- चिनियाँ प्राविधिक टोलीले तोकिएभन्दा १५ महिना अगाडि नै अध्ययन सम्पन्न गरी अन्तिम प्रतिवेदन तयार पारिरहेको छ ।
- प्रारम्भिक अध्ययनअनुसार रसुवागढी–काठमाडौँ रेलमार्गको दूरी ७२ किलोमिटर रहनेछ जसले सङ्घीय राजधानी, नुवाकोट र रसुवा जिल्लालाई समेट्नेछ ।
- चीन सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा अध्ययन भइरहेको हो । सन् २०१९ मा राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका वेला सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो ।
- रेलमार्ग निर्माणका लागि करिब रु. दुई खर्ब ७१ अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।
- अन्तिम प्रतिवेदनले लागत, दूरी, सुरुङ, पुल र स्टेसन सङ्ख्या यकिन गर्ने र त्यसपछि डिपिआर तयार गरी निर्माण प्रक्रिया अघि बढाइनेछ ।
काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै पछिल्लो समय चर्चामा आउँदै सेलाउँदै गएको रसुवा–नुवाकोट हुँदै काठमाडौँ जोड्ने काठमाडौँ–केरुङ रेलमार्ग अहिले फेरि आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखैमा चर्चामा आएको छ । चीन सरकारको सहयोगमा यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन वि.सं. २०७५ मङ्सिर भएको थियो । त्यसपछि विसं २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका वेला सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्मको रेलमार्गको दूरी ७२ किलोमिटर रहनेछ ।
चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको प्राविधिक टोलीले काठमाडौँ–केरुङ रेलमार्गको अन्तिम अध्ययन प्रतिवेदन तोकिएको मितिभन्दा १५ महिना अगाडि नै ल्याउने गरी चिनियाँ प्राविधिक टोलीले स्थलगत अध्ययन सकेर यसलाई अन्तिम रूप दिने तयारी गरिरहेको रेल विभागका सूचना अधिकारी बोध भण्डारीले बताउनुभयो । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि पुस २०७९ मा नेपाल आएको चिनियाँ प्राविधिक टोलीले विसं २०८० माघको पहिलो साता पहिलो चरणको अध्ययन सकेको थियो । दोस्रो चरणको अध्ययन वि.सं. २०८१ चैत अन्तिममा सकिएको थियो । ‘चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुप’को प्राविधिक टोलीले नेपालमा बसेर यसको अध्ययन गरेको हो । ४२ महिना समय तोकिएको भए पनि त्योभन्दा १५ महिना पहिल्यै अध्ययनको काम सकिएको हो । अध्ययन टोलीलाई विसं २०८३ असारसम्म समय दिइएको थियो । अध्ययनपछि पनि प्रतिवेदन फाइनल गर्न समय लाग्ने भएकाले आउँदो असारसम्म समय दिइएको हो । ‘सम्भाव्यता अध्ययनमा धेरै कुरा समेटिएको हुन्छ, अध्ययनबाट आयोजनालाई कार्यान्वयनमा लैजाने या नलैजाने, निक्र्योल हुन्छ,’ रेल विभाग अध्ययन सकिएकाले उक्त समयभित्र अन्तिम अध्ययन प्रतिवेदन आउने रेल विभागका सूचना अधिकारी भण्डारीले बताउनुभयो । ‘फिल्ड तहको अध्ययन सकिइसकेको छ,’ उहाँले भन्नुभयो, ‘चिनियाँ टोलीले उतै गएर रिपोर्ट तयार गरिरहेको छ, असारसम्म अन्तिम रिपोर्ट आउँछ ।’ उहाँका अनुसार अन्तिम प्रतिवेदनबाट निर्माणमा लाग्ने समय, लागत र दूरी यकिन हुनेछ ।
‘अन्तिम प्रतिवेदन चिनियाँ प्राविधिकले चीन सरकार र हामीलाई सँगै बुझाउँछन्,’ भण्डारीले भन्नुभयो, ‘यो सम्भाव्यता अध्ययन हो, यसमा धेरै कुरा समेटिएको हुन्छ, अध्ययनबाट आयोजनालाई कार्यान्वयनमा लैजाने या नलैजाने, निक्र्योल हुन्छ ।’ यो अध्ययन आयोजना कार्यान्वयनमा लग्न सक्ने मिल्ने गरी नै हुने भण्डारीको भनाइ छ । रेलमार्गले छुने जिल्ला काठमाडौँ, नुवाकोट र रसुवामा सम्भाव्यता अध्ययन गरिएको हो । तीन जिल्लामै अध्ययनका क्रममा ड्रिलिङ गरेर माटो निकालिएको थियो । रेलमार्गले छुने सम्भावित स्थान छानेर त्यहाँबाट माटो, ढुङ्गा, पानी, चट्टानको नमुना सङ्कलन गरी केहीको नेपालमा र केहीको चीन लगेर परीक्षण गरिएको थियो । सम्भाव्यता अध्ययनबाट रेलमार्गमा कति वटा सुरुङ, पुल र स्टेसन आवश्यक पर्छन्, त्यो पनि थाहा हुनेछ । अन्तिम रिपोर्ट तयार भएपछि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेर निर्माणको काम अघि बढाइनेछ । चिनियाँ टोलीलाई अध्ययनमा रेल विभागका इन्जिनियर टोलीले सघाएको थियो ।
रेलमार्ग निर्माण गर्न रु.दुई खर्ब ७१ अर्ब ३६ करोड ८० लाख लाग्ने प्रारम्भिक अनुमान छ । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौँसम्मको रेलमार्गको दूरी ७२ किलोमिटर रहनेछ । यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन विसं २०७५ मङ्सिर भएको थियो । त्यसपछि विसं २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका वेला सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । विसं २०७८ चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका वेला सम्भाव्यता अध्ययन गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएका र अब वास्तविक दूरी, सुरुङ, लागत, पुलको उचाइ, स्टेसनलगायत विषय टुङ्गिनेछ । चीन सरकारको प्राविधिक र आर्थिक सहयोगमा यसको अध्ययन भएको हो ।






प्रतिक्रिया