+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तह निर्वाचन फागुनभित्रै

निर्वाचन आयोगबाट सरकार-दलसँग परामर्श थालनी

स्थानीय तह निर्वाचन फागुनभित्रै
त्रिशूली प्रवाह
२३ मिनेट अगाडी

विदुर । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारी सुरु गरेको छ । आयोगले आवश्यक तयारी र व्यवस्थापनबारे सरकार र दलसँग परामर्श सुरु गरेको छ । भोलि शुक्रबार निर्वाचनको विषयमा राष्ट्रिय मान्यताप्राप्त ६ राजनीतिक दलसँग आयोगले छलफल गर्दै छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीसँग भोलि शुक्रबार बैठक हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । निर्वाचनको सम्भावित मिति, निर्वाचन व्यवस्थापन, आवश्यक पूर्वतयारी र राजनीतिक दलको सुझाव लिनका लागि छलफल गरिने बताइएको छ । सरकारले निर्वाचन आयोगसँगको परामर्शमा निर्वाचनको मिति तय गर्ने भएकाले यस विषयमा सरकारसँग कुराकानी भइरहेको आयोगले जानकारी दिएको छ । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलसँगको छलफलपछि क्रमशः आयोगमा दर्ता भएका अन्य राजनीतिक दलसँग पनि परामर्श गर्ने प्रवक्ता भट्टराईले बताउनुभयो ।

Suzuki New Bike & Scooter

आयोगले आगामी फागुनभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । कानुनी व्यवस्थाअनुसार बहालवाला जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले आयोगले निर्वाचनको गृहकार्य थालेको हो । यसअघि विसं २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद २ को दफा ४ अनुसार आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने उल्लेख छ । सरकारले स्थानीय तहको निर्वाचन गराउन आयोगको परामर्शमा मिति तोक्ने तयारी गरिरहेको छ । निर्वाचनको मिति तोक्नुभन्दा अघि सरकारले आयोगको परामर्श लिनुपर्ने व्यवस्था छ । आवश्यकताअनुसार एक प्रदेशको निर्वाचन एकैपटक सम्पन्न हुने गरी चरणबद्ध रूपमा निर्वाचन सम्पन्न गर्न सकिने व्यवस्था छ । तर, निर्वाचनको पहिलो चरणको मितिलाई नै निर्वाचन सम्पन्न भएको मिति मानिने ऐनमा व्यवस्था छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनका लागि आवश्यक स्रोत–साधनलगायत विषयमा अध्ययन भइरहेको बताउनुभयो । ‘हामी स्थानीय तह निर्वाचनका लागि आन्तरिक परिस्थिति अध्ययन गर्दै छौँ । स्रोत–साधन तथा अन्य विषयमा अध्ययन भइरहेको छ । आयोग निर्वाचनको तयारीमै छ,’ प्रमुख निर्वाचन आयुक्त कार्कीले भन्नुभयो ।

६ महानगर, ११ उपमहानगर, दुई सय ७६ नगरपालिका र चार सय ६० गाउँपालिका गरी कुल सात सय ५३ स्थानीय तहमा निर्वाचन हुनेछ । ‘आगामी वैशाख ३० मा स्थानीय तहका अहिलेका पदाधिकारीको कार्यकाल सकिन्छ । त्यसको दुई महिनाअघि नै निर्वाचन गराइसक्नुपर्ने हुन्छ । निर्वाचन गराएर त्यही अवधिभित्र नयाँ प्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्ने गरी तयारी भइरहेको छ,’ आयोगका एक आयुक्तले भन्नुभयो । आयोगले असोज मसान्तभित्र मतदाता नामावली अद्यावधिक गर्ने काम पूरा गरिसकेको छ । प्रदेश सभा निर्वाचन विसं २०७९ मङ्सिर ४ मा भएको थियो । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन एकैपटक सम्पन्न भएको थियो । विसं.२०८२ भदौ २३–२४ को जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा निर्वाचन गत फागुन २१ मा भइसकेको छ । अब करिब १४ महिनापछि प्रदेश सभाको कार्यकाल सकिनेछ । संविधान र स्थानीय तह निर्वाचन ऐन, २०७३ मा स्थानीय तहको चुनावसम्बन्धी व्यवस्था गरिएको छ । संविधानको धारा २२५ मा भनिएको छ, ‘गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुनेछ । त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्काे गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने छ ।’ स्थानीय तह निर्वाचन ऐनमा भने कार्यकाल सकिनुभन्दा दुई महिनाअघि चुनाव गरिने भनिएको छ । ऐनको दफा ३ को उपदफा १ मा भनिएको छ, ‘सदस्यको निर्वाचन गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि हुनेछ ।’

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह