+
Search

ताजा अपडेट +

पपुलर +

पचहत्तर लाखको आकस्मिक कोष स्थापना स्वास्थ्यकर्मीलाई विदा र काज नदिने

त्रिशूली प्रवाह
६ साल अगाडी

धुन्चे, रसुवा जिल्लामा कोभिड–१९ अर्थात् कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि ७२ घण्टामा २ सय १० शैयाको मानव आश्रय कक्ष निर्माण गरिने भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

आईतबार जिल्ला प्रशासन कार्यालय रसुवामा विपद् ब्यवस्थापन समितिको बैठक बसी २ सय १० शैयाको मानव आश्रय कक्ष बनाउने निर्णय भएको हो । विपद् ब्यवस्थापन समितिले जिल्लालाई कोरोना भाईरसमुक्त बनाउन ३५ बुदे निर्णय समेत गरेको छ । बैठकले जिल्ला र स्थानीयतहका स्वास्थ्यकर्मीलगायतका कर्मचारीलाई अत्यावश्यक काम बाहेक विदा र काज नदिने निर्णय गरेको छ । जिल्लाको ५ वटा गाउँपालिकाबाट १५÷१५ लाखका दरले ७५ लाखको कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय बैठकले गरेको छ ।

जिल्ला प्रशासन कार्यालय अन्तर्गत जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र, गाउँपालिकास्तरमा स्वास्थ्य शाखालाई कोभिड–१९ रोकथाम तथा नियन्त्रण सूचना केन्द्र तोकी सूचना केन्द्र २४औं घण्टा सञ्चालन गरिने छ । प्रमुख जिल्ला अधिकारी एवं विपद् ब्यवस्थापन समिति रसुवाको अध्यक्ष अर्जुन भण्डारीका अनुसार जिल्लाको आठ स्थानमा मानव आश्रय कक्ष निर्माण गरिने छ । चीनसँगको सीमा क्षेत्रमा रहेको होटल, लज, भाडामा लिएर त्यहाँ ३० शैया, कोमिन स्यामेवाङफेल मा.वि.मा १५ शैया, धुन्चे बजार क्षेत्रमा अवस्थित कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पतालमा ५० शैया, कालिका हिमालयन क्याम्पसमा ५० शैया, आमाछोदिङ्मो गाउँपालिकास्थित थाम्बुचेतमा रहेको सरस्वती नि.मा.वि.मा १५ शैया, नौकुण्ड गाउँपालिकाको पारच्याङ मा.वि. रहेको गाउँपालिकाको भवनमा १५ शैया, उत्तरगया गाउँपालिकाको डाँडागाउँ मा.वि.मा १५ शैया, बेत्रावतीमा रहेको सहकारी भवनमा २० शैयाको मानव आश्रय कक्ष निर्माण गरिने भएको छ ।

अहिले रसुवा अस्पतालमा ४ शैया, जिवजिवे ग्रामिण अस्पतालमा ५ शैयाको आईसोलेसन कक्ष सञ्चालन भईरहेको छ भने १० स्थानमा हेल्थ क्लिनिकका लागि ज्वरो नाप्ने उपकरण र प्राविधिक जनशक्तिसहित स्वास्थ्य सहायता कक्ष समेत स्थापना गर्ने समेत बैठकबाट निर्णय गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाको चिलिमे, गत्लाङ नौकुण्ड गाउँपालिकाको पारच्याङ, सरमथली, गोसाईँकुण्ड गाउँपालिका धुन्चे स्याफ्रुवेंशी र रसुवागढी उत्तरगया गाउँपालिकाको बेत्रावतीबजार र मैलुङ कालिकाको कालिकास्थानमा सहायता कक्ष स्थापना गरिने छ ।

जिल्लाभर रहेका एम्बुलेन्सलाई समेत आवश्यक परेको बेला तैनाथ रहने गरी तयारीका साथ राखिएको छ भने स्थानीयस्तरका सबै स्वास्थ्यचौकी र संस्थामा पिपिईका अत्यावश्यक सामान, ग्लोप, मास्क, थर्माेमिटरको समेत ब्यवस्था गरिएको छ । मुख्य बजारस्थलमा बजार अनुगमन गरी बजारमा रहेका दैनिक उपभोग्य खाद्यान्न समाग्री समेत स्टक राखिएको छ भने विशेष निगरानी समेत गरिएको छ ।

जिल्लामा रहेको हेल्थडेस्क, क्वारेन्टाईन कक्ष, आइसोलेसन कक्ष, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनशक्ति प्रयोगका लागि पिपिसेट, सरसफाई तथा डेजीपफीकेसन सम्बन्धी आवश्यक सामाग्री सँघ र प्रदेश सरकारबाट माग गर्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह