा लिन सङ्घर्ष र प्रतिस्पर्धा हुन्छ । मानिसको स्वार्थी स्वभावको कारण प्राकृतिक स्रोत र साधन कब्जा गर्दै सम्पत्तिको सिर्जना गर्न सङ्घर्ष र प्रतिस्पर्धामा उत्रिन्छ र मानिस एक–आपसमा झै–झगडा, मारकाट र युद्धको स्थितिमा रहन्छ । युद्ध र झै–झगडा स्वार्थीपनकै कारण उत्पन्न हुन्छ ।

राज्यको आवश्यकता महसुस
मानिसको स्वार्थी स्वभाव उसको प्राकृतिक गुण हो । यो स्वभावकै कारण प्राकृतिक स्रोत र साधनमा सबै मानिसको बराबरी स्वामित्वको महसुस हुन्छ । प्रकृतिमाथिको बराबरी स्वामित्वको हक नै प्राकृतिक अधिकार हो । प्रकृति कसैको परिश्रमले सिर्जना गरेको कारण कुनै शक्तिशाली व्यक्ति वा राजाको मात्र स्वामित्वको वस्तु होइन । प्रकृति सबै मानिसको साझा सम्पत्ति हो । यो साझा सम्पत्तिमाथि मिलिजुली बस्ने र बाँडीचुँडी खाने परिस्थिति मानिसको स्वार्थीपनको कारण असम्भव छ । तसर्थ मानिस निरन्तर रूपले एक–आपसमा झै–झगडा, मारकाट र युद्धको स्थितिमा रहन्छ । यो स्थिति भनेको अराजक र अशान्तिको स्थिति हो । अराजक र अशान्त मानिसको भिड रहेसम्म मानिस समाजमा रूपान्तरण हुन सक्दैन । अशान्त र अराजक मानिसको हुल भिड मात्र हो, समाज होइन । हुल वा भिड एक ठाउँमा बसेर अराजकता र अशान्ति अन्त्य गर्ने सम्बन्धमा छलफल र बहसको थालनी नै मानव समाजको उदय हो ।

मानव समाजको उदय
मानिस स्वार्थी प्राणी हो । मानिसको स्वार्थीपन उसको प्राकृतिक स्वभाव हो । यो स्वभावको कारण प्राकृतिक स्रोत र साधनमाथि उसको बराबरी स्वामित्वको महसुसको कारण उत्पन्न हुने सङ्घर्ष र प्रतिस्पर्धाले उत्पन्न भएको झै–झगडा, मारकाट र मानिस–मानिसबिचको युद्धको अन्त्यको आवश्यकता महसुस हुन्छ । युद्धरत अवस्थाको अन्त्य र शान्तिपूर्ण जीवन निर्माणको चाहनाको कारण मानिस–मानिसबिच छलफल र बहसको प्रारम्भिक अवस्था नै समाजको उदयको अवस्था हो । मानव–मानवबिचको एक आपसको झै–झगडा, मारकाट, युद्धको अन्त्य र शान्तिको चाहनाले उदायका मानिसको समूह नै समाज हो । एक–आपसमा झै–झगडा, मारकाट र युद्धरत मानिस एक–आपसमा झैझगडा, मारकाट र युद्ध नगरी एक–आपसमा छलफल, बहस गर्ने एक–आपसको सम्झौता नै मानव समाजको उदयको अवस्था हो ।

प्राकृतिक अधिकार त्यागेको र अधिकारविहीन स्थिति
मानिसमा सम्पूर्ण अधिकार आफूमा रहेको महसुस हुनु नै प्राकृतिक अवस्था हो । मानिस जन्मँदा शारीरिक र बौद्धिक दुवै हिसाबले समान हैसियतमा जन्मन्छ । मानिस सबै हिसाबले आफूलाई अर्कोभन्दा समान मात्रामा सर्वशक्तिमान ठान्दछन् । यो उसको प्राकृतिक स्वभाव हो । यही स्वभावले मानिसलाई प्रतिस्पर्धी र सङ्घर्षशील स्वभावको बनाउँछ । यो स्वभावले मानिस–मानिसबिच झै–झगडा र मारकाटको स्थिति उत्पन्न गर्दछ ।

