विद्रोहको आँट र विप्लवको प्रतिबन्धित एक वर्ष

  • त्रिशूली प्रवाह
  • ७ चैत्र २०७६, शुक्रबार १५:१९

माओले भनेका थिए, आलानेचनात्मक चेत भएका कार्यकर्ता पार्टीका पुँजी हुन् तर नेपालमा आलोचनात्मक चेतलाई बन्ध्याकरण गर्दै दुश्मन ठान्ने संस्कार छ । रचनात्मक आलोचना जरुरी छ तर निषेधात्मक शैली जरुरी छैन । नेकपाको आर्थिक अभियान र तल्लो तहमा भ्रष्टाचारले हैरान छ ।
– नारायण नेपाल
माओवादीबाट विद्रोह गरेर नेकपा गठन गरेका विप्लव नेतृत्वको दल प्रतिबन्धित भएको एक वर्ष पुगेको छ । यो अवधिमा प्रतिबन्धित नेकपाले के पायो र के गुमायोे ?

राणा शासनपछि प्रजातन्त्रको उदयसँगै असन्तुष्टमुक्ति सेनाले २००९ माघ ९ गते रामप्रसाद राईको नेतृत्वमा सिंहदरबार कब्जा गरे । त्यो विद्रोहको नेतृत्व डा.के आई सिंहले गरेपनि यसैलाई निहुँ बनाएर २००९ माघ ११ गते नेपाल कम्युनिष्ट पार्टीमाथी प्रतिबन्ध लगाईयो । त्यतिबेला प्रजातन्त्रवादी मातृका कोइराला नेतृत्वको सरकारमा समाजवादी विपी कोईराला गृहमन्त्री थिए । २०१७ सालमा राजा महेन्द्रले शाही कूमार्फत सत्ता हत्याएपछि सबै दलमाथी प्रतिबन्ध लाग्यो ।

२०४२ मा रामराजाप्रसाद सिंहको नाममा भएको बमकाण्डलाई आधार बनाएर पञ्चायती सत्ताले देशभर कम्युनिष्ट मास्ने अभियान चलायो । बम पड्काउने रामराजाप्रसाद तर शिकार कम्युनिष्ट समर्थक सबै शिक्षक भए । त्यही समयमा शिक्षक दिलिप चौधरी बेपत्ता पारिए, साकेतचन्द मिश्र, पदम लामा, ईश्वर लामालगायतको हत्या गरियो । राज्य दमन र उकुस–मुकुसको शिकार भएकाले विद्रोहको रुपमा सेक्टर काण्ड २०४३ घटाए । नेपाली कम्युनिष्ट राजनीतिमा कमरेड मोहन वैद्य किरणको महामन्त्रीबाट राजीनामा नैतिकताको उच्चतम नमुना थियो । पाएको पद छाड्ने पहिलो नेपाली कम्युनिष्ट नेता किरण हुन् । त्यसपछि उदय भयो कमरेड प्रचण्ड अर्थात पुष्पकमल दाहाल ।

२०५२ बाट जनयुद्ध थालेको माओवादी २०५८ पछि प्रतिबन्धित आतंककारी बन्न पुग्यो । हिजो टाउकाको मुल्य तोकिने तिनै पुर्वमाओवादी नेताको आदेशमा अर्को विद्रोही चेत बोक्ने नेकपा प्रतिबन्धित भएको छ । जसको निमित्त कारण बनेको थियो एनसेल मुख्यालयमाथीको बमकाण्ड २०७५ । यो अवधिमा लगभग ४ हजार जनाले जेल यातना र मुद्दाको सामना गरेका छन् । एक हजार भन्दा बढीले पार्टी परित्याग गरेको सरकारी दाबी छ । राज्यले कुमार पौडेललगायत आधा दर्जन युवाको रगत बग्यो । उच्च नेताको पलायन, कार्यकर्ताको आत्मसमर्पण र भागदौडको श्रृंखला एक तहसम्म चलेको छ । नेकपा छापामार युद्धको बाटोमा पुग्ला कि एकीकृत जनक्रान्तिको मोडल प्रयोग गर्ला, समयले बताउने छ तर सीमित मानव जीवन र क्रान्तिका असीमित यात्राबारे कमरेड माओले लेखेको कविता यो अवस्थामा उस्तै सान्दर्भिक छ :

मानव जीवन सीमित छ
तर, क्रान्ति असीमित
मैले शिखरमा पुग्न कोसिस गरेको थिएँ
विफल भएँ
तिमी शिखर चढ्न सक्नेछौ ।
तर विफल भयौ भने
शरीर छियाछिया हुनेछ
सेनाले साथ नदिए छापामार युद्ध लड्नुपर्नेछ ।
त्यसका लागि फेरी यातनाको पहाडमा
शरण लिन किन नपरोस् !

