विपन्नलाई अल्पकालिन खाद्यान्न राहत वितरण

  • त्रिशूली प्रवाह
  • ११ बैशाख २०७७, बिहीबार ०८:५७

विदुर, लकडाउनको कारण समस्यामा परेका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने र अति विपन्न परिवारका लागि विदुर नगरपालिकाले अल्पकालिन राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

नगरपालिकाको १३ वडाका १ हजार ४ सय ६६ घर परिवारका ५ हजार ५ सय ९५ जनालाई अल्पकालिन राहत स्वरुप खाद्यान्न वडाध्यक्ष, वडासदस्य, कर्मचारी र सुरक्षाकर्मीको रोहोबरमा सम्बन्धित वडाको टोल–टोलमा गएर गत हप्ता वितरण गरेको हो ।

नगरपालिकाले नगरपालिकामा स्थायी अस्थायी बसोबास गर्ने नगरपालिका बाहिरका र बिदेशी कामदारलाई समेत प्रतिब्यक्ति ५ केजी चामल, डेढकेजी दाल, १ केजी नुन, १ लिटर खानेतेल, २ वटा हातधुने साबुन वितरण गरेको बिदुर नगरपालिकाको मेयर सञ्जु पण्डितले जानकारी दिनुभयो । लकडाउनको समय थपिएमा खाद्यान्न वितरण पुनः गरिने समेत उहाँले बताउनु भयो । नगरपालिकाले पहिलो चरणमा २३ हजार ७ सय १० केजी चामल २ हजार ७ सय ९३ केजी दाल, १ हजार ४ सय ७१ लिटर खानेतेल, १ हजार ४ सय ७६ केजी नुन, २९ हजार ३ सय ७२ वटा हातधुने साबुन बितरण गरेको थियो । कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेपछि खाद्यान्न समस्या परेको दैनिक ज्यालादारी गरेर गुजारा गर्ने र अति बिपन्न परिवारका लागि नगरपालिकाले खाद्यान्न सामाग्री वितरण गरेको हो ।