दोस्रो किस्ता लिने लाभग्राही भेटिएन

  • त्रिशूली प्रवाह
  • ९ माघ २०७६, बिहीबार १६:२९
Logo of trishuli prawaha
  • प्रमिला सुनार

विदुर, साढे चार वर्षअघि भूकम्पको कारण घरमा आशिंक क्षति ब्यहोरेका लाभग्राहीलाई घरको प्रवलिकरण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत एक लाख अनुदान उपलब्ध गराउदै आएपनि नुवाकोटमा घरको प्रवलिकरण गरेर दोस्रो किस्ता लिने भेटिएनन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाई अन्र्तगत रहेको अनुदान ब्यस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको अनुसार नुवाकोटमा १ हजार ५ सय ७४ प्रवलीकरण लाभग्राही रहेकामा २२ प्रतिशतले अनुदान सम्झौता गरेको र त्यसमध्ये पहिलो किस्ता बापत अनुदान रकम लिने २० प्रतिशत मात्र छ । आयोजनाका प्रमुख शम्भुकुमार शाहको अनुसार नुवाकोटका लाभग्राहीमध्ये ३ सय ६० घरधुरीले क्षति पुगेको घरको प्रवलीकरण गर्नको लागि अनुदान सम्झौता गरेका थिए ।

साढे चार वर्षअघि वि.सं.२०७२ बंैशाख १२ मा गएको विनासकारी भूकम्पको कारण घरमा आंशिक क्षति पुगेका धनीलाई पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा सूचिकृत भएकालाई क्षतिग्रस्त घर मर्मतको लागि दुई चरणमा एक लाख दिने कार्यविधी भएपनि लाभग्राहीले यसतर्फ बेवास्था जनाएको उहाँले बताउनु भयो । सम्झौता गरेका सबैले स्वतः पहिलो किस्ता बापत ५० हजार पाउने भएपनि ३ सय २६ परिवारले मात्र रकम लिएको सरकारी तथ्याङ्क छ । आयोजना प्रमुख शाहको अनुसार पहिलो किस्ता रकम लिएकाले पनि घरको प्रवलीकरण गरेर दोस्रो किस्ता बापत थप ५० हजार लिन एक जनाले पनि निवेदन दिएका छैनन् । प्रवलीकरणमा समावेंश भएका अधिकांश लाभग्राहीले असन्तुष्ट जनाएर आंशिकबाट पूर्ण लाभग्राहीमा सूचिकृत गर्न गुनासो फाराम दर्ता गराएको तथा सरकारले तोकेअनुसार प्रवलीकरण गर्न नचाहेर अनुदान रकम लिन चासो नदिएको हुन सक्ने उहाँको भनाई छ ।

नुवाकोटमा भूकम्पको कारण क्षति पुगेका ७७ हजार १ सय ४८ घरको प्राविधिकमार्फत सर्वेक्षण गरिएकोमा कुल लाभग्राही ७५ हजार ८ सय २५ रहेको कार्यालयले जनाएको छ । घरको पूर्ण क्षति भएकालाई सरकारले नयाँ निजी निवास निर्माण गर्नेलाई ३ लाख उपलब्ध गराउँदै आएको छ । प्रवलीकरणतर्फ भूकम्प प्रभावितले चासो नदिएपनि नयाँ घर बनाउनेको सङ्ख्या भने सन्तोषजनक रहेको कार्यालयका सूचना प्रविधी विज्ञ बिनोद अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार भूकम्पको कारण घरको पूर्ण क्षति भएका लाभग्राही मध्ये ७२ हजार ७ सय ९८ (९६ प्रतिशत) ले नयाँ घर बनाउन प्राधिकरणसँग सम्झौता गरेका छन् ।  सम्झौता गरेका मध्ये पहिलो किस्ता बापत लिएर नयाँ घर बनाउने प्रतिबद्धता जनाएकामा ६९ हजार ४२ (९१ दशमलव ९४ प्रतिशत) घरधुरीले तोकिएअनुसार घरको संरचना जगतसम्मको सतह निर्माण गरेर दोस्रो किस्ता बुझिसकेका छन् । घर निर्माण सम्पन्न गरेर ५८ हजार ८ सय ९४ (७७ दशमलव ७६ प्रतिशत)ले तेस्रो किस्ता बापतको अनुदान रकम प्राप्त गरिसकेको कार्यालयले जनाएको छ ।

सरकारले भूकम्पको कारण घरको पूर्ण क्षति भएका लाभग्राहीलाई तोकिएको मापदण्डअनुसार नयाँ घर निर्माण गरे पश्चात् राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत तीन चरणमा क्रमश ः ५० हजार, १ लाख ५० हजार र १ लाख गरेर ३ लाख अनुदान उपलब्ध गराउदै आएको छ । नुवाकोटमा भूकम्पले क्षति पुगेका मध्ये करीव ९५ प्रतिशतले भूकम्प प्रतिरोधी नयाँ घर निर्माणमा समावेंश भईसकेको सरकारी तथ्याङ्क रहेको छ ।