विद्रोहीका लागि चिनियाँ जनक्रान्तिमा माओको लङमार्चको एक किस्सा प्रेरणादायी छ । अक्टोबर १९३४ मा पहिलो मोर्चाका कूल ८५ हजार सिपाही र सरकारी कर्मचारीसहित एक लाख जना कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रत्यक्ष नेतृत्वमा केन्द्रीय आधार क्षेत्रबाट लामो अभियानमा निस्केका थिए । जतिबेला दुश्मनका सेना ४ लाख थिए ।

नाकाबन्दीदेखि अनेकौं खतरा झेलेको यो सेना आफैंले खतरनाक अवस्थाको सामना गरेको थियो । पहिलो सेनाले १९३५ मा चुनाई पुग्दा ६० प्रतिशत अर्थात करिब १५ हजार सैनिक गुमायो । दुश्मनको चौथों घेरामा पर्ने अभियानलाई सफल पार्न चौथाें मोर्चाका एक नेता चाङ क्वो थाओ अक्षम भएपछि पलायन र अवसरवादी नीति अनुसरण गरे । नक्कली पार्टी केन्द्र बनाएर पार्टीलाई गद्दारी गरे (लेखकः छङ छाङ फङ, लङमार्चमा अध्यक्ष माओको साथ) । नेपाली माओवादीको आधुनिक लङमार्चमा हिँडेका विप्लवले नेपाली चाङ क्वो थाओका घेराहरु तोड्लान कि बुर्जवा हेडक्वाटरमा बम बार्डिङको ऐलान गर्लान त्यो अग्नि परिक्षामै छ । हुन त रामायण कथामा वर्णित रावणको राज्यमा विभिषण पनि थियो र त रामराज्य बन्यो । २०५२ सालताका अखिल (क्रान्तिकारी)को केन्द्रीय नेता रहेका विप्लव जनयुद्ध उत्कर्षमा पुग्दा रोल्पा, रुकुमसहित आधार ईलाकाको ईन्चार्ज थिए । उनले प्रचण्डको सचिवालयमा समेत लामो समय काम गरे । यस दौरान प्रचण्डलाई नजिकबाट नियालेका उनी माओवादी आन्दोलनमा प्रचण्डले धोका दिएको भन्दै अलग संगठन निर्माण र गतिविधी सञ्चालनमा छन् । सही राजनीतिका लागि ठुलो भिड होइन विचार र नीति नै सही चाहिन्छ ।

नेपालमा शान्ति प्रक्रिया शुरु भएपछि विभिन्न माओवादी नेता समस्या र गुटको संघर्षमै अल्मलिए । अमेरिकाले आफ्नो सुरक्षा प्रतिवेदनमा नेपालको घरेलु आतंकवाद भन्नु यही अर्थ हो । राजनीतिक समस्या साधनबाट होइन साध्यबाट हल हुनुपर्छ । तर, हतियारलाई मात्रै आधार बनाएर तर्क गर्ने हो भने मान्छेको दिमागमा भएको हतियार कसरी बिसाउने त ? त्यही भएर होला माओले भनेका थिए तिमीसँग साहस छ भने सब चिज हतियार बन्छ । अब कमरेडले पनि ओखलमा टाउको हालेपछि मुसलको के डर मान्नु ? प्रतिबन्धले कि गर कि मर, कि यता कि उता, कि छेउ लाग कि हेलिन तयार हौ भन्ने सन्देश दिएको अवस्था हो यो । त्यसैको उपज स्वरुप प्रतिरोधात्मक संघर्ष, भागदौड र आत्मसमर्पणको लहर जारी छ । हिजो पञ्चायतमा जेल सार्ने बहाना भएपछि राज्यले सफाया गथ्र्यो, आजभोली चाहीँ जेल सारेर थकाउने र गलाउने गरिएको छ ।

