+
Search

ताजा अपडेट +

पपुलर +

पाठकपत्र : जालपा मन्दिर र एकादशी मेला संरक्षणको खाँचो

पाठकपत्र : जालपा मन्दिर र एकादशी मेला संरक्षणको खाँचो
त्रिशूली प्रवाह
४८ मिनेट अगाडी

त्रिशूली नदीको पवित्र किनारमा अवस्थित जालपा मन्दिर धार्मिक आस्था, संस्कृति र स्थानीय जनजीवनसँग जोडिएको एउटा महत्त्वपूर्ण धार्मिक स्थल हो । प्रत्येक वर्ष एकादशीको अवसरमा यहाँ लाग्ने मेला केवल धार्मिक जमघट मात्र नभई स्थानीय परम्परा, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको प्रतीक रहँदै आएको छ । तर, यस वर्षको अवस्था विगतका वर्षभन्दा निकै फरक छ । यस वर्षको ठुलो एकादशी शुक्रबार परेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

Suzuki New Bike & Scooter

गत भदौ १० गते भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीले जालपा मन्दिर रहेको क्षेत्रलाई तहसनहस बनाएको छ । कुनै समय भक्तजनको घुइँचो लाग्ने, भजनकीर्तन र मेलाको रौनकले गुञ्जायमान हुने मन्दिर क्षेत्र आज बगरमा परिणत भएको छ । जहाँ भक्तजन श्रद्धापूर्वक पूजा गर्न पुग्थे, जहाँ एकादशीको दिन मेला लाग्थ्यो, जहाँ स्थानीय व्यापार र सांस्कृतिक गतिविधिले उत्सवको रूप लिन्थ्यो, आज त्यहाँ बाढीले छोडेको पीडा र उजाड दृश्य मात्र देखिन्छ । मन्दिर भत्किनु भनेको केवल एउटा भौतिक संरचना नष्ट हुनु होइन, पुस्तौँदेखि जोडिएको आस्था, परम्परा र सामूहिक सम्झनामा परेको चोट पनि हो ।

यस वर्ष जालपा मन्दिरमा एकादशी मेला लाग्ने वा नलाग्ने भन्ने प्रश्नसँगै हाम्रो धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण कसले र कसरी गर्ने भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ । सम्बन्धित निकाय, स्थानीय सरकार, धार्मिक सङ्घ संस्था तथा सम्पूर्ण श्रद्धालुको साझा पहलमा जालपा मन्दिरको पुनर्निर्माण, संरक्षण र व्यवस्थित व्यवस्थापनका लागि आवश्यक कदम चालिनु आजको आवश्यकता हो । मन्दिरको संरचना बाढीले बगाउन सक्ला, तर पुस्तौँदेखि मनमा गढेको आस्था र परम्परा कहिल्यै बगाएर लैजान सक्दैन । आज जालपा मन्दिर क्षेत्र बाढीले उजाडिएको होला, फूलको डोरी तर्ने परम्परा रोकिएको होला, सुन्तला, बदम बिक्रीको मेला र बाजागाजाको रौनक हराएको होला । तर, जालपा माताप्रतिको श्रद्धा, ठुलो एकादशी मेलाप्रतिको आत्मीयता र पुर्खाले हस्तान्तरण गरेका सांस्कृतिक सम्झना कहिल्यै मेटिनेछैनन् ।

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

आउनुहोस्, हामी सबै मिलेर यस ऐतिहासिक धार्मिक धरोहरको संरक्षण र पुनस्र्थापनाका लागि आवाज उठाऔँ । जालपा मन्दिरको पुनर्निर्माणसँगै ठुलो एकादशी मेलाको पुरानो गौरव फर्काउने अभियानमा एकजुट बनौँ । फेरि एकपटक जालपा मन्दिरमा भक्तजनको घुइँचो लागोस् । विभिन्न बाजागाजाको धुनले त्रिशूलीकिनार गुञ्जायमान बनोस् । सुन्तला, बदम बिक्रीको मेला पुनः लागोस् । नुवाकोट जिल्लाभरिका तीर्थालु भक्तजनको उपस्थिति रहोस् । सुरक्षित रूपमा फुलमालाका डोरीको परम्परा पुनर्जीवित होस् र ठुलो एकादशी मेलाले आफ्नो ऐतिहासिक रौनक फेरि प्राप्त गरोस् । जालपा माताको कृपा सम्पूर्ण भक्तजनमा रहिरहोस् । यस पवित्र धार्मिक तथा सांस्कृतिक धरोहरको पुनस्र्थापना छिट्टै होस् । जालपा मन्दिरको पुनस्र्थापना होस्, एकादशी मेलाको पुरानो रौनक फेरि फर्कियोस् । यही हार्दिक कामना ! ॐ नमः शिवाय । (विदुर–३, माझगाउँ, देवीघाट, नुवाकोट)

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह