सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेता तथा कार्यकर्ताका लागि ११ बुँदे आचारसंहिता गत हप्ता जारी गरेपछि नेता तथा कार्यकर्ता हल्लीखल्ली मच्चिएको छ । पार्टीलाई कभर मात्र बनाउने र पार्टीका नाममा जे पनि गर्न पाउने जस्ता असजिला ब्यवहार जनस्तरमै अनुभूत हुन थालेपछि नेकपामा यो आचारसंहिता निर्देशनका रूपमा आएको देखिन्छ । नेकपा बनेपछि पार्टी, नेता तथा कार्यकर्तालाई अनुशासनमा राख्न सर्वसाधारण जनतासम्म सु–सूचित हुने गरी पहिलो पटक आचारसंहिता बनाई सार्वजनिक गरिनु आफैंमा सराहनीय छ । आम जनता यसको कार्यान्वयन के कति हुन्छ भनिरहेका छन् । पार्टी वा संगठन आफैंमा जीवन्त बाँच्न र अघि बढ्न अनुशासन जरूरी पर्छ । विभिन्न कोण–प्रतिकोण र विचार राख्ने नेता तथा कार्यकर्तालाई एउटै पद्धतिमा परिचालन गर्न आचारसंहिताको खाँचो पर्छ । त्यसो त पार्टी विधानमा सैद्धान्तिक तथा संगठनिक परिचालनका लागि यस्ता कुराको ब्यवस्था भएकै हुन्छ । यसलाई जनसाधारणले बुझ्ने र मूल्याङ्कन गर्ने गरी सहज र ब्यवहारिक रूपमा ल्याउन जरूरी हुन्छ । सत्तारूढ नेकपाले यसलाई समसामयिक बनाएर पार्टीको आचारसंहिताको रूपमा ल्याएको छ ।
विन्रम, मितव्ययी, सरल र संस्कारपूर्ण जीवन बनाउन पार्टी, नेता तथा कार्यकर्तालाई आचारसंहिताले दिशानिर्देश गरेको देखिन्छ । यसले पार्टी अनुशासन पालना गर्न, नैतिकता कायम गर्न र जिम्मेवार बन्न केही बाटो देखाएको छ । स्वयं सत्तामा रहेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीको अध्यक्ष रहेकै बेला सामाजिक सञ्जाल, लेख तथा अभिब्यक्तिमा पार्टीकै नेता तथा कार्यकर्ता एक अर्काप्रति निकै असहिष्णु र क्षुद्र देखिएको समयमा सार्वजनिक गरिएको यो आचारसंहिताले छाडापनलाई रोक्न र पद्धतिमा ल्याउन सहयोग पुग्ने देखिन्छ । आचारसंहिताको सार्वजनिकीकरण र त्यसको कार्यान्वयन मात्र पार्टी अनुशासनका लागि अचुक अस्त्र सावित हुने छैन । यसका लागि पार्टी आन्तरिक वैचारिक अन्तक्रियाको पद्धतिको विकास जरूरी छ । तब मात्र पार्टीभित्र नेकपाले भन्ने गरे जस्तो फलामे अनुशासन कायम रहला ।
ब्यक्तिको वैयक्तिक जीवन र ब्यवहार उसले ग्रहण गरिरहेको विचारद्वारा निर्देशित हुन्छ । पार्टी विचारले निर्माण हुने र चल्ने सचेत मानवको एकत्व हो । यसमा विविध विचार र सोच आउने र तिनले एकआपसमा छलफल भई संश्लेषण हुने कुराको माग गर्दछन् । पार्टीका प्रत्येक नेता र कार्यकर्ताले आफ्ना दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्न यसले मद्दत गर्नेछ । तर अध्यक्षद्वय केपीओली र पुष्पकमल दाहाल प्रचण्ड र अन्य केन्द्रीयतहका नेता र सरकारमा रहेका मन्त्रीको जीवनशैली, सुखभोग खर्चको पारदर्शीतामाथि बारम्बार प्रश्न उठ्दै आएको भन्दै कार्यकर्ताले यो आचारसंहिता जारी गर्नु औचित्य छैन भनिरहेका छन् । आचारसंहिता केन्द्रीय नेतृत्वदेखि पालना भएमा मात्र त्यसपछि परिवार, गाउँ, टोल, शहरबजार, स्कुल, कलेजलगायतका सिंगो समाज रूपान्तरणका लागि ति नेता तथा कार्यकर्तालाई यसले प्रेरित गर्नेछ । यथास्थितिमा रहेका कुरिती, कुसंस्कार र अन्धविश्वास जस्ता सामाजिक चलनलाई समाप्त गरेर नयाँ समाज निर्माणका लागि आचारसंहिताले शुद्धिकरण हुन सके मात्र आचारसंहिता पूर्ण पालन भएको महशुस गरिने छ ।