नेकपा नुवाकोटका पालिका नेताको सपथग्रहण

  • त्रिशूली प्रवाह
  • १७ पुष २०७६, बिहीबार १६:०९

विदुर,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटीले प्रशव पिडाको बावजुद स्थानीयतहको जिम्मेवारी एक महिना अगाडी बाँडफाँड गरेको थियो । मंगलबार गाउँपालिका र नगरपालिका कमिटी पदाधिकारीको सपथग्रहण सम्पन्न भएको छ । नुवाकोटको पार्टी एकताले मंगलवारदेखि मुर्त रूप पाएको छ ।

पूर्व एमाले र माओवादी केन्द्रमा पार्टी एक भएको लामो समयपछि स्थानीयतहको कमिटीसम्म एकताको सन्देश पुगेको छ । जिल्लाको १० वटा गाउँपालिका, २ वटा नगरपालिका, २ वटा प्रतिनिधीसभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रले नेतृत्व पाएको छ । अब नुवाकोटको क्षेत्र, प्रदेश र स्थानीयतह कमिटी चलायमान हुनेछ । दुई वटा पार्टी एक भएको सन्देश जनतासम्म पुगेको छ । १२ स्थानीयतह कमिटिमा ३६ जनाले जिम्मेवारी पाएका छन् ।
पार्टी कार्यालय विदुरमा पुस १५ गते नेकपाका केन्द्रीय सदस्य एंव नुवाकोटका इन्चार्ज महेन्द्रबहादुर पाण्डेले जिल्ला अध्यक्ष हिरानाथ खतिवडा, सचिव नारायणप्रसाद खतिवडा, प्रदेशसभा सदस्य बद्री मैनाली, केशव पाण्डे, ३ नं.प्रदेश कमिटीका सचिवालय सदस्य राजेन्द्रप्रकाश लोहनी, पूर्व सांसद गोविन्द नेपाली, कार्यालय सञ्चालन समितिका सदस्यलगायतका नेताहरूको सहभागितामा सपथग्रहण गराउनुभएकोे थियो । पूर्व एमालेबाट अध्यक्ष भएको स्थानीयतहको संगठनमा पूर्व माओवादीबाट सचिव र पूर्व माओवादीबाट अध्यक्ष भएको स्थानीयतहको संगठनमा पूर्व एमालेबाट सचिवको जिम्मेवारी तोकिएको छ ।

सपथग्रहण गर्ने नेतामा शिवपुरी गाउँपालिका कमिटीका अध्यक्ष विरबहादुर तामाङ, सचिव दिनेश अधिकारी, पञ्चकन्या गाउँपालिकाको अध्यक्ष कुमार केसी, सचिव रामेश्वर सुवेदी, ककनी गाउँपालिकाको अध्यक्ष रामहरि श्रेष्ठ, सचिव योगेन्द्र तामाङ रहेका छन् । त्यसैगरी, सूर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल, सचिवमा पुरुषोत्तम अधिकारीले सपथग्रहण गरेका छन् । सपथग्रहण गर्ने नेतामा लिखु गाउँपालिकाको अध्यक्ष मेघनारायण श्रेष्ठ, सचिव विवेक ढकाल, तादी गाउँपालिकाको अध्यक्ष शोभितराज पाठक, सचिव रोशन श्रेष्ठले रहेका छन् ।

सपथग्रहण गर्ने नेतामा दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष युवराज तामाङ, सचिव शंकर थापा, विदुर नगरपालिकाको अध्यक्ष राजकुमार श्रेष्ठ, सचिव सुजन मगराती, बेलकोटगढी नगरपालिकाको अध्यक्ष प्रेमबहादुर तामाङ र सचिव नवराज तिवारी, तारकेश्वर गाउँपालिकाको अध्यक्ष केशव घिमिरे, सचिव सोमबहादुर तामाङ, म्यागङ गाउँपालिकाको अध्यक्ष बुद्धीबहादुर तामाङ, सचिव सेलकर तामाङ, किस्पाङ गाउँपालिकाको अध्यक्ष बिरबल तामाङ र सचिव नेत्रप्रसाद भट्ट रहनुभएको छ । सत्तारुढ दलको १२ पालिकाको अध्यक्ष र सचिव चयन गर्दा महिलालाई पूर्णरुपमा बेवास्ता गरिएको छ । २४ जनाले पार्टीको महत्वपूर्ण जिम्मेवारी पाउँदा महिलाको उपस्थिति शुन्य रहेको छ ।