सब–स्टेशन बनाउन चाहिने जग्गाको उचित मुआब्जा माग

  • त्रिशूली प्रवाह
  • १२ माघ २०७६, आईतवार १५:४७
Logo of trishuli prawaha
  • रामहरि न्यौपाने

विदुर, बेलकोटगढी नगरपालिका वडा नं.–७ रातमाटेमा ४ सय केभी डबल सर्किट विद्युत् प्रशारण लाईन निर्माणको लागी सब–स्टेशन बनाउन आवश्यक पर्ने जग्गाको उचित मुआब्जा पाउनुपर्ने जग्गाधनी किसानले माग गरेका छन् ।

अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशनको सहयोगमा ‘मिलेनियम च्यालेञ्ज एकाउन्ट’ नेपाल मार्फत निर्माण गर्न लागिएको आयोजनाको लागी आवश्यक पर्ने जग्गा चारसय रोपनी खरिद गर्दा उचित मुआब्जा पाउनुपर्ने माग गरेका छन् । साविक रातमाटे गाविसको वडा नं.–६ र ७ का किसानको चार सय रोपनी जग्गा आवश्यक पर्ने भएकाले अधिग्रहणका लागि आयोजना पक्षले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरेको मुआब्जा निर्धारण उपसमितिको बैठककमा सहभागी जग्गाधनी किसानलाई विभिन्न पाँच मापदण्डका आधारमा जग्गा अधिग्रहण गर्न लागिएको ‘मिलेनियम च्यालेञ्ज एकाउन्ट’ले जनाएको छ । आयोजना निर्माणका लागी चलनचल्तीको मूल्य, सरकारी दररेट, बैंक तथा बित्तिय संस्थाले गरेको मुल्याङ्कन, जग्गाको भौगोलिक अवस्थालगायतका आधार मानेर खरिद गर्ने जनाएको छ ।

आयोजना पक्षले जग्गा अधिग्रहणका लागि बनाएको मापदण्ड प्रभावकारी र जायज भएपनि सबै जग्गा आयोजनाले लिन ४० भन्दा बढी घरधुरीको उठिबास लाग्ने भएकाले केही प्रथामिकता दिनुपर्ने वडा नं.–७ का वडाध्यक्ष हेमनिधी नेपालले जानकारी दिनुभयो । आयोजना निर्माण राष्ट्रिय विकासको लागि अनिवार्य भएपनि कानूनअनुसार मात्र नभई बिस्थापित हुने किसानलाई अन्यत्र स्थापित गर्न मुआब्जा निर्धारणमा किसानको मागअनुसार आयोजनाले सम्बोधनको लागि ब्यवहारिक पक्ष हेरेर गम्भीर हुनुपर्ने वडाध्यक्ष नेपालले बताउनुभयो ।

अमेरिकी सरकारको अनुदानमा निर्माण गर्न लागिएको त्रिदेशीय प्रशारण लाईनको रुपमा काठमाडौंबाट ल्याउन लागिएको चारसय केभी डबल सर्किट प्रशारण लाईन निर्माणको लागि सर्वेक्षणको काम पूरा गरेर अहिले जग्गा खरिद गरेर आवश्यक थप प्रक्रिया अघि बढाउन लागेको ‘मिलेनियम च्यालेञ्ज एकाउन्ट’नेपाल नुवाकोटका सम्पर्क व्यक्ति केशव न्यौपानले बताउनुभयो ।

काठमाडौंको लप्सेफेदी हँुदै नुवाकोट आउने प्रशारण लाईन शिवपुरी गाउँपालिकको वडा नं .१, ३, ५, ७ र ८ पञ्चकन्याको ५, लिखुको ६, ५ र ३ हुँदै बेलकोटगढीको १२, १०, ९, ८ र ६ हुदै रातमाटे स्थित ७ नं. मा पु¥याउन लागिएको छ । रातमाटेमा रहने सब–स्टेशन पछि बेलकोटगढी नगरपालिकाको वडा नं.–५ हँुदै एक लाइन धादिङतर्फ जानेछ भने अर्को लाईन तारकेश्वर गाउँपालिकाको वडा नं. ४ र २ हँुदै धादिङबाट तनहुँतर्फ जाने प्रारम्भिक सर्वेक्षणमा देखिएको छ । नुवाकोटमा करीब ५५ किलोमिटर हुने प्रशारण लाईनको लागि ६१ वटा खम्बा निर्माण गर्न लागिएको छ ।