निर्माण ब्यवसायी संघको साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १३:२३

बट्टार, नुवाकोट निर्माण ब्यवसायी संघको तेह्रौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवि सिंहले गर्नुभएको थियो । उहाँले राज्यको ६५ प्रतिशत विकास बजेट खर्च गर्ने निर्माण ब्यवसायीलाई सरकारले उपेक्षा गरेको बताउनु भयो । निर्माण ठेक्का समयमा सम्पन्न नहुनुमा सरकार दोषी रहेको समेत उनले बताए । संघका अध्यक्ष सुमन अधिकारीको सभापतित्वमा सम्पन्न साधारणसभामा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले सम्झौता अनुसार निर्धारित समय काम सम्पन्न गर्ने निर्माण ब्यवसायीलाई प्रोत्साहन गर्ने नीति ल्याएको बताउनु भयो । सभामा महासचिव रमेश बस्नेतले पेश गर्नुभएको भावी नीति तथा कार्यक्रम पारित भएको छ । २०५५ साल पुस २५ गते ९१ जना निर्माण ब्यवसायीको वनभोज कार्यक्रममा संघ जन्मेको महासचिव बस्नेतले बताउनु भयो । संघको विदुरमा १४ आना ३ पैसामा बनेको ९ कोठाको पक्की भवन रहेको छ । साधारणसभामा कोषाध्यक्ष राजकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको आय–व्यय विवरण छलफल पछि पारित भएको छ ।

राज्यको पुनःसंरचनासँगै लागू भएको केन्द्रीय, प्रदेश र स्थानीयतह सरकारसँग सार्वजनिक खरीद तथा भुक्तानी सम्बन्धी अधिकार प्राप्त भए तापनि दक्ष अनुभवी कर्मचारीको अभावले सार्वजनिक निर्माण कार्य पूर्ण रूपले प्रभावित भएको संघका अध्यक्ष सुमन अधिकारीले सो कार्यक्रममा बताउनु भयो । स्थानीयतहमा दक्ष अनुभवी प्राविधिक जनशक्ति नहुँदा निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न अप्ठ्यारो परेको गुनासो उहाँले गर्नुभयो । संघको पहलमा जिल्लाको निर्माण सामाग्री र श्रमिकको ज्याला दररेट निर्धारण समय सापेक्ष भईरहेको वरिष्ठ उपाध्यक्ष शैलेन्द्र प्याकुरलेलले बताउनु भयो ।