त्रिभुवन त्रिशूली मा.वि.मा मुख्यमन्त्री पौडेल

  • त्रिशूली प्रवाह
  • १८ फाल्गुन २०७६, आईतवार १२:२६

त्रिशूली, नुवाकोट, रसुवा र धादिङको पहिलो विद्यालय त्रिभुवन त्रिशूली मा.वि. विदुर नगरपालिका वडा नं.–१ त्रिशूलीबजारको ६९औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नुभयो । उहाँले उद्घाटनको अवसरमा प्रदेशकै नमुना विद्यालय त्रिभुवन त्रिशूली मा.वि.लाई बनाउन सकिने धारणा राख्नुभयो । विद्यालयको शैक्षिक उन्नयनमा स्थापनादेखि हालसम्म सहयोग गर्नुहुने ब्यक्तित्वलाई सम्मान गर्दै उहाँले शिक्षाको विकास बिना भौतिक विकास दिगो नहुने बताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानको अध्यक्षतामा भएको वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा प्रतिनिधीसभा सदस्य बद्री मैनाली, केशव पाण्डे, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितलगायतले यस विद्यालयले जिल्लाको शैक्षिक विकासमा पु¥याएको योगदानको चर्चा गर्नुहुँदै जे जति उन्नति र प्रगति गर्न सक्यो त्यो सबै क्षेत्रबाट पाएको निःस्वार्थ सहयोग र सल्लाहको प्रतिफल रहेको बताउनु भयो ।

विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य कूलबहादुर खड्गीले स्वागत गर्दै डिप्लोमा इन सिभिल इन्जिनियरिङ ३ वर्षे कार्यक्रमको लागि सहयोग गरिदिन मुख्यमन्त्रीसँग अनुरोध गर्नुभयो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक महेन्द्र राउतले शैक्षिक, आर्थिक, भौतिक अवस्थाको जानकारी गराउनुभएको थियो ।

वि.सं.२००७ साल चैत्र ९ गते २ जना शिक्षकबाट स्थापना भएकोे त्रिभुवन त्रिशूली स्कुल हाल आधारभुत, मा.वि. तह, मा.वि. तह (पार्ट टाईमर), ईन्जिनियरिङ तहमा शिक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ५९ जना कार्यरत रहेका छन् । विद्यालयकको हाल आधारभुत तहमा ४ सय २३, मा.वि. तहमा ६ सय ७० र इन्जिनियरिङ तहमा ४३ जना गरी १ हजार १ सय ३६ विद्यार्थी अध्ययनरत छन् । विद्यालयको २०७५÷०७६ को आय–ब्यय विवरणअनुसार कक्षा ११ र १२ मा ५२ लाख ३७ हजार ८ सय आम्दानी र ४५ लाख २९ हजार ४९ रूपैयाँ खर्च भएको छ ।

त्यसैगरी, २०७५÷०७६ मा विद्यालयको दिउँसोको १ करोड ५ लाख ६५ हजार ७ सय १५ रूपैयाँ आम्दानी र १ करोड ३ लाख ७१ हजार ८ सय १३ रूपैयाँ खर्च रहेको छ । विद्यालयले सञ्चालन गरेको इन्जिनियरिङतर्फ २८ लाख २० हजार आम्दानी र ३५ लाख ७९ हजार २० रूपैयाँ खर्च रहेको छ । विद्यालयको कूल आम्दानी १ करोड ८६ लाख २३ हजार ५ सय १५ रूपैयाँ आम्दानी र १ करोड ८४ लाख ८० हजार ४ सय ८३ रूपैयाँ खर्च गत आ.व.०७५÷०७६ मा भएको जानकारी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले सो अवसरमा जानकारी दिनुभयो ।