+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरीको कार्यक्षमता र मानसिक स्फूर्ति बढाउन रचनात्मक कार्यक्रम

प्रहरीको कार्यक्षमता र मानसिक स्फूर्ति बढाउन रचनात्मक कार्यक्रम
त्रिशूली प्रवाह
२० मिनेट अगाडी

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले चालू आर्थिक वर्ष २०८३/०८४ को कात्तिक महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले पत्रकार सम्मेलनमा सो अवधिमा शान्तिसुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न तथा समुदाय–प्रहरी साझेदारीअन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रहरी प्रशासन सक्रिय रूपमा जुटेको बताउनुभयो । कात्तिकमा प्रहरी कर्मचारीको कार्यक्षमता र मानसिक स्फूर्ति बढाउन विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

महिला प्रहरी कर्मचारीको गुनासो सुन्न अन्तरक्रिया कार्यक्रम, शुभ–दीपावलीको अवसरमा सेलरोटी खाने कार्यक्रम, सामूहिक जन्मोत्सव, देउसी–भैलो तथा शारीरिक स्वास्थ्यका लागि हाइकिङ कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो । यो अवधिमा जिल्लाभर कुल २१ वटा विभिन्न किसिमका मुद्दा दर्ता भएकामध्ये नौवटा मुद्दा फस्र्योट भएका छन् भने १२ वटा मुद्दाको अनुसन्धान तथा कारबाही प्रक्रिया बाँकी रहेको उहाँले जानकारी दिनुभयो । दर्ता भएका मुद्दामा सबैभन्दा बढी झुन्डिएर आत्महत्यासम्बन्धी सातवटा घटना रहेका छन् । त्यसैगरी, बैंकिङ कसुरमा दुई, चोरीमा दुई, जुवा खेलसम्बन्धी एक, भवितव्य ज्यानका पाँच, किर्ते नागरिकता एक, ज्यान मार्ने उद्योग एक, कुटपिट तथा अङ्गभङ्ग एक र सवारी ज्यानसम्बन्धी एक मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । चालू मुद्दामा संलग्न १८ जना पुरुष र दुईजना महिला गरी कुल २० जना प्रतिवादीलाई पक्राउ गरिएको छ । फैसला कार्यान्वयनतर्फ अदालतबाट सजाय तोकेका, तर फरार रहेका नौजना प्रतिवादीलाई यो अवधिमा पक्राउ गरी उहाँहरूबाट रु.२८ हजार जरिवाना असुल गरिएको छ । यस अवधिमा समाजमा हुने घरेलु तथा लैंगिक हिंसा न्यूनीकरणका लागि प्रहरीमा १० वटा उजुरी परेका छन्, जसमध्ये चारवटा उजुरी फस्र्योट भइसकेका छन् । यसैगरी, हराएका महिला, पुरुष तथा बालबालिकाको खोजीकार्यलाई तीव्रता दिइएको छ । कात्तिक महिनामा नौजना हराएकोमा आठजना फेला परेका छन् भने एकजना ज्येष्ठ नागरिक फेला पर्न बाँकी रहेका छन् । प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा परेका १७ वटा ठाडो उजुरीमध्ये १५ वटा फस्र्योट गरिनुका साथै जिल्ला प्रशासन कार्यालयमार्फत आएको एउटा उजुरी पनि फस्र्योट गरिएको छ ।

Suzuki New Bike & Scooter

कात्तिक महिनामा आठवटा जिल्लाभर सवारी दुर्घटना भएकामध्ये पाँचजनाले ज्यान गुमाएका छन् भने नौजना सामान्य घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेको स्थानीय बासिन्दाको सहयोगमा प्रहरी टोलीले तत्काल उद्धार गरेको थियो । मादक पदार्थ सेवन, तीव्र गति र सडकको अवस्थाका कारण दुर्घटना बढेको विश्लेषण गर्दै ट्राफिक चेकिङका क्रममा नियमविपरीत चलेका एक सय ५५ वटा सवारीसाधनलाई कारबाही गरी रु.एक लाख ६६ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीका कारण जिल्लामा पुगेको भौतिक तथा मानवीय क्षतिप्रति जिल्ला सुरक्षा समिति निरन्तर सक्रिय रहेको प्रहरी नायब उपरीक्षक हवारीले बताउनुभयो । बाढीमा बेपत्ता भएकाको खोजी, उद्धार तथा राहत वितरण कार्य स्थानीय तह र सरोकारवाला निकायसँगको समन्वयमा जारी राखिएको छ । प्रभावित नागरिकको अस्थायी बसोबासका लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याइनुका साथै सुरक्षा समितिको नियमित बैठकबाट आवश्यक शान्तिसुरक्षा र राहतका निर्णय कार्यान्वयन गरिँदै आएकोसमेत उहाँले बताउनुभयो । अपराध न्यूनीकरण र जनचेतना अभिवृद्धिका लागि विद्यालय तथा समुदायकेन्द्रित विभिन्न शीर्षकमा दुई सय ४९ वटा सचेतनामूलक कार्यक्रम कात्तिकमा सञ्चालन गरिएका छन् । ती कार्यक्रममा दुई हजार आठ सय १२ जना सर्वसाधारण तथा विद्यार्थीको सहभागिता थियो । घरेलु हिंसा नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, साइबर अपराध, लागुऔषध निषेध र बालविवाहविरुद्धका सचेतना अभियान गाउँबस्तीसम्म पु¥याइएको छ ।

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह