विरेन्द्र मा.वि.मा भू.पू. विद्यार्थीले बनाए भवन

  • त्रिशूली प्रवाह
  • १७ पुष २०७६, बिहीबार १६:०७
Logo of trishuli prawaha

चैनपुर,  विदुर नगरपालिका वडा नं.६ चैनपुरमा रहेको विरेन्द्र माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणमा भुतपूर्व विद्यार्थीको पहलमा पूरा भएको छ ।

वि.सं. २०७२ सालको भूकम्पले लडेका भौतिक संरचना स्वीट्जरल्याण्ड निवासी यसै विद्यालयका भू.पू. विद्यार्थी राजेन्द्र खड्काको सक्रियतामा स्वीस नागरिकको सहयोगमा नयाँ निर्माण भएको छ । भूकम्प प्रतिरोधात्मक विद्यालय भवन, दिवा खाजा भवन तथा अत्याधुनिक विज्ञान प्रयोगशाला भवन नेपाल सरकारलाई गत पुस ५ गते भू.पू. विद्यार्थीले हस्तान्तरण गरेका छन् । विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष उपिन्द्र खड्काको सभापतित्वमा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख अतिथि संघीय सभासद नारायणप्रसाद खतिवडा, स्वीट्जरल्याण्ड राजदुताबासका विशेष अतिथि, स्वीट्जरल्याण्डका नागरिक र विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितको विशेष आतिथ्यतामा भएको कार्यक्रममा उपस्थित स्वीस महिला इरेन निग्ली तथा संघीय सभासद राजीव गुरुङले विज्ञान प्रयोगशाला उद्घाटन गर्नुभएको थियो । ८० लाख बराबरको लागतमा नवनिर्मित दिवा खाजा भवन सो कार्यक्रमका प्रमुख अतिथि नारायणप्रसाद खतिवडा र विशेष अतिथि राजदुताबासका प्रतिनिधीबाट उद्घाटन भएको थियो ।

करोडौंको लागतमा निर्माण गरिएको विद्यालयको सम्पूर्ण संरचना रहेको जग्गाधनी प्रमाणपुर्जा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उपिन्द्र खड्कालाई प्रमुख अतिथि र विशेष अतिथिबाट हस्तान्तरण गरिएको थियो । २०१६ देखि निर्मित संरचनाको साँचो संघीय सभासद राजीव गुरुङ, विदुर नगरपालिका प्रमुख सञ्जु पण्डित, भू.पू. विद्यार्थी राजेन्द्र खड्काबाट विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्याललाई हस्तान्तरण गरिएको थियो ।  संघीय सभासद राजीव गुरुङबाट ल्यापटप प्रदान गरिएको कार्यक्रममा स्वीस महिला इरेन निग्लीले विश्वमा भईरहेको वातावरण प्रदुषणको ध्यान आकर्षण गराउँदै विद्यालयमा दाउराबाट सञ्चालन भईरहेको कक्षा नर्सरीदेखि कक्षा १० सम्मको दिवा खाजा कार्यक्रमलाई सोलार प्रविधिबाट सञ्चालन गरी दाउरा बिस्थापन गर्दा पर्यावरण सन्तुलन हुने र यथाशिघ्र सोलार प्रविधी सञ्चालन गर्न सहयोग गर्न प्रतिवद्धता जाहेर गर्नुभयो ।

उपस्थित भेलालार्ई सम्बोधन गर्दे कलिलै उमेरदेखि आफूलाई समाज सेवामा समर्पित गर्दै आउनु भएका स्थानीय खड्का दाजु÷भाईले विद्यालयको भौतिक निर्माण पूरा गरी आफूको अग्रसरतामा चैनपुर निवासीलाई स्वच्छ पिउने पानी “एक घर एक धारा” कार्यक्रमको अवधारण त्यसै विद्यालयलाई केन्द्र बिन्दु बनाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितको सहभागितामा कार्य योजना प्रस्तुत गर्नुभयो । विद्यालय पुनःनिर्माणमा सहयोग पु¥याउनु हुने सहयोगीलाई दोसल्ला ओढाई प्रशंसापत्र प्रदान गर्दै विदुर नगरपालिका वडा नं.१२ को तर्फबाट वडाध्यक्ष सिताराम अर्यालले धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रमको अन्तिम समयसम्म राष्ट्रिय लोक गायक, हाँस्य ब्याङ्ग्य कलाकार तथा पञ्चेबाजाको बेजोड प्रस्तुतिले चैनपुरलगायत आसपासका क्षेत्र नै महोत्सव जस्तो भएको थियो ।