+
Search

ताजा अपडेट +

पपुलर +

चेतना र पदार्थको इतिहास

चेतना र पदार्थको इतिहास
रामलाल श्रेष्ठ
३ दिन अगाडी

चेतना र पदार्थमध्ये कुन पहिलो भन्ने जिज्ञासा आजसम्म समाधान भएको छैन । यो जिज्ञासा समाधान गर्न विज्ञान र दर्शन दुवैको प्रयास आजसम्म जारी नै छ । यस ब्रह्माण्डमा मानिससँग मात्र चेतना विद्यमान छ, अन्य कुनै पनि जीव वा पदार्थसँग चेतना छैन भन्ने बुझाइ छ । चेतना आफ्नोवरिपरिको वस्तुप्रतिको ज्ञान प्राप्त गर्ने एउटा प्रविधि हो जसका मद्दतले मानिसले आफ्नो र आफ्नोवरिपरिको तथा पूरै जीवन र जगत्बारे जान्ने र बुझ्ने क्षमता राख्छ जसलाई दार्शनिक भाषामा बुद्धि पनि भन्ने गरिन्छ ।

चेतना र पदार्थबारे व्याख्या गर्दा दार्शनिक र वैज्ञानिक हैरान भइसकेका छन् । दर्शनको मुख्य काम नै चेतना र पदार्थको सम्बन्धबारे गहिरो अध्ययन गर्नु हो । यी दुवै अलगअलग अस्तित्व बोकेका वस्तु हुन् वा चेतनाले पदार्थ वा पदार्थले चेतनाको उत्पत्ति भएको हो भन्ने दर्शनको मूल जिज्ञासा हो । दार्शनिकहरू चेतना र पदार्थ अलगअलग अस्तित्व बोकेको वस्तु हो भन्ने तथा चेतना र पदार्थ एउटै वस्तु हो तथा चेतना र पदार्थमा को अगाडि भन्ने जिज्ञासामा दुई भागमा विभाजित भएको देखिन्छ । चेतना अगाडि र पदार्थ चेतनाको नतिजा हो भन्ने आदर्शवादी दार्शनिक हुन् भने पदार्थ अगाडि र चेतना पदार्थको नतिजा हो भन्ने भौतिकवादी दार्शनिक हुन् ।

चेतना र पदार्थ अलगअलग अस्तित्व, दुवैको एक-आपसमा मिलन र यसको क्रमिक विकासको लामो व्याख्या नै दर्शनको इतिहास हो । दार्शनिक सुरुदेखि नै विभाजित थिए । बिचबिचमा विभाजित दर्शनलाई संश्लेषण गर्ने काम पनि भएको देखिन्छ । सुकरातपूर्वका युनानी दार्शनिक दुई खेमामा विभाजित थिए । पछि प्लेटोले दुई खेमामा विभाजित दर्शनलाई संश्लेषण गरे । प्लेटोपछि उदाएका अरस्तुले प्लेटोको दर्शनमाथि ठुलो असहमति देखाए र नयाँ व्याख्या प्रस्तुत गरे । अरस्तुको व्याख्यामाथि त्यसपछिका दार्शनिकले असहमति जाहेर गर्दै अगाडि बढेको देखिन्छ ।

दर्शनको इतिहासको अध्ययन गर्दा पहिलो दार्शनिकको चिन्तनसँगै दोस्रो दार्शनिकले पहिलो चिन्तनको विपरीत चिन्तन अगाडि सारेको देखिन्छ । पश्चिमा दर्शनका पहिलो दार्शनिक थेलिज पानी नै भौतिक संसारको आधारभूत पदार्थ हो भन्ने मान्यता राख्थे । थेलिजले पानीबाट नै जीवन र जगत्को उत्पत्ति भएको चिन्तन अगाडि सारेका थिए । यो मान्यता स्थापित गर्न उनले अनेक तर्क प्रस्तुत गरे । थेलिजको समयदेखि नै भौतिक संसारको आधारभूत तत्त्वको जिज्ञासा सुरु भएको हो । ब्रह्माण्ड वा जगत्को आधारभूत तत्त्वको खोजीबाट दर्शनको इतिहास सुरु भएको देखिन्छ । थेलिजपछि एनिक्जिमान्डरले भौतिक जगत्को आधारभूत तत्त्व एपिरोन भन्ने चिन्तन अगाडि सारे । हेराक्लिटसले भौतिक संसारको आधारभूत तत्त्व अग्नि हो भन्ने मान्यता अगाडि सारे । सम्पूर्ण भौतिक जगत् अग्निविना अस्तित्वमा आउनै नसक्ने तर्क उनको थियो । त्यसको केही समयपछि एनिक्जिमिनिज नामका दार्शनिकले भौतिक जगत्को आधारभूत तत्त्व हावा हो भन्ने तर्क प्रस्तुत गर्दै आफूभन्दा अगाडिका चिन्तकको तर्कलाई खण्डन गरे ।

दर्शनको इतिहासको सुरुको इतिहास हेर्दा सबै दार्शनिक यस भौतिक जगत्को निर्माणको आधारभूत तत्त्वका खोजीमा थिए । थेलिजले पानीलाई आधारभूत तत्त्वका रूपमा देखे भने हेराक्लिटसले अग्निलाई । थेलिज र हेराक्लिटस एक-अर्काको विपरीत तर्क प्रस्तुत गर्दै थिए । त्यसैगरी एनिक्जिमिनिज र एनिक्जिमान्डर हावा र एपिरोन आधारभूत तत्त्व हुन् भनेर एक-आपसको विपरीत तर्क प्रस्तुत गर्दै आफ्नो हेराइ सही भएको तर्कपूर्ण व्याख्या गर्दै अगाडि बढे । दर्शनको इतिहासको यस प्रारम्भिक अवस्थामा पश्चिमा भौतिक जगत्को निर्माणको आधारभूत तत्त्वका खोजीमा थिए । यसको खोजीमा एक-आपसमा विपरीत तत्त्व जल, अग्नि, एपिरोन र वायुमध्ये एउटा आधारभूत तत्त्वबाट भौतिक जगत्को निर्माण भएको हो भन्ने जिज्ञासामा केन्द्रित थिए ।

