धादिङका अझै पैंतीस प्रतिशत विद्यालयमा भवन छैन

  • त्रिशूली प्रवाह
  • २४ पुष २०७६, बिहीबार १४:३०
Logo of trishuli prawaha

धादिङवेंशी, भूकम्प गएको साढे चार वर्ष बितिसंक्दा पनि धादिङ जिल्लामा भत्किएका विद्यालयको पुनःनिर्माण पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन । जिल्लामा अझै ३५ प्रतिशत विद्यालय भवन बन्न बाँकी छ ।

विद्यालय पुनःनिर्माण नहुँदा अझै अस्थायी टहरामा विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता यथावत रहेको छ । २०७२ वैंशाख १२ गतेको भूकम्पले जिल्लामा ५ सय ८१ विद्यालयमा ४ हजार ४ सय ३८ कक्षा कोठामा क्षति पुगेको थियो । क्षति पुगेका मध्ये ६५ प्रतिशत भवन निर्माण भईसकेको छ । भूकम्प प्रभावित जिल्लामा निजी आवाससँगै विद्यालयको पुनःनिर्माण पनि भईरहेको छ । त्यही क्रममा धादिङमा २ सय ४६ विद्यालयका २ हजार ४ सय ५० कक्षाकोठा निर्माण सम्पन्न भईसकेको छ । निर्माण सम्पन्न विद्यालयमा पठनपाठन समेत शुरू भईसकेको छ । तर जिल्लाका अझै ३५ प्रतिशत विद्यालयको पुनःनिर्माण हुन बाँकी छ ।

भत्किएका विद्यालय निर्माण कार्य तीन वर्षभित्रमा सक्ने शिक्षा मन्त्रालयको योजना थियो । तर निर्माण सम्पन्न गरिने समयसीमा भन्दा थप डेढ वर्ष बितिसंक्दा पनि विद्यालय भवन पुनःनिर्माण पूर्णरूपमा सम्पन्न हुन सकेको छैन । अहिले २ सय ७२ विद्यालयका १ हजार २ सय ५० वटा कक्षाकोठा निर्माणाधीन अवस्थामा रहेको छ । निर्माण सामाग्रीको अभाव, ढुवानीको समस्या, कामदारको कमी जस्ता कारणले विद्यालय भवन पुनःनिर्माणमा ढिलाई भएको जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङका इन्जिनियर निर्मल बोगटीले बताए । ‘अब डेढ वर्षमा सबै विद्यालयको भवन निर्माण सम्पन्न गरी सक्ने गरी काम भईरहेको छ,’ इन्जिनियर बोगटीले भने, ‘क्षतिग्रस्त सबै विद्यालयमा पुनःनिर्माणको काम भईरहेको छ, कुनै विद्यालयमा कक्षाकोठा थोरै भएका कारण थप भवन निर्माण शुरू गरिएको छ, त्यसले गर्दा पनि केही ढिलाई भएको हो ।’

निर्माण गरिएको विद्यालय भूकम्प प्रतिरोधी छ भने छात्र, छात्रा र अपाङ्गमैत्री शौचालयको पनि निर्माण गरिएको छ । विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ । ह्विलचियर गुड्ने गरी विद्यालय तथा शौचालयको संरचना निर्माण गरिएको छ । नयाँ भवनले शिक्षक तथा विद्यार्थी पनि फुरूङ्ग छन् भने पठनपाठनमा पनि सहज भएको छ । शिक्षकका अनुसार भवन नहुँदा धेरै कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने अवस्था थियो, अहिले त्यो बाध्यता हटेको छ ।

जिल्ला कार्यान्वयन इकाई धादिङकाअनुसार संघ–संस्था, विद्यालय ब्यवस्थापन समिति र ठेक्का गरी ३ किसिमले विद्यालय निर्माण भईरहेको छ । संघ संस्थामार्फत ६३ वटा विद्यालयका ९ सय ८ कक्षाकोठा निर्माण सम्पन्न भईसकेको छ भने २ सय २८ कक्षाकोठा निर्माणाधीन छन् । त्यस्तै विद्यालय ब्यवस्थापन समितिमार्फत् १ सय ७६ विद्यालयका १ हजार २ सय ६१ कक्षाकोठा निर्माण सम्पन्न भईसकेको छ भने १ सय ९४ विद्यालयमा ४ सय ६४ कक्षाकोठा निर्माणाधीन छन् । त्यस्तै, ठेक्कामार्फत ७ वटा विद्यालयमा ६१ वटा कक्षाकोठा निर्माण सम्पन्न भईसकेको छ भने ५५ विद्यालयमा ४ सय ५८ कक्षाकोठा निर्माणाधीन छन् ।

केन्द्रीय आयोजना अन्र्तगत जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोग, एसियाली विकास बैंक (एडिबी) र भारत सरकारको अनुदान तथा ऋण सहयोगमा धादिङका विद्यालय पुनःनिर्माणको क्रममा छन् । एसियाली विकास बैंकले बनाउने ६ वटा विद्यालय भवनमध्ये सदरमुकामको निलकण्ठ मा.वि. नमुना विद्यालयको रूपमा निर्माण भईसकेको छ भने अन्य ठेक्का प्रक्रियामा छन् । त्यस्तै जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोगमा निर्माण हुने ४९ विद्यालयमध्ये ६ वटा मात्र निर्माण सम्पन्न भएको छ भने भारत सरकारको अनुदान तथा ऋण सहयोगमा निर्माण हुने १० वटा विद्यालय पनि ठेक्का प्रक्रियामा छन् ।

भूकम्पले क्षतिग्रस्त विद्यालयमा त्रिपाल र स्थानीय स्रोत–साधनबाट अस्थायी टहरा बनाई, पढाई शुरू गरेका विद्यालयमा विभिन्न संघ–संस्था तथा विद्यालय आफैंले पनि विद्यालय भवन निर्माण गरेका छन् । तर कतिपय विद्यालयमा निर्माणमा ढिलाई भएका कारण विद्यार्थी अझैसम्म पनि अस्थायी टहरामा नै बसेर पढिरहेका छन् ।