विदुर । गत भदौ १० गते भोटेकोसी–त्रिशूली नदीमा आएको महाप्रलयकारी हिमबाढीमा परी बेपत्ता भएका नुवाकोट र रसुवाका नागरिकलाई मृत घोषणा गर्ने प्रक्रिया सुरु भएको छ ।


दुवै जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता भएको पालिकाले सङ्कलन गरेको विवरण एकीकृत गरी बेपत्ता नागरिकको विवरण यकिन गरी जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट निर्णय गराएर राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँलाई पत्राचार गर्दै बेपत्ता नागरिकको विवरण पठाएको जानकारी कार्यालयले दिएका छन् । नुवाकोट जिल्लाका पालिकाबाट सिफारिस भई आएका ६ सय ३१ जनाको विवरण यकिन गरी आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । जिल्लाका १२ पालिकाबाट प्राप्त विवरण सङ्कलन तथा एकीकृत गरी बेपत्ता नागरिकको विवरण यकिन गरी जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट निर्णय गराएर राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँलाई पत्राचार गर्दै बेपत्ता नागरिकको विवरण पठाइएको जानकारी कार्यालयले दिएको छ । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार बाढीमा परी जिल्लाका १२ स्थानीय तहका ६ सय ३१ जना नागरिक बेपत्ता भएका थिए । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयअनुसार सम्बन्धित स्थानीय तहबाट प्राप्त विवरण सङ्कलन तथा एकीकृत गरी ६ सय ३१ जना बेपत्ता नागरिकको विवरण यकिन गरिएको हो । कार्यालयले बाढीमा बेपत्ता व्यक्तिको आधिकारिकता विवरण यकिन गर्ने प्रक्रिया २०८३ बमोजिम स्थानीय तहबाट प्राप्त विवरणलाई एकीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउन सिफारिससहित पठाएको जनाएको छ । प्रशासनले उक्त विवरणलाई वैधानिकता प्रदान गर्दै बेपत्ता नागरिकको कानुनी अवस्थासम्बन्धी प्रक्रिया अघि बढाउन प्राधिकरण र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गरेको छ । यससँगै लामो समयदेखि आफन्तको अवस्थाबारे अन्योलमा परेका परिवारका लागि कानुनी प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ । अब सम्बन्धित निकायबाट आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि उनीहरूलाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्ने जनाइएको छ ।


बेपत्तालाई मृत घोषणा गरेपछि राज्यले दिने आवश्यक राहत तथा क्षतिपूर्ति परिवारले पाउने छन् । बाढीमा परी बेपत्ता हुनेमा बेलकोटगढीबाट ३२ र विदुर नगरपालिकाबाट चार सय १२, पञ्चकन्याबाट एक, सूर्यगढीबाट १५, म्यागङबाट १९, दुप्चेश्वरबाट नौ, ककनीबाट पाँच, तादीबाट १३, लिखुबाट १०, तारकेश्वरबाट दुई, किस्पाङबाट एक सय १० र शिवपुरी गाउँपालिकाबाट तीन रहेका छन् । जिल्ला प्रशासनले बेपत्ता भएको व्यक्तिको घोषणापश्चात् निजका आफन्तलाई राहतस्वरूप दिनुपर्ने रकम के–कति आवश्यक पर्ने हो सो रकम जिल्ला विपत् व्यवस्थापन समितिसँग माग गर्न पालिकालाई अनुरोधसमेत गरेको छ । विपत् संवेदशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड २०८१ र नेपाल सरकार मन्त्रिपरिषद्को गत भदौ १५ गतेको निर्णय एवम् भोटेकोसी बाढी प्रभावितका लागि बसोबास र जीविकोपार्जन अनुदान रकम वितरण प्रक्रिया २०८३ समेतको आधारमा ६ महिनासम्मका लागि आवश्यक राहतस्वरूप चारजनासम्म सदस्य सङ्ख्या भएको परिवारलाई प्रतिपरिवार प्रतिमहिना रु. १५ हजार र सोभन्दा बढी सदस्य सङ्ख्या भएको परिवारका हकमा चारजनाभन्दा बढी प्रत्येक थप सदस्यका लागि प्रतिमहिना रु.दुई हजारका दरले वितरण गर्न आवश्यक रकम उपलब्ध गराउन विपत् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयमा रकम माग गर्न १२ वटै पालिकालाई अनुरोध गरेको छ । विपत् व्यवस्थापन समितिले बाढी प्रभावितका लागि बसोबास र जीविकोपार्जन अनुदान रकम नियमअनुसार सम्बन्धित पालिकालाई उपलब्ध गराउन रु.२० करोड निकासाका लागि प्राधिकरणलाई पत्राचार गरेको छ ।