हिजो जे रोपियो त्यही फल्यो, हलेदो रोपेर बेसार फल्दैन दुवै पहेंलो हो तर सुनैचाहीँ होइन कि कामरेड ! गाउँतिर बाह्र वर्षमा खोला फर्किन्छन् भन्थे हजुरबा तर कामरेड चाहीँ ६ वर्षमा फर्किएको कथा गफगाफ अलि लोकले नपचाउने खालका छन् । हिजोको लालगद्धारको आरोप र आजको सत्ताको भजनमण्डली आची गर्नेलाई भन्दा हेर्नेलाई लाजको पसारो । आजसम्म विद्रोही पार्टी नै बन्न नसकेको अवस्था हो भन्ने त प्रतिबन्धले छर्लङ्गै भयो । एकथान बम पचाउन नसक्नेले अरु के पचाउलान् ? माओले भनेका थिए, आलानेचनात्मक चेत भएका कार्यकर्ता पार्टीका पुँजी हुन् तर नेपालमा आलोचनात्मक चेतलाई बन्ध्याकरण गर्दै दुश्मन ठान्ने संस्कार छ । रचनात्मक आलोचना जरुरी छ तर निषेधात्मक शैली जरुरी छैन । नेकपाको आर्थिक अभियान र तल्लो तहमा भ्रष्टाचारले हैरान छ । रुपचन्द्र विष्टको भाषामा गद्दारी गर्ने अवसर नपाएर ईमान्दार बनेका भातेहरु यहाँ धेरै छन् ।

नयाँबाटोमा हुने यात्रा अलमलको जात्रा नै हो, पक्कै पनि मूलबाटो पहिल्याउन समय लाग्न सक्छ । प्रतिबन्धले नेता, जनता र कार्यकर्ताको दुरी पक्कै बढेको छ । खुला संघर्षको मैदानमा उपस्थिति शुन्य छ । आजको नेपाली समाज जुन प्रकार आर्थिक, सामाजिक र राजनीतिक भ्रष्टीकरणतर्फ जाँदै छ त्यस विरुद्ध एक सशक्त सामाजिक जागरण अभियान जरुरी थियो, त्यतातिर कमरेडहरुलाई उति जाँगर नचल्नु चाहीँ उदेकलाग्दो पक्ष हो ।

जनयुद्धताका एक माओवादी कार्यकर्ताले सिठी फुकेको भरमा सातगाउँ तह लगाउँथे, जनसत्ताको हैकम थियो । आज एउटा पुलिस आयो भने कामरेडहरु सातगाउँ दर्गुछन् । शहर र सामाजिक सञ्जालमा सुर्य थापाले जनसेनाका ब्रिगेडियरहरुलाई हर्काछन् र कमाण्डरहरु फेसबुकमा रोइलो गर्छन । माक्र्सले भनेका थिए, ईतिहासको पुनरावृत्ति एकपटक दुःखद र अर्कोपटक मजाकको रुपमा हुन्छ, यो कुन घडी हो कमरेडहरु नै जानुन् । प्रतिरक्षात्मक लडाई हरेक सशस्त्र विद्रोहको काल हो भन्ने माओको ठहर थियो । लेनिनले दुईकदम पछाडि, एक कदम अगाडि भन्ने बहस किन छेडे होलान् ? त्यता पनि ध्यान दिने कि ? माओले आफैंसँग रहेका लिन प्याओलाई चिन्न साँस्कृतिक क्रान्तिकालसम्म आई पुग्नुपरेको थियो । आजको समाज र राजनीतिमा देखापरेको भ्रष्टीकरण, दलालीकरण र मजाक विरुद्ध विप्लवले नगरे कसै न कसैले जल्ने आँट गर्नुपथ्र्यो । त्यो नयाँ सामाजिक जागरण अभियानको रुपमा उदाउला कि फिरन्ते छापामार युद्ध हुँदै गोन्जालो पथतिर पुग्ला, समयले देखाउने छ । निराशा र कुण्ठा भन्दा विद्रोही आशावाद नै सकारात्मक प्रेरणाको स्रोत हो । माओले भनेका थिए, सबै गुमाएको भएपनि भविष्य तिम्रो साथमा छ । लुटको साम्राज्यमा गुरुबाले रछ्यानमा मिल्काएको झण्डा उचाल्दै विद्रोह बोक्ने आँट र शाहसको लागि कवि नाजिम हिक्मतको कवितांशसहित प्रतिबन्धको वर्षगाँठ मनाउन हार्दिक शुभकामना कमरेड विप्लवलाई :

म जलिन भनेँ
तिमी पनि जल्ने छैनौ
हामी कोही जलेनौँ भने
अँध्यारो रात कसरी हट्ला ?