पूर्वाधार निर्माणको लापरवाहीले जनस्वास्थ्यमा असर

  • त्रिशूली प्रवाह
  • ११ बैशाख २०७७, बिहीबार ११:१५

विदुर, सामान्यतया योजना तथा पूर्वाधार बिस्तारसँगै स्थानीयको दैनिकी र जीवनयापन सहज हुने गर्दछ । तर नुवाकोट जिल्लामा निर्माणाधीन सडक आयोजनाका कारण पर्यावरण र जनस्वास्थ्य गम्भीर असर परिरहेको छ । योजना र पूर्वाधार निर्माणको क्रममा निस्कने बिकार तथा धुलोमैलो र छारो नियन्त्रणमा सावधानी नअपनाउँदा नुवाकोटमा पर्यावरण र जनस्वास्थ्यमा गम्भीर असर पुगेको छ ।

दिर्घकालिन हित र सुविधाका लागि पछिल्लो समय नुवाकोट जिल्लामा पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत करोडौं लगानीका सडक तथा खानेपानी योजना निर्माणको क्रममा रहेको छ । तर पूर्वाधार निर्माणको क्रममा स्थानीय जनजीवनमा तत्काल र प्रत्यक्ष असर गर्ने धुलोमैलो तथा छारो नियन्त्रणमा सम्बन्धित निकाय उदासिन बन्दा नुवाकोटमा स्थानीय पर्यावरण र जनस्वास्थ्यमा प्रत्यक्ष असर परेको उपभोक्ताहित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष ईन्द्रबहादुर पण्डितले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो ।

पूर्वाधार निर्माणको क्रममा सतहमा देखिने यस्ता बिकार तथा धुलोमैलो र छारो नियन्त्रणको जिम्मेवारी र नैतिक दायित्व निर्माण कम्पनिको हुने गर्दछ । योजना निर्माणको सम्झौतामै पर्यावरण जोगाउनको लागि अपनाउनुपर्ने सावधानीको लागि बजेट बिनियोजन भएको हुन्छ । यति धेरै दायित्व हुने भएपनि नियामक तथा सरोकारवाला निकाय आयोजना पक्षलगायत स्थानीयतह र प्रशासन कार्यालयले नियन्त्रणमा चासो र दबाब सिर्जना नगर्दा त्यसको असर पर्यावरण र मानव स्वास्थ्यमा परिरहेको छ । नुवाकोट सदरमुकाम विदुरलगायत नगरपालिका आसपास क्षेत्रका बायुमण्डल धुलोले ढाक्नुका साथै सर्वसाधारण तथा बटुवा रुघा, खोकी, श्वासप्रश्वासलगायत क्षयरोगको जोखिम बढ्न थालेको छ ।

विशेषगरी जिल्लामा हाल निर्माणाधीन विदुर खानेपानी आयोजनाको पाईपलाईन बिस्तार, मध्ये पहाडी लोकमार्ग अन्र्तगत छहरे–ढिकुरे–गंगटे सडकको स्तरोन्नती र पासाङल्हामु सहायकमार्ग अन्तर्गत बालाजु–त्रिशूली सडक र गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजनाको लापरवाहीले पर्यावरण र जनस्वास्थ्यमा गम्भीर असर पुगेको छ ।

सामान्यतया निर्माणस्थलमा दैनिक एक, दुई पटक पानी छरेर सजिलै धुलोमैलो तथा छारो नियन्त्रण गर्न सकिने भएपनि निर्माण पक्षले मुनाफामा बढी जोड दिने र नियामक तथा सरोकारवाला निकायले नजर अन्दाज गरेका कारण नुवाकोटमा अहिले पूर्वाधार निर्माणसँगै आम सर्वसाधारणले हैरानी र सास्ती खेप्नु परिरहेको छ ।