जिवित कुमारीको पुजामा वरिष्ठ नेता खनाल

  • त्रिशूली प्रवाह
  • २२ फाल्गुन २०७६, बिहीबार १५:३५
  • शक्तिमाया तामाङ

विदुर, मुलुकभर रहेका जिवित कुमारीको बृहत्त पुजा गर्ने कार्यक्रम अन्र्तगत नुवाकोटको भैरवीदेवी मन्दिरमा रहेकी नुवाकोट कुमारी (दिनिशा डंगोल)को पुजा शनिबार सम्पन्न भएको छ ।

जिवित कुमारीको तेस्रो बृहत्त पुजा कार्यक्रम अन्र्तगत उपत्यका बाहिर रहनुभएका एक मात्र नुवाकोट कुमारीको काठमाडौंबाट आएका ह्युमत मिसा पुचः अर्थात् ह्युमत महिला समूहमा आवद्ध भक्तजनले कुमारीको पूजा गरेका थिए । फागुन १७ गते सम्पन्न पुजामा सहभागी हुन नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र काठमाडांै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित नेकपाका आधा दर्जन प्रदेश तथा केन्द्रीयस्तरका नेताको उपस्थिति थियो ।बसन्तपुरमा रहेको मुख्य जिवित कुमारीको पूजा गरी सुरु भएको जिवित कुमारीहरुको तेस्रो बृहत्त पूजा कार्यक्रम अन्र्तगत नुवाकोटको पूजाले धार्मिक संरक्षण तथा धार्मिक रुपमा सकारात्मक सन्देश प्रवाह भएको पूर्व प्रधानमन्त्री एंव नेकपाका वरिष्ठ नेता खनालले बताउनुभयो ।

नुवाकोटको भूमि नेपाल एकीकरण गर्ने राष्ट्र पिता पृथ्वीनारायण शाहको पाईला परेको धरती भएकाले गौरवको भूमि रहेको उल्लेख गर्दै नुवाकोटले विशाल नेपाललाई एक गराएकाले यहाँको कुमारीको पुजा आराधना तथा भूमि पुज्नाले नेपाल र नेपालीको लागि असल कार्य र सौर्भाग्य रहेको नेकपाका वरिष्ठ नेता खनालले बताउनुभयो । कार्यक्रममा प्रतिनिधीसभा सदस्य नारायणप्रसाद खतिवडाले काठमाडौंबाट आएका धार्मिक यात्राको क्रममा नुवाकोटको रितिरिवाज र परम्पराको संरक्षणमा पुराएको सहयोगले जिल्लाको प्रचार–प्रसारमा महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो ।

नुवाकोटको दरबार क्षेत्र मात्र नभई जिल्लाभर धार्मिक तथा साँस्कृतिक महत्व बोकेका स्थल र शक्तिपीठ भएकाले त्यसको प्रचार–प्रसार गर्न आफूहरु सक्रिय भएर लाग्ने प्रतिनिधिसभा सदस्य खतिवडाले प्रतिबद्धता जनाउनुभयो । जिवित कुमारीको तेश्रो बृहत्त पुजा कार्यक्रम अन्तरगत नुवाकोट कुमारीको पुजा नवौं कुमारीको रुपमा पूजा गरेको आयोजक ह्युमत महिला समूहका अध्यक्ष मचानानी महर्जनले बताईन् । आगामी दिनमा हरेक वर्ष कुमारी पुजा कार्यक्रम चलाउने योजना बनाएको उनले जानकारी दिईन् । यसअघि विसं २०७० र २०७३ सालमा पूजा गरेकाले अहिले तेस्रो पटक गरिएको पुजाले कुमारीको प्रचार र संरक्षणमा सहयोग पुगेको समेत बताईन् ।

जिवित कुमारीलाई तलेजु भवानीसंग साक्षात्कार गर्ने जिवित भगवानको रुपमा पुज्ने भएपनि नुवाकोटको कुमारीलाई भैरवी देवीको प्रतिनिधित्वको रुपमा पुजिंदै आएको छ । पाँच महिनादेखि कुमारीको रुपमा पुजिंदै आउनुभएका सात वर्षिया कुमारी दिनिशा डंगोलको पुजाले नुवाकोटमा रहेको तलेजु भवानी र भैरवी देवीको मन्दिरको प्रचार र जिवित कुमारीको महत्व दर्शाउन सहयोग पुगेको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताउनु भयो । नुवाकोटपछि जिवित कुमारीको पूजाको लागि पनौती र साँखुमा पुजा गर्न जाने ह्युमत मिसा पुचःका प्रचार–प्रसार संयोजक राजु नापितले जानकारी दिनुभयो । जिवित कुमारीको पुजा एंव दर्शनको लागि वागमती प्रदेशसभाका सदस्यहरु हिरानाथ खतिवडा, केशव पाण्डे, विदुर नगरपालिकाको नगरप्रमुख सञ्जु पण्डित, उपमेयर गीताकुमारी दाहाललगायतका जनप्रतिनिधीको उपस्थिति रहेको थियो ।

जिवित कुमारीलाई नेपाल सरकारले मासिक दुई हजार रुपैयाँ भत्ता दिंदै आएपनि त्यो रकम अपुग रहेको भैरवी देवी मन्दिरका कुमारी दिनिशाको आमा शर्मिला र बुबा दिनेशमान डंगोलले गुनासो गर्नुभएको छ । नेपालमा नुवाकोट कुमारी सहित बसन्तपुर, मखन, किलाघल, तोखा, साँखु, भक्तपुर, साँखु, पनौती, बुंगमती, ललितपुर र आजिवन कुमारीलाई जिवित देवी कुमारीको रुपमा पुजिंदै आएको छ ।