पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा विविध कार्यक्रम

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १४:०५

विदुर, २ सय ९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आईतबार नुवाकोट जिल्लामा विविध कार्यक्रम गरी मनाईयो ।

कार्यक्रममा सहभागी भएका सरोकारवालाले राष्ट्रिय एकतालाई कायम राख्नका लागि पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन माग राखेका छन् । विशाल नेपाल एकीकरण तथा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिब्य उपदेशलाई पालना गर्न सके राज्य सञ्चालन समस्याग्रस्त अवस्थामा नपुग्ने समेत सरोकारवालाले बताएका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले पृथ्वीनारायण शाहले एकिकरण गरी फैलाएको नेपालको सिमाना वर्तमान सरकारले संरक्षण गर्न नसकेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले पृथ्वीनारायण शाहले बाईसे र चौबिंसे राज्यलाई एकिकरण गरेर बृहत् नेपाल बनाएको स्मरण गर्दै सम्मान स्वरुप नगरपालिकाले सार्वजानिक बिदा दिएको बताए । मुलुककै केन्द्रिय राजधानीको निर्माण गरी २५ वर्षसम्म शासनसत्ता नुवाकोटबाट सञ्चालन भएको इतिहास रहेकाले त्यसप्रति सम्मान ब्यक्त गरिएको उहाँले बताए । पृथ्वीनारायण शाहलाई अलग राखेर नेपालको इतिहास पूर्ण नहुने समेत उहाँले बताउनु भयो । उहाँको योगदानको कदर गर्दै औपचारिक रूपमा दिवस मनाउने हाम्रो प्रयास हो, मेयर पण्डितले भन्नुभयो, राष्ट्रले उहाँलाई सम्झनुपर्ने हो तर त्यस्तो हुन सकेन । स्थानीय सरकारको हैसियतमा हामीले भव्य रूपमा दिवस मनाएका छौं । उक्त कार्यक्रमले नुवाकोटको इतिहास, कला र संस्कृतिलाई पर्यटनसँग जोड्न मद्दत मिलेको उहाँको भनाई छ ।

तत्कालिन समयमा पृथ्वीनारायण शाहले दिनुभएको उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकाले उनको दूरदर्शीताको कदरका लागि भएपनि दिवस मनाउनुपर्छ भन्ने आभास सम्पूर्ण नेपालीमा हुनुपर्ने बताए । यसवर्ष नुवाकोटमा विदुर नगरपालिका र सुर्यगढी गाँउपालिकाले भने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिएका थिए । राष्ट्रिय एकता दिवसलाई सार्वजनिक दिवसको रुपमा मनाउनको लागि सबै क्षेत्रबाट दबावमुलक कार्यक्रमको आवश्यकता रहेको छ । बाईसे चौबिंसे राज्यलार्ई एकिकरण गरेर सिङ्गो लालपुर्जा बनाएर नेपाली जनतालाई छाडेर गएकोले अब सबै नेपाली जनता मिलेर लालपुर्जाको संरक्षणमा जुट्नुपर्ने नागरिक समाजका अध्यक्ष बावुराम लामिछानेले बताए । एकता दिवसको अवसरमा नुवाकोट दरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिबक्ता डाक्टर सुरेन्द्र केसीले राष्ट्र निर्मातालाई उचित सम्मान दिन नचाहनेले राष्ट्रिय अखण्डता र स्वाभिमानको रक्षा गर्न नसक्ने दावी गर्नुभयो ।

२००७ सालपछि पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाइँदै आएपनि २०६२/०६३ को जनआन्दोलनपछि सरकारीस्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको विदुर नगरपालिका वडा नं.–२ का विरेन्द्रकुमार शाहीले बताउनु भयो । देवीघाटमा निर्माण गरिएको पृथ्वी शालिक पुनःस्थापनाको दशौं वर्ष पुरा भएको छ । देवीघाटस्थित स्मारकमा पहिला निर्माण भएको शालिक तत्कालिन समयमा माओवादीले बम बिस्फोट गरी ध्वस्त बनाएको थियोे । तत्कालिन जनयुद्धको समयमा माओवादीले भत्काएको परिसरमा पुनःशालिक निर्माण भएको दश वर्ष पूरा भएको छ । पृथ्वी जयन्ती मनाउन देवीघाट आईपुगेका नेकपा मालेका महासचिव एंव पूर्व मन्त्री सिपि मैनालीले पृथ्वीनारायण शाहले एकिकरणमा पु¥याएको योगदान र उनका उपदेश अहिले पनि सान्दर्भिक रहेको बताए । सरकारले ०६२/०६३ को जनआन्दोलनपछि सार्वजनिक विदाबाट हटाएपनि विभिन्न कार्यक्रम गरी विभिन्न राजनितिक दल, नागरिक समाजलगायतले दिवस मनाउँदै आएका छन् ।