विदुर । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको श्रम अधिकार सुनिश्चितता र पत्रकारमाथि हुने धरपकडको विरोधमा आन्दोलनका घोषित पहिलो चरणको कार्यक्रम बुधबार सम्पन्न भएको छ । आन्दोलनका घोषित कार्यक्रमअनुसार बुधबार सबै जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला हुने कार्यक्रम सम्पन्न भएको छ ।


महासङ्घले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता सङ्कुचित गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चार माध्यममा अनधिकृत रूपमा सवारी साधन तेस्र्याउनेमाथि कारबाही नभएको भन्दै आपत्ति जनाएको छ । गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निस्काशन गरिएको, श्रम अधिकारको उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनवापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई पनि महासङ्घले आन्दोलनको प्रमुख कारण बनाएको छ । महासङ्घले सार्वजनिक गरेको कार्यक्रमअनुसार मङ्सिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने र मङ्सिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने निर्णय सम्पन्न भइसकेको छ । यसैगरी, मङ्सिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गरिएको महासङ्घले जनाएको छ । मङ्सिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध सङ्घ संस्थासँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत सफलताकासाथ सम्पन्न भएको छ । महासङ्घले सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रतिको अनुदार व्यवहारप्रति विरोध जनाउँदै घोषित माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासङ्घका महासचिव रामप्रसाद दाहालले चेतावनी दिनुभएको छ । पहिलो चरणका आन्दोलनका कार्यक्रमबाट माग पूरा नभए थप आन्दोलन तय गर्ने महासङ्घले जनाएको छ ।






प्रतिक्रिया