मानिसले आफूलाई सर्वशक्तिमान महसुस गर्दासम्म झै–झगडा, मारकाट र युद्धको स्थिति अन्त्य हुँदैन । मानिसले सम्पूर्ण अधिकार त्यागी अधिकारविहीन हुन सकेको स्थितिमा मात्र मानिस–मानिसबिचको झै–झगडा, मारकाट र युद्धको स्थितिको अन्त्य हुन्छ । मानिस आफूले लिने वेलामा आफ्नो अगाडिको मानिसले जस्तै जतिसके धेरै लिन चाहन्छ भने छोडने वेलामा पनि अगाडिको मानिसले जति मात्रामा छोड्छ त्यति नै मात्रामा आफूले पनि छोडन राजी हुन्छ । प्राकृतिक शक्ति छोड्न र आफू अधिकारविहीन हुन दोस्रोले पनि पहिलो व्यक्तिले जत्तिकै मात्रामा शक्तिविहीन हुन आवश्यक हुन्छ । यसरी प्रत्येक व्यक्ति सर्वशक्तिमानबाट शक्तिविहीन हुने मानिस–मानिसबिचको सम्झौता नै मानव समाजको उदयको अवस्था हो । समाजका सबै मानिस एक–आपसमा शक्तिविहीन हुने एक–आपसको सम्झौता नै सामाजिक सम्झौता हो । तसर्थ मानव समाज व्यक्ति–व्यक्तिबिचको शक्तिविहीन हुने आपसी सामाजिक सम्झौताको उपज हो । नागरिकबिच एक–आपसको झै–झगडा, टकराव, मारकाट र युद्ध अन्त्य गर्दै शान्तिपूर्ण जीवन निर्माण गर्ने सम्झौता नै समाजको उदय हो ।

नागरिक राज्य र सरकारको उदय
नागरिक–नागरिकबिचको एक–आपसको शान्तिपूर्ण परिस्थितिमा रहने बस्ने, रहँदा बस्दा उत्पन्न हुने झै–झगडा, विवाद शान्तिपूर्ण छलफल र बहसमार्फत टुङ्गो लगाउने सम्झौता नै नागरिक सरकारको उदयको अवस्था हो । नागरिक समाजबिच छलफल र बहसमार्फत समाजको समस्या टुङ्गो लगाउने र आ–आफ्नो जीवन र परिश्रम लगाई सिर्जित सम्पत्तिलाई सम्मान र रक्षा गर्ने समूह नै नागरिक सरकार हो । नागरिक–नागरिकबिच उत्पन्न विवाद सम्पत्तिकै कारण उत्पन्न हुने हुनाले आ–आफ्नो परिश्रमबाट सिर्जित सम्पत्तिलाई सम्मान गर्ने र सम्पूर्ण प्राकृतिक स्रोत र साधन सबै नागरिकको पहुँचभित्र राख्ने चिन्तन नै नागरिक राज्य र सरकारको मूल चिन्तन हो ।

नागरिकसँग रहेको सम्पूर्ण अधिकार त्याग्ने सबै नागरिक अधिकारविहीन हुने प्रक्रिया नै नागरिक सरकार उदयको अवस्था हो । नागरिकले त्यागेको सम्पूर्ण प्राकृतिक अधिकार एक ठाउँमा सङ्ग्रह हुन्छ । निश्चित भूगोलभित्र रहने सबै नागरिकले आफूसँग रहेको प्राकृतिक अधिकार त्याग्ने र आफू अधिकारविहीन हुने अवस्थाले नागरिक सरकारको उदय हुन पुग्दछ । सबै नागरिकले त्यागेको अधिकार एक ठाउँमा सङ्ग्रहित हुने भनेको सार्वभौम अधिकार एक ठाउँमा सङ्ग्रहित हुने स्थान हो । सबै नागरिक अधिकारविहीन हुन मञ्जुर गरेको भनेको सबै अधिकार त्यागेको अवस्था हो । सम्पूर्ण अधिकार त्यागेको भनेको व्यक्ति आफू शक्तिविहीन हुने अवस्था हो । मानिस आफू प्राकृतिक गतिशीलबाट गतिविहीन हुने एक कदम पनि चल्न नसक्ने अवस्था नै राज्यको उदयको अवस्था हो ।

नागरिकले शान्तिको कामनासहित त्यागेको अधिकार वा शक्तिबाट जन्मिएको सार्वभौमको प्रमुख दायित्व शान्ति स्थापना गर्नु हो । शान्तिका लागि मानिसको जीवन र सम्पत्तिको रक्षा गर्नु प्रमुख दायित्व हो । नागरिकले आफ्नो जीवन, सम्पत्ति र शान्तिकै रक्षाका लागि सम्पूर्ण शक्ति सार्वभौमलाई हस्तातरण गर्न मञ्जुर गरेको हुनाले सार्वभौमको पहिलो दायित्व मानिसको ज्यान र सम्पत्तिको रक्षा गर्नु नै हो । मानिसको जीवनको रक्षा गर्न असफल भएको स्थितिमा नागरिकले हिजो आफूले शान्तिका लागि हस्तान्तरण गरेको सबै शक्ति पुनः आफैँमा फिर्ता लिने स्थिति रहन्छ । यो भनेको हिजोको सामाजिक सम्झौता भङ्ग भएको अवस्था हो । मानिस पुनः प्राकृतिक अवस्थामा फर्किन बाध्य भएको स्थिति हो । यतिखेर सार्वभौम शक्तिविहीन हुने र मानिस सर्वशक्तिमान हुने पुरानै प्राकृतिक अवस्थामा फर्केको अवस्था हो ।
(लेखक राजनीतिक विश्लेषक एवम् चिन्तक हुनुहुन्छ ।)

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह