नेकपाको निर्णय प्रदेस नं.३ नाम बागमती, केन्द्र हेटौंडा

  • त्रिशूली प्रवाह
  • २१ पुष २०७६, सोमबार १४:५२
Logo of trishuli prawaha

विदुर, प्रदेश नं ३ को नाम ‘बाग्मती’ र राजधानी मकवानपुरको ‘हेटौंडा’ नै कायम गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्णय गरेको छ ।

नेकपा सचिवालयको आईतबार बसेको बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो । प्रदेश ३ सरकारका एक मन्त्रीले प्रदेशको नाम र राजधानी टुंगो लगाएकाले अब त्यही अनुसार प्रदेश संसद्ले निर्णय गराउने प्रक्रिया अगाडी बढाएको छ ।

प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदबीच कुरा नमिल्दा पछिल्लो दुई वर्षदेखि रोकिएको निर्णय अन्तत नेकपा सचिवालयको बैठकले सर्वसम्मत रुपमा टुङ्गाएको हो । प्रदेश नं.३ को प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत रहेकाले सचिवालयको निर्णय सहजै कार्यान्वयन हुने देखिएको हो । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र बाग्मती कुन राख्ने भन्नेमा नेकपामा निकै विवाद चलिरहेको समयम आईतबारको बैठकले नाम बाग्मती र अस्थायी राजधानी बनाइएको हेटौंडालाई नै स्थायी राजधानी राख्ने निर्णय गरेको हो ।

यसअघि प्रदेसको राजधानी नुवाकोट, काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच रहेको विवाद पनि बैठकले सर्वसम्मत रुपमा टुङ्गाएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनुपर्ने पक्षमा देखिएपछि सचिवालयको बैठकले सर्वसम्मत गर्दैै बाटो खोली दिएको हो ।

प्रदेश स्थायी राजधानीको माग गर्दै प्रदेश सभामा हेटौंडासँगै काभ्रे, चितवन, नुवाकोट र भक्तपुरलाई तोक्न प्रस्ताव दर्ता भएको थियो । सत्तारुढ दलका प्रदेश सभाका सदस्य विभाजित भएपछि विवादका कारण ढिलाई हुँदै आएको र केन्द्रको निर्देशनको पर्खाइमा रहेकाहरुले अब हैटौंडालाई स्थायी राजधानी र नाम बाग्मती राख्न सहमति हुनुपर्ने देखिएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गोलले अब बस्ने अधिवेशनले प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउने जानकारी दिनुभयो । ।

प्रदेशसभामा रहेको कुल ११० सांसदमध्ये नेकपाको ८० मत रहेको छ भने कांग्रेसको २२ र अन्य दलको आठ मत रहेको छ । प्रदेश स्थायी राजधानीका लागि ७४ मत भए पुग्ने भएकाले नेकपाको सचिवालयको निर्णय स्वत कार्यान्वयन हुने अवस्थामा छ । २०७५ साल वैंशाख १४ प्रदेशसभाको बैठकले दिपक निरौलाको संयोजकत्वमा दस सदस्यीय स्थायी राजधानी र नामाकरणका लागि विशेष समिति गठन गरेर राजधानी खोज्न नुवाकोटलगायतका पाँच जिल्लाको स्थलगत अध्ययन गरेको थियो ।