त्यसैगरी, हिमबाढीमा परी रसुवा जिल्ला, गोसार्इँकुण्ड गाउँपालिकाका चार सय ९३ जना, आमाछोदिङ्मोका एक सय ८०, नौकुण्डका ६३ जना, उत्तरगयाका ६ सय ६६ जना र कालिकाका एक सय ३६ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरू बसोबास गर्ने सम्बन्धित वडा कार्यालयमार्फत प्रमाणित भई आएका बेपत्ता विवरणलाई जिल्ला विपत् व्यवस्थापन समितिमार्फत अनुमोदन गरी गत असोज २० गते राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा बेपत्ताको नामलिस्ट पठाइसकिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताउनुभयो । प्राधिकरणले पहिलो चरणमा वि.सं. २०८३ कात्तिक २१ गते र दोस्रो चरणमा मङ्सिर ५ गते सूचना प्रकाशित गरी बाढीमा बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकको विवरण सार्वजनिक गरिसकेको छ । सार्वजनिक विवरणमा नाम समावेश भएका व्यक्ति जीवित रहेको वा शव फेला परेको भए सम्बन्धित व्यक्ति स्वयम् वा निजका परिवारले सात दिनभित्र दाबी पेस गरी विपत्सम्बन्धी तथ्याङ्क सच्याउन सक्ने जनाइएको छ । विवरणमा नाम, ठेगाना वा अन्य विवरण फरक परेको भए सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा प्राधिकरणको इमेल ठेगाना ndrrma@gmail.com मा प्रमाणसहित दाबी पठाउन अनुरोध गरिएको छ । बेपत्ता स्वदेशी तथा भारतीय नागरिकको विवरण हेर्न प्राधिकरणले उपलब्ध गराएको क्युआर कोड स्क्यान गर्न वा https:/setu.ndrrma.gov.np/missing मा गएर हेर्न सकिने व्यवस्था गरिएको छ ।
यसका साथै सम्बन्धित स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरेर पनि जानकारी लिन सकिने व्यवस्था रहेको रसुवाका सहायक प्रजिअ दिपेश रिजालले जानकारी दिनुभयो । प्राधिकरणले सार्वजनिक गरेको विवरणमा छुटेका नेपाली नागरिकको थप विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएपछि र विदेशी नागरिकको विवरण तोकिएका नियोगबाट प्राप्त भएपछि पुनः सूचना प्रकाशित गरिने जनाएको छ । बाढीका कारण परिवारका सदस्य बेपत्ता भएका, तर सार्वजनिक विवरणमा नाम समावेश भए–नभएको जानकारी नपाएका परिवारले समेत सम्बन्धित निकायमा सम्पर्क गरी विवरण रुजु गर्न आग्रह गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी पाण्डेले अनुरोधसमेत गर्नुभएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिको विवरणमा आफ्ना बेपत्ता परिवारका कुनै सदस्यको नाम समावेश नभएमा सात दिनभित्र दाबी पेस गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सातदिने अत्यन्त जरुरी सूचना जारी गर्दै बेपत्ता व्यक्तिका परिवारको विवरण बुझाई आवश्यक दाबी पेस गर्न अनुरोध गरेको हो ।





प्रतिक्रिया