धार्मिक पर्यटन प्रर्वद्धन गर्न त्रिवेणी धाममा श्रीमद्भागवत्

  • त्रिशूली प्रवाह
  • ९ माघ २०७६, बिहीबार १६:३३

शिवपुरी, नुवाकोटलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्नको लागि शिवपुरी गाउँपालिकाको त्रिवेणीधाममा धार्मिक महोत्सव तथा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने भएको छ ।

त्रिवेणीधाम सुधार तथा संरक्षण संस्था महायज्ञ मुल समारोह समितिले दिएको जानकारीअनुसार विश्व शान्ति, राष्ट्र कल्याण, राजनीति स्थिरता एवं परम्परादेखि चलिआएको संस्कृत, भाषा, प्राकृतिक नियमानुसारको जीवनपद्धति पुनःस्थापनाका लागि धार्मिक महोत्सव था महायज्ञ हुन लागेको हो । बसन्त पञ्चमी माघ १६ गतेदेखि २४ गतेसम्म शिवपुरी गाउँपालिका वडा नं.–६, ७ र पञ्चकन्या गाउँपालिका वडा नं.–५ को त्रिवेणीधाममा महायज्ञ हुनेछ ।

धार्मिक सहिष्णुताको संरक्षणको लागि हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा निर्माण गर्नको लागि महायज्ञले सहयोग पुग्ने त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाका संरक्षक एंव शिवपुरी गाँउपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताउनु भयो ।

धार्मिक पुस्तकालय, ज्येष्ठ नागरिक आश्रम र क्रिृयापुत्री भवन निर्माणको लागि महायज्ञ सञ्चालन गर्न लागेको हो । धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण गर्दै त्रिवेणीधाममा १ लाख भन्दा बढि पर्यटक भित्र्याउने उद्देश्यले महायज्ञ सञ्चालन गर्न लागेको त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाका संरक्षक एंव पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर (रमेश) तामाङले बताउनु भयो ।

धार्मिक तथा ऐतिहासिक स्थल त्रिवेणी धामको प्रचार–प्रसार र आन्तरिक एवं धार्मिक पर्यटन विकास गर्नको लागि महायज्ञ सञ्चालन गर्न लागेको मुल समारोह समितिका अध्यक्ष लिलादेवी थापाले बताईन् । श्रीमद्भागवत ज्ञान महायज्ञमा पण्डित ईश्वरकृष्ण महाराजले प्रवचन दिनुहुनेछ । महायज्ञको दैनिक कार्यक्रममा नित्य, पूजा, रुद्राभिषेक, हवन एवं पाठपारायण, झाँकीसहित कथा प्रवचन र विशिष्ट कलाकारद्वारा भजनसहित भागवत कथा रहेको छ । रात्रीकालिनमा महात्म्य, भजन संकिर्तन एवं समसामयिक झाँकी प्रस्तुत हुने आयोजकले जनाएको छ ।