महिला हिंसाको कारण र न्युनिकरण

  • त्रिशूली प्रवाह
  • २२ फाल्गुन २०७६, बिहीबार १५:४६
Logo of trishuli prawaha

– रेविका पुडासैनी

चार कोठाभित्र थुनिन्छन् नारी, पिटिन्छन्, अझै कति बुहारी मन्दिरभित्र गए शक्तिको रूप रे, घरभित्र किन बिचरी नारी ।

माथिका हरफले महिला हिंसा र महिला हिंसाको अवस्था राम्रोसँग देखाउँछ । संस्कृतिले भन्छ, नारीलाई पुजे देवता रमाउँछन् रे, तर यी कुरा शास्त्र र मन्दिरमा मात्र सिमित रहन्छन् । अझै कति महिलाको अवस्था त दयनिय छ । जसको मुल कारण हो महिला हिंसा ।

महिलालाई महिला भएकै कारण हेप्ने, कुट्ने, अपहेलना गर्ने उनको अस्तित्वमा आँच आउने खालको हरेक कुरा महिला हिंसाभित्र पर्दछन् । महिला हिंसा मौलाउन दिन समाजमा धेरै कुरा छन् । तिमध्ये एक हो नेपालीमा भएको परम्परागत ? ढिवादी सोच । नेपालमा सधंै महिलालाई तल्लो स्तरमा राख्ने गरिन्छ । यहाँ महिलालाई धेरै बन्देज र सिमाभित्र राखिन्छ । अझै पनि नारीलाई घरको चार कोठाभित्र थुनेर राखिएको पाईन्छ । यस्तो काम नलाग्ने ? ढिवादी सोचले गर्दा दाईजो प्रथा, छाउपडी प्रथा, बालविवाहको प्रथा मौलाउन पाएका छन् । अर्को प्रमुख कारण रहेको छ हाम्रो माझमा रहेको पितृसत्ता । हाम्रो समाजमा पुरूषलाई सधैं माथि राखिन्छ । उनीहरूले महिलालाई सधैं बच्चा पाउने र घरको काम गर्ने मेशिनको रूपमा मात्र लिन्छन् । न त पुरूषले महिलाको इज्जत नै गर्छन्, न त समान हुन नै दिन्छन् । सधंै महिलालाई दमन गरेर राख्छन् । समाजमा बोक्सीको दोष कहिल्यै पुरूषलाई लगाइदैंन । सधैं महिलालाई मात्र लगाईन्छ । महिला हिंसाको उदाहरण यो पनि हो । समाजमा महिला कमजोर र अशिक्षित भएकाले पनि उनिहरूलाई हेपिने गरिन्छ । शिक्षित रूपले सुन्दर र सभ्य महिलालाई बोक्सीको आरोप लगाईएको एउटा पनि उदाहरण छैन । समाजमा नियम कानून कडा नभएर पनि महिला हिंसा बढेको हुन्छ । नेपालमा महिलाको हितका लागि धेरै कानून बने पनि यसको मद्दतले महिलाको पिडा बिसको उन्नाईस पनि हुन सकेको छैन । हाम्रो न्यायपालिका महिलालाई लिएर निकै सुस्त देखा पर्छ । यस्तो गम्भीर समस्याको समाधान पनि गर्नुपर्छ । समस्या महिलाको हो त्यसैले समाधानको सुरूवात पनि महिलाबाटै हुनुपर्छ । यसको न्युनिकरण गर्न हामि पहिला सचेत हुनुपर्छ । गाउँघरका महिलाको लागि पनि सचेतनाको कार्यक्रम दिनुपर्छ । सबैजनालाई आफ्नो मौलिक हक र अधिकारको बारेमा अवगत गराउनु पर्छ । महिलाले नै अरू पिडामा रहेका महिलाको लागि सहयोगको हात बढाउनु पर्छ । राज्यले यी कुरामा महिलालाई सहयोग गर्नुपर्छ । दोषीले सजाय र दुःखीले न्याय पाउनुपर्छ । सरकारले महिला हिंसा गर्नेलाई कडा भन्दा कडा सजायको ब्यवस्था गर्नुपर्छ । फेरी महिला हिंसा गर्न मन नलाग्ने र सोच्दा पनि डर लागेर आउने खालको सजाय दिनुपर्छ । यदि न्यायपालिकाले महिलाको साथ दिने हो भने महिला हिंसाको उन्मुलन चाँडै नै हुन्छ । महिलालाई उनीहरूको हक र अधिकार प्रदान गर्नुपर्दछ । यदि महिलाले हक अधिकार प्रयोग गर्ने हो भने फेरी हामीले महिला हिंसा ब्यहोर्नु पर्दैन । हामी सबै सचेत भएर आफुले पनि महिला हिंसा विरूद्ध आवाज उठाउनुपर्छ र अरूको पनि मद्दत गर्नुपर्छ । महिलालाई शिक्षित पार्नुपर्छ र अन्याय विरूद्ध आवाज उठाउन सिकाउनुपर्छ । समाजमा समसत्ता स्थापना गर्नुपर्छ । महिला पुरूष हातमा हात मिलाउदै सुन्दर भविष्य सिर्जना गर्नुपर्छ ।

अन्त्यमा धेरै अनुसन्धान र अध्ययनअनुसार ५ महिला मध्ये २ महिला हिंसाको सिकार भएका हुन्छन् । थोरै मात्र महिलाको आवाज सुनिन्छ । धेरै आवाज थुनिएको र दमन गरिएको छ । महिलाको आवाज सुनिन थाले महिला हिंसाको अन्त्य हुन सक्छ । महिला हिंसाको अन्त्य भए महिलाले विकास निर्माणका काममा हात बढाउन सक्छन् । हरेक क्षेत्रमा महिलाको आवाज उठ्न थाल्छ र यसले देश विकासमा टेवा प¥याउँछ । महिला र पुरूष दुवै मिलेर देश विकासमा लागि परे भने पक्कै नै भोली नेपालले प्रगतिको शिखर चुम्ने छ ।

( थ्री डि युथ क्लवले गत हप्ता अन्तराष्ट्रिय नारी दिवस मार्च ८ को
अवसरमा वि.न.पा. वडा नं.–९ को विद्यालयस्तरीय निबन्ध
प्रतियोगितामा प्रथम भएको यो निबन्ध नेशनल बेथेल एकेडेमीको
कक्षा ९ मा अध्ययन गर्ने रेबिका पुडासैनीको हो । )