लागुऔषध दुब्र्यसनी तथा ओसारपसार विरूद्ध सप्ताहब्यापी सचेतना अभियान

  • त्रिशूली प्रवाह
  • २२ फाल्गुन २०७६, बिहीबार १५:३७

कोलनी, नुवाकोट जिल्लामा पछिल्लो समयमा लागुऔषधसँग सम्बन्धित घटना तथा अपराधका गतिविधी बृद्धि भएसँगै नियन्त्रणको लागि नुवाकोट प्रहरीले अग्रसरता देखाएको छ । प्रहरीले जिल्लामा सप्ताहब्यापी कार्यक्रम सञ्चालन सोमबारदेखि शुरू गरेको छ । यो अभियान फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।

अभियानको शुभारम्भ विदुर नगरपालिका वडा नं.–९ कोलनीको भैरूम माविबाट प्रभातफेरीको निकाली ईन्टेक डिल हुँदै किम्ताङ टोल, अस्पतालमार्ग हुँदै हात्तिगौंडा रहेको भैरुम माविमै पुगेर कोणसभामा परिणत भएको थियो । जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजना र जिल्ला प्रशासन कार्यालय, विदुर नगरपालिका, समुदायिक प्रहरी केन्द्र नुवाकोटको समन्वयमा आयोजित सप्ताहब्यापी कार्यक्रम शुभारम्भ गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले लागुऔषधको नियन्त्रणको लागि सबैभन्दा पहिला परिवारको जिम्मेवारी रहने भन्दै लागुऔषध मुक्त समाज निर्माणको लागि सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

लागुऔषधको दुब्र्यसनीलगायतका अपराधमा संलग्नलाई नियन्त्रण गर्ने नियमाक निकाय जिल्ला प्रशासन कार्यालयको पनि जिम्मेवार निकाय रहेकोले अपराध मुक्त समाज निर्माणमा कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले प्रतिबद्धता जनाउनुभएको छ । विशेष गरी युवाको सुनौलो भविष्यलाई सुनिश्चित गरी समृद्ध समाज निर्माणका लागि अब स्थानीय सरकार र सामाजिक संस्थाले लागुऔषध दुब्र्यसनीलाई नियन्त्रण गर्न सचेतनात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभएको छ ।

कार्यक्रममा वागमती प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख किशोरकुमार दाहालले सप्ताहब्यापी रुपमा सञ्चालित सचेतनात्मक कार्यक्रमले जिल्लामा लागुऔषधका घटनालाई न्युनिकरण गर्न मद्दत मिल्ने विश्वास ब्यक्त गर्नुभएको छ । ‘प्रहरी मेरो साथी, टोल–टोलमा समुदाय प्रहरी’ लगायतका अभियानमार्फत प्रदेश अन्र्तगत पर्ने १३ वटै जिल्लालाई अपराधमुक्त बनाउन सबैसँगको सहकार्य महत्वपूर्ण रहेको वागमती प्रदेशका निमित्त प्रहरी प्रमुख दाहालले बताउनुभयो ।

नुवाकोटमा पछिल्लो समय लागुऔषधसँग सम्बन्धित प्रयोगकर्ता, अपराधका घटना, कारोबारी तथा अरुलाई फसाउन लागुऔषधको प्रयोगलगायतका घटनालाई नियन्त्रण गर्न निकै चुनौती रहेको नुवाकोट प्रहरी प्रमुख अबिनारायण काफ्लेले बताउनुभयो । लागुऔषधसँग जोडिएका साामाग्रीको उत्पादन, कारोबार र उपभोगलाई अन्त्य गराउनुपर्ने चुनौती सबैको सहकार्यले रोक्नुपर्ने जिल्ला प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।

लागुऔषध दुब्र्यसनी तथा ओसार–पोसार र कारोबार विरूद्ध सचेतना जगाउन आवश्यक रहेको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले सो अवसरमा बताउनु भयो । नियन्त्रण गर्न जिल्ला समन्वय समिति नुवाकोटका उप–प्रमुख अप्सरा थापा, विदुर नगरपालिकाका उपमेयर गीताकुमारी दाहाल, विदुर नगरपालिका वडा नं.–९ का वडाध्यक्ष शनी चित्रकार, नेकपाका नेता बुद्धि प्रधान, राप्रपा नुवाकोटका कुलबहादुर खड्गीलगायतले प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा नुवाकोटका विभिन्न स्थानीयतहबाट निर्वाचित जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रमुख एवं प्रतिनिधी, भुतपूर्व प्रहरी, विद्यार्थी, अभिभावकलगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
‘स्वास्थ्य, सबल र समृद्ध नेपालको प्रतिबद्धताः लागु औषध अपराध बिरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू गरिएको सचेतनात्मक सप्ताहब्यापी कार्यक्रममा विद्यार्थीले लागुऔषधको दुब्र्यसनीमा पर्नुको कारण, लागुऔषध प्रयोग गर्दाको सुरुवाती समय, यसले दैनिक जीवन र समाजमा पार्ने नकारात्मक असर र लागुऔषधको दुब्र्यसनीबाट टाढा रहने उपायबारे विषयहरु समेटेर नाटक प्रस्तुत गरेका थिए ।