सारथी सहकारीको ब्याज आम्दानी ८७ लाख ८३ हजार

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १३:२८

ढुंगे, सात वर्षदेखि सञ्चालनमा रहेको सारथी बचत तथा ऋण सहकारी संस्था लि.वि.न.पा.–९ कोलनी नुवाकोटले आ.व.०७५÷०७६ मा लगानीबाट ब्याज आम्दानी ८७ लाख ८३ हजार ५ सय १४ रूपैयाँ आर्जन गर्न सफल भएको छ । सहकारीले आ.व.०७५÷०७६ मा ६ करोड १४ लाख ९८ हजार ५ सय १३ रूपैयाँ ऋण लगानी गरेको थियो ।

सहकारीले शनिबार सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन विदुर नगरपालिकाको मेयर सञ्जु पण्डितले गर्नुहुँदै सहकारी संस्थाले बचत र ऋणको कारोबारलाई भन्दा कृषि क्षेत्रको उत्पादकत्व बढाउन अग्रसर हुनुपर्ने बताउनु भयो । सहकारीका अध्यक्ष गोकर्ण रोक्काको सभापतित्वमा भएको साधारणसभामा विदुर नगरपालिकाकी उपमेयर गीताकुमारी दाहाल, जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठ, विदुर नगरपालिका सहकारी समन्वय समितिका अध्यक्ष नविन्द्रमान प्रधानलगायतले सारथी सहकारी जिल्लामा उत्कृष्ट सहकारीको रूपमा स्थापित हुँदै गएको बताउनु भएको थियो ।

साधारणसभामा अध्यक्ष गोकर्ण रोक्का, कोषाध्यक्ष राजकुमार नगरकोटी लेखा तथा सुपरिवेक्षण समितिका संयोजक रविन्द्र नेपाली र ब्यवस्थापक सुदिप श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदन वृहत छलफल गरी पारित भएको थियो । सहकारीमा पुरूष ३ सय ७६ र महिला २ सय ३६ शेयर सदस्य रहेका छन् । सहकारीले चालू आर्थिक वर्षबाट ई–बैंकिङ र एसएमएस बैंकिङ सेवा शुरू गर्ने भएको छ भने शेयरपुँजी एंव निक्षेप संकलनलाई अझै बृद्धि गरेर सबल र सक्षम सहकारीको रूपमा संस्थालाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै शेयर सदस्य भरोसाको केन्द्र बनाउन आवश्यक रणनीति अबलम्वन गर्ने निर्णय गरेको छ ।