प्राचीन युनानी दर्शन
सुकरातभन्दा अगाडिका सबै दार्शनिकलाई एउटै डालामा राखेर सुकरातभन्दा अगाडिका दर्शनलाई प्राचीन युनानी दर्शनको नाम दिइएको छ । यो समय इपू ४६९ अगाडिको समय हो । सुकरातको जन्म इपू ४६९/७० लाई आधार मानी यसभन्दा अगाडिका मानिसले कसरी र केका बारेमा चिन्तन गर्थे भन्ने दर्शन नै प्राचीन युनानी दर्शन हो । त्यतिवेलाका चिन्तकको लामो सूची नै छ । यी सबै चिन्तकको मूल जिज्ञासा भनेको यस ब्रह्माण्ड वा भौतिक जगत्को निर्माणको आधारभूत तत्त्वको खोजी गर्नु थियो । सुकरातभन्दा अगाडिका सबै चिन्तक प्रकृतिवादी वा भौतिकवादी थिए भन्दा हुन्छ । सो समयमा धर्तीको पूर्वीय भूगोलमा रहने नेपाल तथा भारत वर्षमा भौतिक जगत्को निर्माणको आधारभूत तत्त्वको जिज्ञासा मेटिसकेको देखिन्छ । पूर्वीय दर्शनले भौतिक जगत्को आधारभूत तत्त्व एक नभई पाँच आधारभूत तत्त्वले भौतिक जगत्को निर्माण भएको निष्कर्ष निकालिसकेको थियो । जल, अग्नि, पृथ्वी, वायु र आकाशसमेतको पाँच आधारभूत तत्त्व नै जीवन र जगत्को आधारभूत तत्त्व हुन् भन्ने पूर्वीय चिन्तनको निष्कर्ष हो । भौतिक विज्ञानले आकाशलाई आजभोलि समयस्थानका रूपमा देख्ने गर्छ । यस हिसाबले हेर्दा पूर्वीय दर्शनअनुसार विपरीत तत्त्वको एकता नै भौतक जगत्को निर्माणको मूल आधार हो ।

मानिसमा जीवन र जगत्बारेमा जान्ने जिज्ञासा चेतनाका कारण उत्पन्न भएको हो । मानिसबाहेक पृथ्वीका अन्य जीवमा यो जिज्ञासा भेटिँदैन । जिज्ञासाको मूल कारण नै चेतना हो । पदार्थको उत्पत्तिको प्रारम्भिक अवस्थासँगै चेतना पदार्थमा विपरीत तत्त्वका रूपमा उत्पत्ति भएको हो भन्ने मान्यता छ । चेतना र पदार्थ विपरीत गुण भएका वस्तु हुन् । चेतना तार्किक वाबबौद्धिक गुण हो भने पदार्थ तार्किक र बौद्धिक गुणशून्य वस्तु हुन् । ब्रह्माण्डको उत्पत्तिभन्दा अगाडि चेतना र पदार्थ एउटा सानो विन्दुमा खाँदिएर रहेका अवस्थामा थिए । दुवै फैलिने वा विकसित हुने स्वभावका कारण महाविस्फोटको घटनामार्फत खाँदिएर रहेको पदार्थ फैलिन सुरु भयो र ब्रह्माण्ड अर्थात् पदार्थ र चेतनाको उत्पत्ति भयो । यो घटना आजभन्दा १३.८ अर्ब वर्षअगाडि भएको वैज्ञानिक मान्यता छ ।

महाविस्फोटको घटनासँगै पदार्थ फैलिन सुरु भयो भने चेतना मृत रूपमा पदार्थमा विलिन वा शून्य अवस्थामा रहँदै आयो । चेतना अर्बौँ वर्षसम्म पदार्थमा मृत अवस्थामा रहिरह्यो र क्रमिक रूपले विकसित हुँदै मानिसको विकाससँगै अभूतपूर्व रूपले फैलिन थाल्यो । पदार्थको हरेक कणमा चेतनाको कण पनि विद्यमान भएको हुन्छ । जड पदार्थबाट जैविक पदार्थको विकाससँगै चेतना फैलिन सुरु भएका कारण वनस्पतिमा समेत चेतनाको सानो अंश देखिन्छ । वनस्पतिपछि यस धर्तीमा जीवको विकास भएको हो । जीवमा वनस्पतिमा भन्दा धेरै मात्रामा चेतनाको मात्रा विकास भएको छ । जीवको क्रमिक विकाससँगै जब मानिसको विकास भयो, चेतनाले ठुलो मात्रामा फैलिन सुरु गर्यो । चेतनाको फैलिने क्रम आजसम्म निरन्तर जारी छ । चेतना पदार्थजत्तिकै पुरानो इतिहास बोकेको विपरीत वस्तु हो । विपरीतको एकता नै भौतिक जगत्को निर्माण र परिवर्तनको आधारभूत तत्त्व हो । जल र अग्नि एक-आपसमा विपरीत तत्त्व हुन् भने वायु र धर्ती एक-आपसका विपरीत तत्त्व हुन् । त्यसैगरी चेतना र पदार्थ पनि एक-आपसका विपरीत तत्त्व हुन् । विपरीतको एकता नै जीवन र जगत्को निर्माणको आधारभूत तत्त्व हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रामलाल श्रेष्ठ